कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
503

सिकाइ समूहले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि सन्दर्भ सामग्रीको रूपमा गणित विषयको डिक्सनेरी र धार्मिक विषयवस्तु समेटिएको पुस्तक बजारमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार दुवै पुस्तक बिमोचन गरे ।
विद्यालय तहमा गणित विषय अध्ययन–अध्यापनमा सहज होस् भन्ने उद्देश्यले सो पुस्तक प्रकाशन गरिएको पुस्तकका लेखक हरिनारायण उपाध्यायले बताए । उपाध्यायले गाणित विषयमा कमजोर विद्यार्थीका लागि पुस्तक सहयोगी हुने उनले बताए । सो पुस्तकको सम्पादन काठमाडौं विश्वविद्यालयमा एसोसिएट डिन डा. बालचन्द्र लुईटेलले गरेका हुन् ।
यसैगरी सो अवसरमा लेखक मनोज दासले पुनर्लेखन गरेको ‘अमर पुस्तक’ पनि बिमोचन गरिएको छ । सो पुस्तक पनि सिकाइ समूहले नै प्रकाशन गरेको हो । यो पुस्तकमा वेद, उपनिषद, पुराण, रामायण, महाभारत, गीता लगायतका धार्मिक विषयवस्तुलाई छोटो रुपमा प्रस्तुत गरिएको छ । शिक्षामन्त्री पोखरेरले विद्यालय तहको सन्दर्भ पुस्तक विद्यालय तहका विद्यार्थीका लागि उपयोगी हुने जनाउँदै पाठ्यपुस्तक बाहेक यस्ता सन्दर्भ पुस्तक पनि विद्यार्थीका लागि उपयोगी हुने बताए ।