कारोबार संवाददाता
शुक्रवार, श्रावण १६, २०७७
389

लमजुङको मध्यनेपाल नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।
स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिका शिक्षा शाखा प्रमूख श्रीप्रसाद भट्टराईले बताए । भट्टराईका अनुसार पाठ्यक्रममा पालिका भित्रको ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता आदिलाई समेटिएको छ ।

चालु शैक्षिक सत्रमा कक्षा एकको पाठ्यक्रम निर्माणको काम सम्पन्न भईसकेको जानकारी दिँदै शिक्षा शाखा प्रमूख भट्टराईले यहि शैक्षिक सत्रबाट पालिका भित्रका ५० विद्यालयमा अध्यापन शुरु गरिने बताए ।
“अहिले कक्षा १ को पाठ्यक्रम तयार भएकोले यही शैक्षिक सत्रबाट सुरु हुन्छ,” भट्टराईले भने “सरकारको पाठ्यक्रम परिवर्तनसँगै आगामी शैक्षिक सत्रबाट थप कक्षामा पनि स्थानीय पाठ्क्रम समावेश गर्छौं ।”
स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिका प्रमुख प्रशासकिय अधिकृतसहित शिक्षा शाखाका प्रमुख र दुईजना स्थानीय शिक्षक सहितको पाँच सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो । पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागितामा सुझाव संकलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ ।
तयारी सम्पन्न कक्षा एक को पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा विभिन्न शीर्षकका सातवटा विषयहरूलाई समावेश गरिएको छ । चालू वर्षमा कक्षा दुई र ६ को पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट सुरु गरिने नगरपालिकाले जनाएको छ ।
सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिएको छ । पाठ्यक्रममा स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरूका बारेमा विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।
“स्थानीय विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरेका छौँ” नगरप्रमुख पाण्डेले भने “यसले बालबालिकाहरूलाई स्थानिय परिवेश थाहापाउन सजिलो हुन्छ, सो बाहेक नगरपालिकाको समृद्धिको निम्ति पाठ्यक्रमले सहज बनाउने विश्वास लिएका छौँ ।”
स्थानीय पाठ्यक्रम गाउँपालिकाको विकासका लागि महत्वपूर्ण आधार बन्ने सरोकारवालाहरूले बताएका छन् । स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाले स्थानीय परिस्थिति र आवश्यकताको आधारमा निर्माण गरिने भएकोले पनि यो स्थानीय विकासका लागि आधार हुनसक्ने सरोकारवालाहरूको विश्वास छ ।
विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

सन्देश पौडेल