कारोबार संवाददाता
बुधवार, असार १७, २०७७
640

अन्तर्राष्ट्रिय विकास संगठनका लागि इजरायली नियोग (ओएफआरआई, मसाभ)द्वारा हप्ताको दुई घण्टाका दरले काठमाडौं उपत्यकाका विद्यालय नेतृत्वलाई लक्षित गरी सञ्चालन गरिएको चारहप्ते लामो अन्तरसञ्जाल प्रशिक्षण सम्पन्न भएको छ । इजरायली दूतावासद्वारा सहजीकरण गरिएको उक्त प्रशिक्षणात्मक अन्तरसञ्जाल सम्मेलनको समापन समारोहमा आफ्ना धारणा राख्दै नेपालका लागि इजरायली राजदूत बेन्नीओमरले कोभिड–१९ को यस्तो महामारीको अवधिमा पनि नवीन शैक्षिक गतिविधिबारे नेपालका शैक्षिक नेतृत्वहरूले देखाएको गम्भीर चासोको उच्चसराहना गरे ।
ओएफआरआई सेन्टर, मसाभकी निर्देशकयुदिथ रोजेन्थलद्वारा संयोजन गरी सञ्चालन गरिएको उक्त प्रशिक्षणात्मक सम्मेलन–सत्रमा उनले परिवर्तनको तयारीमा जोड दिइन् । समस्याको पूर्वानुमानमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै रोजेन्थलले बाँचेका वा शक्तिशालीहरू बौद्धिक नभई परिवर्तनलाई स्वीकार गर्न सक्नेहरू बढी बौद्धिक र शक्तिशाली भएको दाबी गरिन् । उक्त अन्तरसञ्जाल सम्मेलनमा नवीन शैक्षिक पद्धति, सामाजिक तथा भावनात्मक शिक्षा, ई–लर्निङ, दूरशिक्षण प्रणाली तथा अवरोध भएको विश्वशिक्षालगायतका विषयहरू समावेश गरिएका थिए । सम्मेलनका प्रशिक्षक तथा सहभागीहरूको उल्लेखनीय उपस्थितिका लागि संस्कृति स्कुलकातर्फबाट दीप्ति आचार्यले धन्यवाद ज्ञापन गरिन् ।
सम्मेलनमा काठमाडौँ प्रज्ञा–कुञ्ज स्कुलका निर्देशक कपिलदेव रेग्मीले नेपालका लागि इजरायली राजदूत बेनीओमरद्वारा हिसानका नेतृत्वलाई आगामीजुलाई महिनामा प्रशिक्षणात्मक कार्यक्रमको सहजीकरण गरिने कार्यक्रम रहेको जानकारी गराए । उक्त प्रशिक्षणात्मक सम्मेलनमा ग्यालेक्सी, प्रिमियर, एपेक्स लाइफ, संस्कृति, केडब्लूएस, वृहस्पति विद्यासदन, डीएभी, अक्षरा, काठमाडौं प्रज्ञाकुञ्जलगायतका संस्थागत विद्यालय तथा नेपालको सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कुल, रत्नराज्य माविलगायतका सामुदायिक विद्यालयहरूको समेत सहभागिता थियो ।