कारोबार संवाददाता
आइतवार, असार १४, २०७७
820

म्याग्दी-कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण गत चैतदेखि विद्यालयहरु पूर्ण रुपमा बन्द भएपछि बालबालिकाको सिकाईलाई निरन्तरता गर्न म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर विद्यालयले टोल–टोलमा शिक्षक परिचालन गरेको छ ।
विद्यालयका प्रअ तोरणबहादुर श्रेष्ठले आफ्नो सेवा क्षेत्रका बालबालिकाहरुलाई टोल टोलमा शिक्षक परिचालन गरि बैकल्पिक सिकाई सहजीकरण गर्न सुरु गरेको बताए । विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई मध्यनजर गर्दै पाच ओटा सिकाई केन्द्र तोकर पठनपाठन सुरु गरेको बताए ।

विद्यार्थीहरुको सिकाई उपलब्धीलाई फराकिलो बनाउन विद्यालयको ब्यवस्थापन समिति, शिक्षक र अभिभावकको भेलाले विहिबार देखि सिकाई केन्द्रमा विद्याथीहरुलाई उपस्थित गराएर सुरु गरेको प्रअ श्रेष्ठले जानकारी दिए ।
विद्यालयले राममन्दिर, रिसिनचौतारी, रानीपौवा, खहरेखोला, सिरसिरेडाँडा, र ढिकुरमुनीमा सिकाई केन्द्र तोकेर विहानको समयमा शिक्षकलाई टोल–टोलमा परिचालन भएका शिक्षकहरुले २० जनासम्मका बालबालिकाहरुलाई समेटेर दैनिक दुई घण्टासम्म पठनपाठन गराएका छन् । ६ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ८८ जना विद्यार्थी रहेका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक विद्यालयलाई पत्राचार गरि विद्यालयको सेवा क्षेत्रलाई विभिन्न टोलमा विभाजन गरि स्थानीय शिक्षकहरुलाई नै परिचालन गरि कैकल्पिक शिकाई सहजीकरण गर्न निर्देशन दिईएको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
गाउँपालिकाको अधिकांश विद्यालयमा नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक समेत वितरण गरिसकेको छ, यस गाउँपालिकामा विद्यालय तहमा करिब ३ हजार विद्यार्थीहरु रहेका छन् ।