कारोबार संवाददाता
आइतवार, असार ७, २०७७
727

संखुवासभाको सदरमुकाम खाँदबारीका बिभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कोरोना राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूबाट संकलन गरिएको १० लाख ९१ हजार ७ सय रुपैयाँ शिक्षक महासंघ खाँदबारीका तर्फबाट खाँदबारी नगरपालीकाका प्रमुख मुरारीप्रसाद खतिवडालाई बुझाइएको अध्यक्ष ताराबहादुर बुढाथोकीले जानकारी दिए । खाँदबारी नगरपालिका भित्रका प्रावि तथा निमावि तहका शिक्षकबाट ३ दिनको तलब र माध्यमिक तहका शिक्षकले ५ दिनको तलब खाँदबारी नगरपालिकाको कोरोना राहत कोषमा उपलब्ध गराइएको उनले बताए । प्रावि र निमावि तहबाट संकलित ६ लाख ८५ हजार ७ सय ६८ र माध्यमिक तहबाट संकलित ४ लाख ५ हजार ९ सय रुपैयाँ राहत कोषमा उपलब्ध गराइएको नगर शिक्षक महासंघले जनाएको छ ।
बिश्वमा महामारिका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण दैनिक समस्यामा परेका बिपन्न परिवारसम्म सहयोग पुग्न सकोस भन्ने उद्देश्यले राहत कोषमा उपलब्ध गराइएको रकमको सही सदुपयोग गरिने खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए । लकडाउनका कारण ज्यालामजदुरी गर्ने निम्न आय भएका र दैनिक गुजारा टार्न समस्या भएका बिपन्न परिवारलाई उक्त रकमबाट खाद्यान्न खरिद गरी बितरण गरिने नगरप्रमुख खतिवडाले जनाए ।
उनले खाँदबारी नगरपालिकाले गरेको अनुरोधलाई स्वीकार गरेर राहत कोषमा रकम र जिन्सी सहयोग गर्ने बिभिन्न संघ–संस्था, नागरिक समाज शिक्षक बुद्धिजीवीलगायत सबैलाई धन्यवाद प्रकट गर्दै थप सहयोगका लागि आग्रहसमेत गरेका छन् ।
नगरप्रमुख मुरारीप्रसाद खतिवडाले खाँदबारी नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा खाँदबारी नगरपालीकाबाट निर्वाचित जनप्रतिनिधिबाट संकलित ७ लाख ६ हजार ३ सय ६५, स्थानीय बरुण बहुमुखी क्याम्पसका शिक्षक कर्मचारीबाट २९ हजार ७ सय ६२ रुपैयाँ, सल्भ नेपाल तुम्लिंगटारबाट १५ हजार, खाँदबारी नगरपालीकाका कर्मचारीबाट २ लाख ६६ हजार १ सय ४७, प्रदेश १ सरकारबाट १० लाख, र खाँदबारी नगरक्षेत्र भित्रका शिक्षक कर्मचारीबाट १० लाख ९१ हजार ७ सय रुपैयाँ गरी ५६ लाख १८ हजार ९ सय ८० रुपैयाँ कोरोना कोषमा जम्मा भएको छ जानकारी दिए ।
उनले हालसम्म जिल्लाका बिभिन्न व्यक्ति र संघ–संस्थाबाट नगरलाई प्राप्त भएको १४ हजार ४ सय ५० केजी चामल राहत स्वरुप वितरण गरिसकिएको समेत बताए ।

 

 कृष्णराज शाक्य