नीरज पिठाकोटे
बुधवार, चैत्र १९, २०७६
740

वीरगन्ज- त्रिभुवन विश्व विद्यालय भन्दापनि जेठो क्याम्पस वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकायको भवन मंगलबार रातिदेखि कारागार जस्तै बनेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको रोकथामका लागि नेपाल र भारत सरकारले गरेको लकडाउनमा विभिन्न स्थानबाट घर जान हिडेका तीनसय ५२ जना भारतीयलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर ठाकुराम बहुमुखी क्याम्पसको शिक्षा संकायको भवनमा राखेको छ । पर्सा प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकायको भवनको च्यानल गेट लगाएर भित्र भारतीयहरुलाई राखिएका कारण क्याम्पसको भवन कैदीगृह जस्तै बनेको छ । त्यहाँ राखिएका व्यक्तिहरुलाई बिहान ११ बजे सम्म न खानाको व्यावस्था थियो । नत पानी कै । प्रहरीको नियन्त्रणमा रहेका १५२ मध्य १४० जना शिक्षा संकायको भवनको च्यानगेट भित्र राखिएका छन् । बाँकी महिला र बालबालिका लगायत १०÷१२ जना क्याम्पस परिसरको खुला चौरमा छन् । मंगलबार राति विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएर ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकायको भवनमा राखिको पर्साका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताए । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुले खाना, पानी र शौचालय जान समेत नपाएपछि होहल्ला गरेका छन् ।
उनीहरुले आफुहरुलाई नेपालको सीमापारीसम्म जान दिनुपर्ने र त्यसपछि भारतीय प्रहरीलाई आफै सम्झाएर घर जाने भन्दै प्रहरीलाई मनाउन खोजेका थिए । तर, नेपाल प्रहरीलाई भने बाध्यता छ । धेरै संख्यामा रहेकाहरुलाई खुला छोडिदिँदा संभावित घटनाबाट पनि जोगाउनुपर्ने, कोरोनाको संक्रमणको जोखिम पनि रहेको तथा भारतसँग कुटनीतिक सहमति अनुसार पनि रोक्नुपर्ने छ । प्रहरीले नियनत्रणमा लिएर क्याम्पस भवनको भित्र च्यानल गेट लगाएर राखेपछि कुनै अपराध नगरेपनि आफुहरुलाई समस्या परेको बेला झन कैदीबन्दीलाई जस्तो व्यावहार गरेको भन्दै उनीहरुले खान पाउनुपर्ने माग गर्दै होहल्ला समेत गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकायको भवनमा राखिएकाहरुलाई प्रहरीले खाना खाने व्यावस्था नगरेर अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालामा पनि व्यापक आलोचना भएको छ । पर्साका प्रहरी प्रवत्ता विरेन्द्र बहादुर शाहीले भने खाना र पानीको विषयमा जिल्ला प्रशासन कार्यालयसँग जानकारी सुझाए । उनले भने, “विभिन्न स्थानबाट आएकाहरु तीनसय ५२ जनालाई नियन्त्रणमा लिएर ठाकुरराम बहुमुखी क्याम्पसमा राखेका छौं । उनीहरुको खानाको व्यावस्थाको बारेमा सिडिओ कार्यालयमा सोध्नुपर्ला यसको जवाफ म दिन सक्दिन ।” तर, जिल्ला प्रशासन कार्यालय पर्सामा भने यस विषयमा जानकारी पुगेको छैन ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ललित कुमार बस्नेतले ठाकुरराम बहुमुखी क्याम्पसमा प्रहरीले नियन्त्रणमा राखेको जानकारी आफुलाई नभएको बताए । गएरातिदेखि नै प्रहरीले नियन्त्रणमा लिएर राखेकाहरुको विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी नहुनु र प्रहरीले पनि नियन्त्रणमा रहेकाहरुको खाना र पानीको व्यावस्थाको लागि जिल्ला प्रशासन कार्यालयबाट जानकारी लिन भन्नुले जिल्ला स्तरका अन्तरसरकारी अधिकारीहरुबीचको समन्वयको अभाव देखिएको छ । संकटको यो अवस्थामा पनि जिल्ला स्तरीय सरकारी अधिकारीहरुबीचको समन्वय अभावमा भने नागरिकले विभिन्न किसिमका समस्याहरु भोग्दै आउनु परेको छ । क्याम्पस भवनमा राखिएको भारतीयहरुलाई स्थानीय ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र टाउन हल होटलले खाना र पानीको व्यावस्था गरेको छ ।