कारोबार संवाददाता
आइतवार, चैत्र ९, २०७६
721

शैक्षिक परामर्श संघ नेपाल (ईक्यान)ले शुक्रबारदेखि ईक्यान अन्तर्गतका सम्पूर्ण शैक्षिक परामर्श दातृ संस्था बन्द गर्ने निर्णय गरेको छ ।
चीनबाट फैलिएको कोभिड–१९ भाइरसको संक्रमणको जोखिम बढेसँगै सरकारले सम्पूर्ण शैक्षिक संस्थासहित शैक्षिक परामर्श दातृ संस्थाहरु बन्द गर्ने निर्णय गरेसँगै सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय गरेको ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

“महामारीबाट बच्न हरेक नागरिकले आफू नै सचेत भएर सावधानीका उपायहरु अपनाउनु अति आवश्यक भएको छ । त्यसैले सम्पूर्ण संस्था बन्द गर्ने निर्णय भएको हो,” उनले भने ।
नेपाल सरकारले सबै शैक्षिक संस्थालगायत मानिसहरुको चहलपहल हुन सक्ने सबै क्षेत्रहरुलाई आगामी चैत्र मसान्त सम्म बन्द गर्ने निर्णयको समर्थन गर्दै सबै सदस्य संस्थाका कार्यालय तथा संघका कार्यालय समेत आगामी चैत्र मसान्तसम्मका लागि बन्द गरिएको ईक्यानद्वारा जारी सूचनामा भनिएको छ ।
ईक्यानले सबै सदस्य कम्पनीहरुलाई निवासबाट नै सम्भव भएसम्म व्यवसायिक कार्यहरु सञ्चालन गर्न समेत भनेको छ ।