लक्ष्मण ढुंगाना
शुक्रवार, चैत्र ७, २०७६
442

नेपालगन्ज-कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले पूर्व सूचनाबिना अचानक एसइई परीक्षा स्थगित गरेपछि परीक्षा दिन केन्द्रमा पुगेका विद्यार्थीहरु निराश भएर फर्किएका छन् । स्थगित भएको सूचना नपाउँदा परीक्षाको तयारीका साथ बिहिबार विहान केन्द्रमा पुगेका विद्यार्थीहरु परीक्षा स्थगित भएको थाहा पाएपछि निराश भएर घर फर्किएका हुन् ।
कोरोनाका कारण सर्तकता अपनाएरै परिक्षा संचालन गरिने भन्दै सरकार आफैले बुधबार अपरान्हसम्म एसइई परीक्षा सन्चालन हुने जनाएको थियो । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध मिलाएर परिक्षा संचालन हुने बुधवार दिउसो भनिएपनि साँझतिर अचानक परीक्षा स्थगित ग-यो ।

एक्कासी परिक्षा स्थगित हुँदा त्यसको सूचना नपाएर दुर्गमका जिल्लाका विद्यालयका विद्यार्थीमात्र होईन, स्रोत साधनले सम्पन्न मानिएको नेपालगञ्जका विद्यार्थी समेत परिक्षा दिन गएका थिए । परीक्षा स्थगित भएकोबारे आफूहरुलाई बिहिबार विहानसम्म पनि थाहा नभएकोले परीक्षा दिन केन्द्रमा पुगेको नेपालगञ्ज २० स्थित आदर्श मावि राँझाकी परिक्षार्थी कल्पना विष्टको भनाइ छ ।
एसइई परीक्षाका लागि तोकिएका केन्द्रमा समेत सिट प्लानिङदेखि परीक्षाको सम्पूर्ण तयारी पूरा भएको थियो । टाढाका विद्यार्थीहरु एक हप्ता अघि नै केन्द्र नजिकै कोठा लिएर बसेका थिए । विद्यार्थीहरुले परीक्षा अव कहिले हुन्छ टुंगो नभएको बताउँदै परीक्षाको लागि गरिएको मेहनत खेर गएजस्तो भइरहेको अर्की परिक्षार्थी मंगलप्रसाद मावि नेपालगञ्जकी आशा बुढाथोकीले बताईन् ।
बुधवारदेखि हुने भनिएको एसईई परीक्षाका लागि जिल्लाका सम्पूर्ण परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी प्रश्नपत्र तथा उत्तरपुस्तिकासहित तयारी पुरा भईसकेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेले जनाएको छ । सम्पूर्ण तयारी भई परिक्षाको तयारीमा रहेका बेला राती साढे नौ बजे स्थगित भएको आधिकारीक रुपमा जानकारी आएको इकाई प्रमुख रामशुरेस यादवले बताए ।