मनिषा चम्लागाईँ
आइतवार, पुष २७, २०७६
337

मदरसाको दुर्दशा

टीनको घर, तीनैतिर भत्किएको । भाटाको टाटी, न डेस्क छ न बेन्च नै । चिसो भुइँमा बसेर काम्दै पढ्छन् विद्यार्थीहरू । यो दुर्दशा हो झापाको बाह्रदशी गाउँपालिका– १ स्थित मदरसा मुजाहिर उलुमको ।
“हाम्रा छोराछोरी चिसो भुइँमा बसेर पढ्न बाध्य छन्,” अभिभावक ह्वालुद्धिन मियाँ भन्छन्, “डेस्क बेन्च नभएपछि चिसो भुइँमा बोरा ओछ्याएर हाम्रा नानीहरू पढिरहेका छन् ।” घामपानी थेग्ने ओत नहुँदा विद्यार्थीको बिजोग हुने गरेको छ । हावापानी चलेको बेला हुने गरेको समस्याका बारेमा उनी भन्छन्, “पानी भित्रै छिरेपछि विद्यार्थीसँग शिक्षक पनि कामिरहेको हुन्छ ।”

ह्वालुद्धिनका १६ बर्षिय छोरा साहिल मियाँ र १८ बर्षिया छोरी साहिन खातुन त्यस मदरसामा पढ्ने गर्छन् । भगवती माविमा अध्ययनरत उनीहरू उर्दु भाषाको लागि मदरसामा पनि पढ्ने गरेका हुन् । कक्षा ५ सम्म अध्ययन हुने मदरसामा १५० जना विद्यार्थी पढ्ने गर्छन् । ‘ग्वाली’ भन्दा पनि नराम्रो त्यस विद्यालयमा विद्यार्थीले मुश्किलले पढ्ने गरेको अर्का अभिभावक सज्जाद आलमले समस्या दर्शाए ।
बाह्रदशी– १ सिप्ताबस्तीका मुस्लिम बालबालिका त्यस मदरसामा जाने गर्छन् । सिप्ताबस्तीमा मुस्लिम समुदायको ७५ घरधुरी रहेका छन् । लगातारको शितलहरका कारण विद्यार्थीहरू कठ्यांग्रिएर पढ्न नसक्ने भएपछि मदरसाले जाडोको छुट्टी दिएको थियो । पाँच दिनको विदा सकिएपछि मदरसा सञ्चालन आएपनि राम्ररी पठनपाठन हुन सकेको छैन । “मदरसा लगाएर के गर्नु ?” मुल्बी रिजवान मुक्तिले भने, “बाहिरको चिसो पसेर पढाउनै सकिदैँन ।” मुल्बी रिजवान र एकजना शिक्षिकाले त्यहाँ पढाउने गर्छन् । दुबैको पारिश्रमिक घरघरबाट चन्दा उठाएर धान्नु परिरहेको अभिभावक सज्जादले बताए । “इदुल फित्र पर्वका बेला संकलन हुने जकादबाट मदरसा चलाइरहेका छौँ” उनले भने, “त्यसले नपुग्दा फेरि घरघरबाट चन्दा उठाउँछौँ ।” इदुल फित्र पर्वमा प्रतिव्यक्ति ७० रुपैयाँ र आम्दानी हुने ४० किलो धान बराबर एक किलो धान जकादको रुपमा सहयोग गर्नुपर्ने मुस्लिम समुदायको परम्परा रहेको सज्जादले जनाए । विद्यालयलाई अति आवश्यक कुनै पनि भौतिक पूर्वाधार त्यहाँ पाइँदैन । भवनको त अभाव छ नै, पानी र शौचालय पनि छैन ।
पाँच वर्षअघि स्थानीयले आर्थिक संकलन गरेर सो मदरसा स्थापना गरेका थिए । उनीहरूले जग्गा र घर आफ्नै खर्चबाट जोडेका हुन् । मदरसालाई दर्ता गरेपनि सरकारी निकायबाट सहयोग नपाएको ह्वालुद्धिनले गुनासो गरे । क्षेत्रका वडाध्यक्ष शम्भुसिंह राजवंशी पनि मदरसाको दुर्दशा रहेको बताउँछन् । मदरसालाई सरकारी निकायबाट खासै सहयोग नमिल्नुका साथै सहयोगको लागि स्थानीयले पनि चासो नराखेको उनले बताए । स्थानीय तह आएसँगै वर्ष वडा कार्यालयले २ लाख २५ हजार रुपैयाँको लागतमा घेरावारा गरेको थियो । गत वर्ष भवनका लागि बिनियोजित १ लाख ३० हजार रुपैयाँ खर्च नगरी स्थानीयले फ्रिज गराएको वडाध्यक्ष राजवंशी बताउँछन् । चालू आर्थिक वर्षमा पनि भवनका लागि भनेर वडा कार्यालयले ७ लाख रुपैयाँ छुट्याएको छ । बाह्रदशी गाउँपालिकामा ९ वटा मदरसा र एउटा गुरुकुल गरी १० वटा धार्मिक विद्यालयले अनुमति लिएका छन् । प्रत्येक धार्मिक विद्यालयको सञ्चालनका लागि गाउँपालिकाले बजेट छुट्याएको छ । “तर बजेट लिनका लागि एउटा मात्र मदरसा आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले बताए । उनले स्रोत र साधन जुटाउने काममा समुदायको चासो र प्रयत्न कम देखिएको प्रतिक्रिया दिए । अब गाउँपालिकाले नै चासो दिएर मदरसाको स्तरोन्नित गर्ने पौडेलले बताउँछन् ।

अव्यवस्थित बन्दै मदरसा
स्थानीयले आफू खुशी मदरसा खोल्दा मदरासा अव्यवस्थित बन्दै गएका हुन् । मुस्लिम धर्मावलम्बीहरूले अध्ययन गर्ने थलो मदरसामा योग्यताप्राप्त शिक्षक नहुदाँ जीवनोपयोगी ज्ञान दिन पनि समस्या हुँदै आएको छ । झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकामा मात्र २० वटा मदरासा सञ्चालनमा छन् । आवश्यक स्रोत अभावमा झापा गाउँपालिका मदरसामा विद्यार्थी संख्या दिनानुदिन घट्दै आएका छन् ।
केही मदरसाले छात्रावासको प्रबन्ध गरेका छन् । झापा गाउँपालिका– ४मा रहेका मदरसा इस्लामिया रुहिमारी र ग्लर्स मदरसामा छात्रावासको व्यवस्था छ । छात्रावासमा बस्ने विद्यार्थीलाई कुनै पनि शुल्क नलिने भएकाले आएजति सबै विद्यार्थीलाई छात्रावासमा राख्न स्रोतले धान्न नसक्ने गरेको मदरसा सञ्चालक बताउँछन् । स्वस्थ खाना, वातावरणीय सफाइजस्ता सूचक लागू गर्नु पर्ने सञ्चालक सुनाउँछन् । निजी स्रोतमा सञ्चालन भइरहेका मदरसा सञ्चालन गर्नु चुनौती बन्दै गएको स्वयम् सञ्चालकको भनाइ छ ।
मदरसाले विषयगत सीप प्रदान गर्न नसकेको झापा गाउँपालिकाका अध्यक्ष जयनारयण साहले बताए । “शिक्षकको मापदण्ड नै हुँदैन, धर्मगुरुहरूले शिक्षा दिदैँ आइरेका छन्” अध्यक्ष साहले भने, “झापा गाउँपालिकामा जिल्लाको सबैभन्दा बढी मदरसा सञ्चालनमा छन्, यसलाई व्यवस्थापन गर्न हामी लागिपरेका छौँ ।”
झापाको बिर्तामोड नगरपालिकामा पनि ५ वटा मदरसा सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट छुटिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । आठ वर्ष पहिले जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर सञ्चालमा आएका कतिपय मदरसामा ५जनामात्र विद्यार्थी अध्ययनरत् रहेको बिर्तामोड नगरपालिकाले जनाएको छ । बिर्तामोड नगरपालिका भित्र रहेका मदरसाको अनुगमन गरिरहेको बिर्तामोड नगरपालिकाका प्रमुख धु्रर्वकुमार शिवाकोटीले बताए । उक्त मदरासामा ५देखि १० जनासम्म विद्यार्थी राखेर पढाइ भइरहेको छ, समयसापेक्ष ज्ञान दिन मदरसा पछि परेका छन्, मदरसालाई व्यवस्थापन गरेर गुणस्तरीय बनाउने कार्यक्रम नगरपालिकाले बनाएको छ । मदरसालाई व्यवस्थापन गर्न मर्च गरेर अघि बढ्ने शिवाकोटी बताउँछन् ।
झापामा ५० वटा मदरसा सञ्चालनमा छन् । जहाँ १५ सय बढी विद्यार्थीले अध्ययन गर्छन् । झापाको कमलगाउँपालिका र शिवसताक्षी नगरपालिका बाहेक अन्य १३ वटै पालिकामा मदरसा रहेका छन् । स्थानीय सरकार र दातृ संस्थाको अनुदानमा सञ्चालनमा रहेका मदरसा व्यवस्थापन राज्य गम्भीर बन्नु पर्ने मदरसा सञ्चालकको माग छ ।