कारोबार संवाददाता
आइतवार, मंसिर १५, २०७६
335

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालू आर्थिक वर्षको लागि शुक्रवार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्वारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो ।
नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ । जसमा पूँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ । यसमध्ये विश्वविद्यालय अनुदान आयोगबाट कुल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ ।

त्रिविमा शिक्षणतर्फको वार्षिक तलबमा हुने खर्च ५ अर्ब ४० करोड ५६ लाख ३७ हजार र प्रशासनीक कर्मचारीको तलबमा हुने खर्च ४ अर्ब १२ करोड ३६ लाख ६७ हजार विनियोजन भएको छ । त्रिविमा हाल शिक्षण कर्मचारीतर्फ ७ हजार ९ सय ३८ र प्रशासनीक एवं प्राविधिक कर्मचारीतर्फ ८ हजार १ सय २४ कर्मचारी कार्यरत रहेका छन् । गत आर्थिक वर्ष २०७५–७६ मा नेपाल सरकारबाट ६ अर्ब ७२ करोड ३८ लाख ५४ हजार अनुदान प्राप्त भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा ६ अर्ब ६७ करोड ६५ लाख अनुदान प्राप्त भएको थियो । त्रिविको अघिल्लो आर्थिक वर्ष २०७४–०७५ को वास्तविक खर्च १२ अर्ब ४६ करोड ५ लाख ५८ हजार रहेको थियो ।
यसैगरी त्रिविले अनुसन्धान तथा विकास खर्च शीर्षकमा १५ करोड ३० लाख ७६ हजार विनियोजन गरेको छ भने विद्यार्थी कल्याण खर्च शीर्षकमा १० करोड ९ लाख ९० हजार रकम विनियोजन भएको छ । यसै बजेटको परिधिभित्र रहेर त्रिविले यस वर्ष स्ववियु निर्वाचन समेत गर्नुपर्नेछ । यसैगरी छात्रवृत्ति शीर्षकमा ३ करोड ७१ लाख ४६ हजार विनियोजन गरिएको छ । परीक्षा सञ्चालन खर्च ८२ करोड ३१ लाख १० हजार विनियोजन भएको छ । कार्यक्रमलाई सम्बोधन गदै त्रिविका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्रि गिरिराजमणि पोखरेलले विश्वविद्यालयका उपलब्धी, समस्या र समस्या समाधानको बाटो स्पष्ट हुने गरी त्रिविले खाका तयार गर्नुपर्ने धारणा व्यक्त गरे । उनले कुलपतिले समेत विश्वविद्यालय नयाँ पद्धतिबाट चलाउन निर्देशित गरेको जानकारी दिँदै पुराना प्रणालीलाई भत्काउँदै नयाँ प्रणाली निर्माण गरेर अगाडि बड्न विश्वविद्यालयको कार्य पद्धति, विधि र दीक्षान्त समारोह लगायतलाई नयाँ पद्धतीमा व्यवस्थित गर्नुपर्ने बताए ।
वर्तमान परिस्थितिमा तीन तहको सरकार निर्माण भइसकेकोले देश नयाँ युगमा प्रवेश गरेको हुँदा अब विश्वविद्यालयले पनि नयाँ ढँगले जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए । त्रिविको भिजन २०२०–३० लाई टेकेर विश्वविद्यालयलाई व्यवस्थित बनाउने र ऐतिहासिक ढंगले गौरवशाली इतिहास भएको विश्वविद्यालयलाई नयाँ बनाउने योजना चाहिने धारणा उनले व्यक्त गरे । विश्वविद्यालयको व्यवस्थापन राज्यले गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै उनले विश्वविद्यालयमा अब संघीयताको मोडलत्रि त्रिविको संरचना कस्तो बनाउने भनेर बहस हुनुपर्ने बताए ।
विश्वविद्यालय अनुसन्धान, खोजी र नवप्रवर्तनको ठाउँ भएकोले यसलाई सोहि अनुरुप उपयोग गरिने बताउदै उनले विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सीको रुपमा विकास गर्ने शुरुवात कीर्तिपुरबाट नै गर्ने सोच सरकारले लिएको उनले बताए । विगतमा राजनीतिक उद्देश्य पूर्तिको थलो विश्वविद्यालय हुने गरेकोले समस्या आएको बताउँदै उनले अब त्यसको अन्त्य गरी आगामी दिनमा प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा केन्द्रीत गरिने धारणा व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गदै त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउनुको विकल्प नरहेको उल्लेख गदैै १५ बुँदे कार्ययोजनासहित लक्ष्य प्राप्तिमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । त्रिविको भौतिक पूर्वाधारमा सुधार गर्ने, प्रविधिमैत्री विश्वविद्यालय बनाउने, अनुसन्धान कार्यलाई प्राथमिकता दिने, त्रिविका अनुसन्धान केन्द्रहरुलाई सरकारको थिन्कट्यांकको रुपमा विकास गर्नु पर्ने बताए । यसैगरी निश्चित शैक्षिक पात्रोको व्यवस्था र कडाइका साथ पालना गराउने, परीक्षा प्रणालीमा व्यापक सुधार र विकेन्द्रीकरण गर्ने, तीन महिनाभित्र नतिजा प्रकाशनको लागि व्यवस्था गर्ने, प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयको व्यवस्था गर्ने, बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकता अनुसारको जनशक्ति निर्माणमा जोड दिने लगायतक कार्ययोजना रहेको बताए ।