लक्ष्मण ढुंगाना
सोमवार, मंसिर १६, २०७६
371

बर्दिया-विद्यालय समयमा कक्षा कोठामा पढ्न व्यस्त हुनुपर्ने एक हुल विद्यार्थी आइतबार दिउँसो २ बजे बाँकेको डुडुवा गाउँपालिकामा भेटिए ।
स्कुल पोसाकमै प्रधानाध्यापकसहित गाउँपालिकामा आएका उनीहरू अन्य प्रयोजनका लागि नभई शिक्षक माग गर्न गएका हुन् । विद्यालयमा लामो समयदेखि मावि तहका शिक्षक नहुँदा पढाइ हुन नसकेपछि बाध्य भएर गाउँपालिकाको ध्यानाकर्षण गराउन यहाँ आएको श्री राष्ट्रिय मावि वनकट्टीका कक्षा १० का विद्यार्थी नसिम खानले बताए । गाउँपालिका अध्यक्ष, कर्मचारी, विद्यालयका प्रअसहितको छलफलमा विद्यार्थी खानले पढाइ नै नभएर आफूहरूको परीक्षाको नतिजा राम्रो नआउने भन्दै त्यसको जिम्मा सम्बन्धित गाउँपालिकाले लिनुपर्ने बताए । “परीक्षा आउन अढाइ महिना जतिमात्रै बाँकी छ,” उनले भने, “गणित, विज्ञानलगायत मुख्य विषय हालसम्म पढाइ नै भएको छैन ।”

विद्यालयका प्रधानाध्यापक मोहम्मद हुसेन खाँले विद्यालयले स्थापनाकालदेखि दरबन्दी नपाएको बताए । हरेक वर्ष शिक्षक माग गर्दै आए पनि नपाएपछि निकै समस्या भएको बताए । सजिलो विषय तल्लो तहका शिक्षकले पढाउने गरे पनि विज्ञान, गणितलगायतका विषय शिक्षक अभावमा पढाइ हुनै नसकेको उनको भनाइ छ ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले पहल थालिरहेकोे बताए । तत्काल स्थायी रूपमा शिक्षकको व्यवस्था गर्न नसके पनि पुस १ गतेदेखि कोचिङ कक्षा सञ्चालन गर्ने गरी शिक्षकको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । २०६६ सालमा मावि तहको पढाइको सुरु गरेको विद्यालयमा मावि तहमा एकजना पनि शिक्षकको दरबन्दी नै छैन । शिक्षक अभावमा त्यहाँ हाल विद्यालयमा कार्यरत तल्ला तहका शिक्षकले बाध्यतावश कक्षा ९ र १० विद्यार्थीलाई पढाइरहेका छन् ।
विद्यालयमा केही विषय प्रावि र निमावि तहका शिक्षकले पढाए पनि गणित, विज्ञानलगायतका मुख्य विषय हालसम्म पढाइ हुनसकेको छैन । एसईईको तयारीमा रहेका केही विद्यार्थी बाहिर ट्युसनको भरमा स्वःअध्ययन गरिरहेका छन् भने केही शिक्षक आउने पखाइमा बसिरहेका छन् ।