कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
351

लमजुङमा भूकम्पपछिको विद्यालय पुनर्निमार्णमा २० करोड ३६ लाख बजेट खर्च भएको छ । जिल्लामा आर्थिक वर्ष ०७३-०७४ को चैतबाट विद्यालयको पुनर्निर्माण सुरु भएको हो ।
साविकको जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वय इकाईमार्फत हालसम्म जिल्लामा भूकम्बाट क्षति भएका विद्यालय पुनर्निर्माणमा २० करोड ३६ लाख खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । इकाईका अनुसार तीन वर्षको अवधिमा ११ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । केही विद्यालय गैरसरकारी सस्ंथा तथा दातृ निकायको तर्फबाट पुनर्निर्माण भए पनि सरकारी तवरबाट भने ११ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको हो । १३ विद्यालय भवनको निर्माणकार्य सम्पन्न भई कागजी प्रक्रियामा रहेको आयोजना कार्यान्वयन इकाईका इन्जिनियर दिपकराज कँडेलले बताए ।

जिल्लामा साविकको जिल्ला शिक्षा कार्यालयमार्फत आर्थिक वर्ष ०७३-७४ मा ८ र ०७४-७५ मा ८ गरी १६ विद्यालय भवनको ४६ कोठा पुनर्निर्माणको कार्यक्रम आएको थियो । त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत आर्थिक वर्ष ०७५-७६ मा दुई चरणमा पुनर्निर्माणको कार्यक्रम आएको थियो । पहिलो चरणमा २९ भवनका ८९ कोठा र दोस्रो चरणमा एक सय २३ कोठा पुनर्निर्माणको कार्यक्रम आएकोमा अधिकांश भवन निमार्णाधीन अवस्थामा रहेको इन्जिनियर कँडेलले बताए । लमजुङमा ढिलो गरी विद्यालय पुनर्निर्माणको कार्यक्रम आउनु, आएका कार्यक्रम पनि पर्याप्त नहुनुले विद्यालय पुनर्निर्माणले गति लिन नसकेको इन्जिनियर कँडलेको भनाइ छ ।
लमजुङमा पुनर्निर्माणका लागि छनोट भएका कुल विद्यालयको संख्या एक सय २७ छ । जसमध्ये जिल्ला कार्यान्वय इकाईमार्फत ७४ विद्यालयमा पुनर्निर्माण कार्यक्रम लागू भएको छ । पुनर्निर्माणका लागि सूचीकृत भएका १६ विद्यालय भने कुनै पनि निकायबाट सम्बोधन नभएको अवस्था रहेको जिल्ला कार्यान्वय इकाईका प्रमुख अशोक पराजुलीले बताए । जिल्लाको भौगोलिक बनोटका कारण अधिकांश विद्यालयमा पुनर्निर्माणकार्य तोकिएको समयमा सम्पन्न गर्न नसकिएको इकाईले जनाएको छ । चालू आवमा अघिल्ला वर्षका कार्यक्रमअन्तर्गत रहेर निमार्णाधीन अवस्थामा रहेको भवन सम्पन्न गर्ने लक्ष्यका साथ इकाईले आफ्ना गतिविधि सञ्चालन गरेको जिल्ला कार्यान्वय इकाईका प्रमुख पराजुलीले बताए । चालू वर्ष ०७६-७७ मा ४ कोठे ५० वटा, ३ कोठे ८ वटा २ कोठे १६ वटा र ३० वटा शौचालय निर्माणको कार्यक्रम प्राप्त भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

सन्देश पौडेल