कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६
349

लमजुङको मध्यनेपाल नगरपालिकाले गरिब तथा विपन्न विद्यार्थीहरूलाई लक्षित गरी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । आर्थिक अवस्था न्यून भएकै कारण उच्च शिक्षा लिन नपाएका विद्यार्थीलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगरप्रमुख छात्रवृत्ति कोषको स्थापना गरी कक्षा ११ देखि माथि उच्च शिक्षा अध्ययनसम्मका लागि छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । नगरभित्रका गरिब, विपन्न र उत्कृष्ट विद्यार्थीलाई शैक्षिक अवसरको वातावरण उपलब्ध गराउन कोषको स्थापना गरेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले बताए । नगरपालिकामा आएका आवेदनका आधारमा सम्बन्धित क्याम्पसहरूमा समन्वय गरी विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति उपलब्ध गराइने नगरप्रमुख पाण्डेले बताए । केही दिनमै छात्रवृत्तिका लागि आवेदन खुल्ला गरिने समेत नगरपालिकाले जनाएको छ । आवेदन दिएका विद्यार्थीको वस्तुगत विवरण, सम्बन्धित क्याम्पसमा थप समन्वय र अध्ययन गरी छात्रवृत्तिका लागि सिफारिस गरिने नगरप्रमुख पाण्डेको भनाइ छ ।

नगरपालिकाले उच्च शिक्षासँगै विभिन्न प्राविधिक विषयमा अध्ययन गर्न चाहाने जेहेन्दार विद्यार्थीलाई पनि उक्त कोषमार्फत छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । नगरपालिकाभित्रका विद्यालय, क्याम्पस वा अन्य बाहिरका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिनसक्ने नगरपालिकाले जनाएको छ । विद्यार्थीहरूको अध्ययनको विषय र आवश्यकता अनुसार नगरपालिकाले छात्रवृत्ति उपलब्ध गराउने नगरप्रमुख पाण्डेको भनाइ छ । नगरपालिकाले ल्याएको यस्तो कार्यक्रमबाट नगरभित्रका गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई लाभ मिल्ने अपेक्षा गरिएको छ । शिक्षामा हरेक नागरिकको पहुँच पुग्नु पर्छ र शिक्षा बालबालिकाहरूको नैसर्गिक अधिकार हो भन्ने मान्यताका साथ यो कार्यक्रम कार्यान्वयनको चरणमा लगिएको नगरपालिकाले जनाएको छ ।
उच्च शिक्षा छात्रवृत्तिबाहेक माध्यमिक तथा प्राथमिक विद्यालयमा पनि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले शिक्षा शाखामार्फत शैक्षिक क्षेत्रमा सुधार र गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले उपलब्ध गराउन सक्ने कुनै पनि कुरामा कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाएको छ । पछिल्लो समय शैक्षिक गुणस्तर प्रभावकारी बनाउने क्रममा मध्यनेपाल नगरपालिकाले विद्यार्थी नभएका विद्यालयलाई अन्य विद्यालयमा मर्ज गराउनसमेत सुरु गरिसकेको छ । नगरपालिकाले चालू शैक्षिक सत्रमा मात्रै तीनवटा विद्यालयलाई अन्य विद्यालयमा मर्ज गरिसकेको छ ।