सागर परियार
बुधवार, कार्तिक २०, २०७६
237

जुम्ला- सरकारले बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अनिवार्य तथा निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ । त्यसैगरी छात्रवृत्ति, निःशुल्क भर्नाजस्ता कार्यक्रमहरु सामुदायिक विद्यालयहरुमा सञ्चालित छन् । प्रत्येक वर्ष शैक्षिक सत्रको शुरुमा भर्ना अभियान धुमधामका साथ नगरेको पनि हैन । स्थानीय सरकार आइसकेपछि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट छुट्याएको पाइन्छ ।
जुम्लाका आठै स्थानीय तह गरी करिब डेढ करोड बजेट शिक्षा क्षेत्रको विकासका लागि मात्रै विनियोेजन गरेका छन् भने कर्णाली सरकारले त झन् अबको एक वर्षभित्र साक्षर कर्णाली घोषणा गर्ने लक्ष्यसहित दाबी पनि गरिरहेको छ । तर कर्णालीमा प्रदेशमा ३१ हजार २५ जना बालबालिका अझै विद्यालय क्षेत्र भन्दा बाहिर रहेको तथ्यांकले देखाएको छ । शिक्षा निर्देशनालय सुर्खेतको रिपोर्टअनुसार कर्णालीका दशवटै जिल्लामा गरी करिब ३१ हजार बालबालिका विद्यालय बाहिर छन् ।

कर्णालीमा १७ लाख ७० हजार घरधुरी छन् । ती मध्ये ३१ हजार बालबालिका अझै विद्यालय बाहिर हुनु भनेको समृद्ध नेपाल र सुखी नेपालीको नारा बोकेको राज्यका लागि गम्भीर चुनौती हो । वल्र्ड भिजन नेपालका शिक्षा विषेशज्ञ विश्व घिमिरेले भने, “विदेशी दातृ निकायको बजेट पनि शिक्षा क्षेत्र करोडांै खर्च भएको छ । तर पनि अझै लाखौ बालबालिका विद्यालय बाहिरर रहनु गम्भीर चुनौती हो ।”
वल्र्ड भिजन नेपालले बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ । विद्यालयमा बालमैत्री बातारण सृजना गर्नेदेखि लिएर शिक्षकहरुलाई तालिम दिँदै आएको किर्डाकका शिक्षा परियोजना संयोजक दिपराज रावतले बताए । कर्णालीमा ३१ हजार विद्यालय बाहिर छन् भने जुम्लामा करिब २ हजार बालबालिका अझै विद्यालय बाहिर छन् ।
१ सय ७० वटा विद्यालयका १९ हजार बढी विद्यार्थीमध्ये ५ प्रतिशत विद्यालय बाहिर छन् । शिक्षा समन्वय ईकाई प्रमुख मकर भण्डारीका अनुसार विद्यालय बाहिर रहने बढी दलित बालबालिका रहेका छन् । विपन्न बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन स्थानीय सरकारले चेतनामूलक कार्यक्रममा जोड दिन उनको सुझाब छ ।
नेपालमा विद्यालय बाहिर ३ लाख ४ हजार ४ सय ७६ विद्यार्थी रहेका छन् । जसमा १ लाख ५४ हजार ६ सय ७५ छात्र र १ लाख ४९ हजार ८ सय छात्रा रहेका छन् । विद्यालय वाहिर बालबालिका रहनेमा प्रदेश दुई अग्रस्थानमा रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेश रहेको छ । प्रदेश दुईमा ७५ हजार १ सय २४ जना बालबालिका विद्यालय बाहिर रहेका छन् भने प्रदेश एकमा ४५ हजार ७ सय ९३ जना बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक छ ।
प्रदेश तीनमा ३९ हजार ४ सय १ जना, गण्डकी प्रदेशमा २२ हजार ७९ जना, प्रदेश ५ मा ४५ हजार ७ सय ९३ जना विद्यालय बाहिर रहेका छन् भने कर्णाली प्रदेशमा ३१ हजार २५ जना र सुदूरपश्चिममा ३५ हजार २ सय ३३ जना बालबालिका विद्यालय वाहिर रहेका छन् । जिल्लागत हिसावले सबैभन्दा कम मुस्ताङमा १५ जना बालबालिका विद्यालय बाहिर रहेका छन् ।
सबैभन्दा बढी रौतहट जिल्लामा १२ हजार ३ सय २३ जना बालबालिका विद्यालय बाहिर छन् । लाखौँ बालबालिका विद्यालय वाहिर रहनु भनेको समृद्ध नेपाल र सुखी नेपालीको नारा बोकेको राज्यका लागि गम्भीर चुनौती हो । नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतका अनुसार यस विषयमा सबै स्थानीय सरकार देखि प्रदेश तथा केन्द्र सरकार गम्भीर हुन आवश्यक छ । नभए अबको एक वर्षमा साक्षर कर्णाली घोषणा सम्भव नभएको देखिन्छ ।