केशव समर्पण
बुधवार, कार्तिक २०, २०७६
319

हेटौंडा–६ गौरीटारमा भारतीय सहयोगमा बहुप्राविधिक महाविद्यालय निर्माणको काम सुरु भएको छ । करिब साढे ५८ करोड लगातमा भारतीय कम्पनीसँग ठेक्का सम्झौता भएपछि महाविद्यालयको भौतिक पूर्वाधार निर्माणकार्य अघि बढेको हो ।
मंगलबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमण पौडेलले महाविद्यालयको भवनको शिलान्यास गरेका छन् । करिब १७.५ हेक्टर जमिनमा फैलिएको महाविद्यालयमा विभिन्न २२ वटा भवन निर्माण हुनेछन् । ५८ करोड ४४ लाख ५८ हजार दुई सय ६६ रुपैया“मा भारतीय कम्पनी एमएस टेलिकम्युनिकेसन कन्स्ल्ट्यान्टस्लाई ठेक्का दिइएको हो । महाविद्यालय निर्माणको टेण्डर भारत सरकारले दुई वर्ष अगाडि नै निकालेर ठेकेदार कम्पनीसँग सम्झौता गरे पनि प्राविधिक कारण देखाउँदै निर्माणकार्य ढिलाइ भएको थियो । प्रदेश सरकारले निर्माणका लागि सुरक्षाको ग्यारेण्टी, पानी, विद्युत् र अन्य आवश्यक सहयोग प्रतिबद्धता जनाएपछि महाविद्यालय निर्माणमा कम्पनी सहमत भएको हो ।

निर्माण योजना बनाइएको करिब २२ वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय निर्माण सुरु भएको हो । २०५४ महाविद्यालय निर्माणको योजना बनाइए पनि लगानीको अभावका कारण अगाडि बढ्न सकेको थिएन । २०६६ फागुन ४ गते तत्कालीन नेपालका राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको क्रममा महाविद्यालयको निर्माण गर्न भारत सरकारसँग सम्झौता गरेका थिए । सम्झौता भए पनि कार्यान्वयनमा ढिलाइ भएको थियो । सम्झौतालगत्तै सरकारले उपलब्ध गराएको जग्गा तारबार गरेर राखिए पनि भौतिक पूर्वाधार निर्माणको काम भने अघि बढ्न सकेको थिएन । ठेकेदार कम्पनीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । २०२१ अगस्ट ३० तारिखसम्म भौतिक पूर्वाधार निर्माणकार्य सम्पन्न गरिने कम्पनीले जनाएको छ । भवनको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न कम्पनीलाई निर्देशन दिए । कुल क्षेत्रफलको करिब ११ हेक्टर जमिनमा भौतिक पूर्वाधार निर्माण हुनेछन् । र महाविद्यालयभित्रै छात्रावाससहित इण्डोर र आउटडोर खेल मैदानसमेत हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव डा. पुण्यरमण वाग्लेले जानकारी दिए ।
भौतिक पूर्वाधार निर्माण पूरा भएसँगै महाविद्यालयमा डिप्लोमा तहमा प्राविधिकतर्फका चारवटा विषयको पढाइ हुनेछ । मेकानिकल, कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन विषयको पढाइ हुनेछ । विद्यालयमा वार्षिक पा“च सय २० जनासम्मले अध्ययन गर्न सक्ने जनाइएको छ । चित्रेपानी सामुदायिक वनले उक्त महाविद्यालय निर्माण गर्न जमिन उपलब्ध गराएको थियो ।
महाविद्यालयले यस वर्षबाटै बालजागृति युवा वर्ष माविमा चारवटा कोठा भाडामा लिएर डिप्लोमा तहमा मेकानिकल विषय पढाइ सुरु गरिसकेको छ । महाविद्यालयका प्रशासन प्रमुख विष्णु घिमिरेका अनुसार यस वर्ष ४८ जनाले मेकानिकल विषयमा भर्ना गरेका छन् ।