कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६
299

लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गतका तीनवटा विद्यालय अन्य विद्यालयमा गाभिएका छन् । विद्यार्थी संख्या शून्य भएपछि नगरपालिकाअन्तर्गतका तीनवटा प्राथमिक विद्यालय अन्य विद्यालयमा गाभिएका हुन् ।
मध्यनेपाल नगरपालिका शिक्षा शाखाका अनुसार वडा नम्बर १ स्थित ज्ञानेश्वरी विद्यालय, वडा नम्वर–३ अन्तर्गत गोरखनाथ विद्यालय र वडा नम्बर ५ अन्तर्गत बालकन्या प्राथमिक विद्यालय अन्य छिमेकी विद्यालयमा गाभिएका हुन् ।

शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार साविक जितामा रहेको ज्ञानेश्वरी प्रावि जिताकै सप्तधारा माविमा मर्ज भएको छ । यस्तै साविक सूर्यपालमा रहेको गोरखनाथ प्रावि मंगला माविमा मर्ज भएको छ भने साविक समिभञ्ज्याङ अन्तर्गत बालकन्या मावि सम्झना माविमा मर्ज भएको शिक्षा शाखा प्रमुख भट्टराईले बताए । विद्यालयमा विद्यार्थी संख्या शून्य भएपछि विद्यालय मिलानलाई औपचारिक निर्णय गरिएको नगरपालिकाले जनाएको छ । विद्यार्थी नभएकोले साविकका विद्यालयको चलअचल सम्पत्तिसँगै सो विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरूको व्यवस्थापनको क्रममा रहेको शिक्षा शाखाले जनाएको छ ।
विद्यार्थी शून्य भएका विद्यालयमध्ये ज्ञानेश्वरीमा तीनजना शिक्षक, गोरखनाथमा दुईजना र बालकन्या प्राविमा एकजना शिक्षकले अध्यापन गराउँदै आएका थिए । हाल उनीहरूलाई छिमेकी विद्यालयको विद्यार्थी चाप र शिक्षक दरबन्दीको अवस्थाअनुसार व्यवस्थापनको तयारी गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । नगरपालिकाले विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय मर्ज गर्ने अभियान नै सुरु गरेको छ ।