कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६
595

 
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

म्याग्दी - नेपाल सरकारले आधारभूत तहको कक्षा १–३ मा पठन सीपको विकास गर्ने उद्देश्यले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमको बेसलाइन सर्वेक्षण, मिड लाइन सर्वेक्षण सम्पन्न भैसकेको छ भने इन्डलाइन सर्वेक्षणको लागि रिडिङ ट्रायङ्गल इन्टरनेसनल(आरटिआई)ले भर्खरै एक संस्थालाई उपठेक्का दिएको छ ।
वास्तवमा यो कार्यक्रम लागू भएपछि उद्देश्यअनुसारको परिवर्तन भयो कि भएन ? परिवर्तन भएको भए के के पक्षहरुमा परिवर्तन भयो ? कार्यक्रम सकिएपछि पनि स्थानीय विद्यालयले यसलाई दीर्घकालीन रुपमा टिकाउनका के के समस्या छ ?

कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइ सीप कमजोर देखिएकाले २०१६ जुलाई १९ बाट म्याग्दीमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु भएको थियो । बालबालिकाहरूको पढाइ सीप सुधारका लागि सञ्चालन गरिएको इजीआरपी जिल्लाको २५ विद्यालयमा सुरु गरिएको थियो । जिल्लाका विद्यालयको कक्षाकोठाको व्यवस्थापन, शिक्षण शैली परिर्वतन, बालबालिकाहरूमा पढ्न र लेख्नको लागि रुचि तथा सीप बढाउन उद्देश्यले यो कार्यक्रम लागू गरिएको थियो । यो कार्यक्रम गर्नका लागि विद्यालयमा विद्यार्थीको चाप, दलित विद्यार्थी केन्द्रित, शैक्षिक सामग्रीको आवश्यकता, शिक्षकको सक्रियता, अभिभावकको भूमिका सक्रियता भएको विद्यालयमा यो कार्यक्रमलाई प्राथमिकता दिएको शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख दलबहादुर थापाले बताए ।
यो कार्यक्रम लागूपश्चात् थोरै विद्यालयमा शिक्षण पद्धति परिवर्तन भएको छ । इजीआरपी लागू भएपछि विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति लगायतलाई जिम्मेवारी बढाउन, शिक्षणमा बसाई व्यवस्थापनमा सुधारमा महत्वपूर्ण सहयोग पुगेकोे म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा रहेको जनआवाज आधारभूत विद्यालयका प्रअ सुनबहादुर विकले बताए ।
साविक जिल्ला शिक्षा कार्यालयको समन्वय, प्लान नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट बागलुङको प्राविधिक सहयोगमा कक्षा १ देखि ३ सम्म कार्यक्रम सञ्चालन भएको थियो । पछिल्लो समय सरकारी स्कुलमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा जनआवाज आधारभूत विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएको छ । यो कार्यक्रम लागू नहुँदा विद्यालयमा लेखाउने पढाउने र गृहकार्य दिने, बेञ्चमा विद्यार्थी राख्ने, अविभावकको जिम्मेवारी कम, शिक्षकले पाठयपुस्तकको आधारमा शिक्षण गर्न चलन रहेको प्रअ विकले बताए ।
“प्रारम्भिक कक्षा पढाइ कार्यक्रमबाट शिक्षक, व्यवस्थापन समितिलाई तालिम लिएपश्चात विद्यालयमा बेञ्च हटाएर बसाइ व्यवस्थापन गरियो । कक्षा व्यवस्थापन, लाइन लगाउने तरिका परिवर्तन, खेलकुदमा प्राथमिकता, परिक्षा लिने तरिका, अक्षर चिनारी, टोल टोल अभिभावक जिम्मेवारी र टोलटोलमा विद्यार्थी गठन, समूहमा सिकाई व्यस्थापन शैली लागू भएको छ,” प्रअ केसीले बताए ।
सिकाइ शिक्षण कला प्रभावकारी भएपछि विद्यालयले स्थानीयको सहयोगमा ६० हजार खर्चमा सामग्री र एक हप्ता प्रशिक्षक लिएर ८ जना शिक्षक, व्यवस्थापन समितिलाई शिक्षण तालिम गरिएको प्रअ विकले बताए ।
यो सिकाईले विद्यालयको वातावरण परिवर्तन, बसाइ व्यवस्थापन, कक्षा व्यस्थापन, विद्यार्थी अनुशासनमा, अभिभावकको जिम्मेवारी बढेको, सामूहिक गृहकार्य, सामूहिक खेलकुद, अभिभावकको जिम्मेवारी बढेसँगै विद्यालयमा निरीक्षण, व्यवस्थापन समितिको सक्रियता बढ्दै गएको प्रअ विकको भनाइ छ ।
८६ जना भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयमा मंसिर १ देखि स्थानीय उत्पादन अभिभावकले उपलब्ध गराएर विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गरिएको विद्यालयका व्यवस्थाप समितिका अध्यक्ष जितमान गौचनले बताए ।
२०१९ जुन ३० मा सम्पन्न यो कार्यक्तमको समीक्षा बागलुङमा भएको थियो । म्याग्दी, बागलुङ र पर्वतका इजीआरपी लागू भएको विद्यालयका विद्यार्थीहरूबीच शब्दखेल प्रतियोगितामा जनआवाज आधारभूत विद्यालयका प्रदिप राम्जाली प्रथम भए ।
“यो कार्यक्रम सम्पन्न भए पनि निरन्तरताका लागि अक्षकोष स्थापना सुरु गरेका छौं । पुरस्कार २० हजारसहित ७० हजार अक्षकोषमा जम्मा भएको छ । यसलाई बढाएर आवश्यक पूर्वाधार थप शिक्षणलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि गुणस्तर शिक्षा विकासका लागि अक्षकोषको रकम प्रयोग गर्छौं,” अध्यक्ष गौचनले भने ।
यो कार्यक्रम प्रभावकारी कार्यान्वयन भएको विद्यालयमा विद्यालयको वातावरण परिवर्तन, विद्यार्थीलाई विद्यालय आउने रुचिको विकास र शिक्षक, व्यवस्थापन समिति र अभिभावक सक्रियता बनेको प्रअ सुनबहादुर विकले बताए । यस्तै कार्यक्रम बेनी नगरपालिका–४ सिंगामा रहेको सरस्वती मावि, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा रहेको मण्डली आधारभूत विद्यालय लगायतका विद्यालयमा लागू भएको थियो
सरकारी विद्यालयको प्रारम्भिक कक्षाको शिक्षण पद्धति र विद्यार्थीलाई लेखन तथा पढ्नेमा शुद्धता विकासका लागि कार्यक्रम निश्चित अवधि संचालन गरिएको थियो । यसको महत्वप्रति विद्यालयका शिक्षक, व्यवस्थापन समिति, अभिभावक र समदुायको निगरानी कम देखिएको छ ।
समन्वय इकाई प्रमुख दलबहादुर थापाका अनुसार ३ वर्षको कार्यक्रम सुरु भएर सम्पन्न भए पनि केही विद्यालयले यसलाई निरन्तरता दिएका छन् । विद्यार्थीको सामाजिक, शैक्षिक, गणितिय ज्ञान र घर विद्यालय तथा समुदायको प्रारम्भिक सिकाई तथा पढाइ वातावरण्को लागि २५ विद्यालयमा प्रारम्भिक सिकाइ तथा पढाइ कार्यक्रम लागू गरिएको थियो ।
सामुदायिक विद्यालयको बालबालिकाको पठन सीप विकासका लागि गरिएको कार्यक्रममा दिगोपना प्रमुख चुनौती रहेको छ । त्यस्तै नियमित अनुगमनको समस्या, स्थानीय तह जिम्मेवार कम, सिकेको सीपमा पुनर्ताजकिरणको अभाव, सामग्री उपयोगितामा ह्रास, तालिम लिएका शिक्षकलाई निरन्तरताको अभाव, पूर्व अवस्थामा फर्कने अवस्था, विद्यार्थीको अभाव, समुदाय निजी विद्यालयमा आकर्षित र प्रविधिसँग पुराना शिक्षकलाई चुनौती देखिन्छ । प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन र दिगोपन बनाउनका लागि स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ ।