सागर परियार
मंगलबार, आश्विन १४, २०७६
514

शिक्षिकादेखि किशोरी देवताको त्रासमा

महिनावारीको डर घरभन्दा बढी विद्यालयमा छ भने शिक्षिकादेखि किशोरी नै महिनावारीका बेला देवता रिसाउने डरले विद्यालय आउँदैनन् ।

जुम्ला-तातोपानी गाउँपालिकाल–८ बारागाउँकी १८ वर्षीय मुगा रावत कक्षा ७ मा अध्ययन गर्छिन् । गाउँकै जनजागृत आधारभूत विद्यालयमा पढ्ने मुगा रावत असोज ५ गते महिनावारी भएकी रहिछन् । रिर्पोटिङको शिलशिलामा उक्त विद्यालयमा पुग्दा मुगा रावतलगायत करिब ८ जना विद्यार्थी विद्यालयको गेट नजिकको कुनामा बसेका थिए ।
त्यसमा छात्रा ४ जना थिए भने बाँकी छात्र थिए । भित्र किन नगएको प्रचण्ड गर्मीमा बाहिर बसेर किन पढिरहेको ? भन्ने प्रश्नमा, मुगा रावतले महिनावारी भएकी छु, कक्षाभित्र जाँदैन्, देवता रिसाउँछन्, विद्या हराउँछ, बिरामी पर्छु, त्यसैले स्कुलको गेट छेउभन्दा भित्र जाँदैन लगायतका कुरा सुनाइन् । महिनावारी भएको कम्तीमा पाँचदिन नहुन्जेल कक्षाभित्र छिर्दैन उनले भनिन् ।
मुगासँगै खुलाचौरको टन्टलापुर घाममा बसिरहेका हासकुरा रावत, अनिसा रावत र अन्जली रावतले पनि आफूहरू महिनावारी हुँदा कतिपय अवस्थामा विद्यालय नआउने र आए पनि कक्षामा नछिर्ने बताइन् । हासकुरा रावतका अनुसार कति पटक त बाहिर बसेको बेला पानी पेरेर बीचमै पढाइ छोडी घर जानुपरेको छ । सातादिनभित्र कुनै न कुनै एकजना छात्रा महिनावारी हुन्छन्, महिनावारी भएर विद्यालय आएपछि गेटभन्दा पर जाँदैनन्, साथी एक्लै बाहिर बसेको देख्दा सबै विद्यार्थी चौरमै बसेर पढ्छन् ।
विद्यालय परिसरमै विभिन्न देवताका मन्दिर छन् । दुई वर्ष पहिला महिनावारी भएर स्कुल आउने छात्राहरू (रेश्मा रावत, पदमकली रावत र रिसिमा रावत) बिरामी हुँदा धामी झाँक्रीले विद्यालयमा महिनावारी हुँदा (जुठोपिठो) भई देवता रिसाएको भनेपछि त्यहाँका किशोरीहरू मानसिक रूपमै छाउपढी प्रथाको शिकार भइरहेका छन् ।

शिक्षिका नै कक्षामा छिर्दैनन्
छाउपढी प्रथा एक अन्धविश्वास होे । गोठमा बस्नु हुँदैन, महिनावारी भए पनि विद्यालय छुटाउनु हँुदैन, सरसफाइमा ध्यान दिए देवता रिसाउँदैनन् भनेर दैनिक कक्षामा पढाउने शिक्षिका नै महिनावारी हुँदा विद्यालय जाँदैनन् भन्ने सुन्दा अचम्म लाग्नसक्छ । तर यो जुम्लाको सत्य घटना हो ।
तातोपानी–८ बारागाउँमा रहेको जनजागृती आधारभूत विद्यालयमा ४ जना शिक्षिका छन् । त्यसमा निमित्त प्रधानाध्यापक रहेकी ज्ञानकुमारी शाही महिनावारी हुँदा कक्षा कोठामा छिर्दिनन् । एकपटक बिरामी हुँदा उनलाई पनि धामीले महिनावारी हुँदा विद्यालयमै गएकाले देवता रिसाएका हुन् अब त्यसो नगर्नु भनेका रहेछन्् । त्यसैदिनदेखि ज्ञानकुमारी शाही मात्र हैन, त्यस विद्यालय पढाउने तिरुवा चलाउने, गरिमा चलाउने र दिपा रावत पनि महिनावारी हुँदा कक्षामा पढाउन जाँदैनन् ।
शिक्षिकाहरू नै देवताको त्रासले कक्षामा छिर्दैनन् भने, किशोरीहरू कसरी कक्षामा जाउनु । निमित्त प्रअ ज्ञानकुमारी खत्रीले भनिन्, “कसैले गल्तीले पनि महिनावारी हुँदा कक्षा कोठामा भएपछि, तत्तकाल (खुट्टा नचल्ने, बोली नआउने, पैतला फर्किने, हातगोडा खुम्चने) समस्या प्रत्यक्ष देखेका छौं ।” कसरी पढाउने निकै समस्या भएको उनको भनाइ छ । वर्षभरि खुल्ने २ सय २० विद्यालको अवधिमा शिक्षिका र किशोरीहरू ९९ प्रतिशत दिन बाहिरै बस्छन् भने कतिपय विद्यालय नआउने गरेको पाइएको छ ।

पाँच दिनसम्म विद्यालय नछिर्ने
पहिला महिनावारी हुँदा सात दिनसम्म गोठमै बस्थे । जसले गर्दा संक्रमणको खतरामा महिलाहरू हुन्थे । पछिल्लो समय चेतनाको विकास हँुदै गएको पाइन्छ भने सरकारी तथा गैरसरकारी निकायले छाउपढी न्यूनीकरण गर्न करोडौं बजेट खर्च पनि गरेका छन् । तर जनजागृति विद्यालयमा पढ्ने किशोरी र पढाउने शिक्षिकाको मानसिकता बदल्न कसैको कार्यक्रम नसक्दा विद्यालयमै पाँच दिनसम्म महिनावारी बार्ने चलन छ ।
जुन नेपालकै पहिलो इतिहास पनि हो । विद्यालयमा छाउपढी प्रथा कायम छ । अझ घरमा बस्न सजिलो विद्यालय आउन निकै असहज भएको छ । घरमा २÷३ दिनभित्र छिर्ने शिक्षिका तथा किशोरीहरू विद्यालयको कक्षा कोठामा पाँच दिन नभएसम्म छिदैनन् । निमित्त प्रअ ज्ञानकुमारी खत्रीले भनिन्, “जति गरे पनि देवताकै क्रास छ, विद्यालयभन्दा घर सजिलो हुन थालेको छ ।” सबै मिलेर विद्यालय सार्नुको विकल्प नरहेको उनको भनाई छ ।

मनोसामाजिक समस्यामा किशोरी
पढाउने शिक्षिका नै महिनावारी हुँदा विद्यालय नआउने आए पनि गेटबाट कक्षामा नर्छिने यस्तो समस्या दशकौंदेखि देख्दा यहाँका किशोरीहरूको मानसिकता नै दलिएको छ । कतै लड्दा, अलि पेट टाउको दुख्दा ज्वरो आउँदा पनि डाक्टर कहाँ भन्दा पहिले धामीलाई देखाउने बानी बसेको छ ।
जसले गर्दा छाउपढी प्रथाले विकराल रूप लिँदै पठनपाठनमा समेत प्रभाव पारेको स्थानीय बताउँछन् । जनजागृति विद्यालयमा करिब ३ सयजना विद्यार्थी छन् । जसमा छात्राको संख्या १ सय ६ जना छन् । शिक्षक सन्तवीर रावतका अनुसार जम्मा छात्रामध्ये ८० प्रतिशत महिनावारी हुन्छन् । प्रत्येक दिन कोही नआउने र आए पनि कक्षामा नपढ्ने भएकोले पठनपाठन वर्षौंदेखि प्रभावित हँुदै आएको रावतले बताए । किशोरीहरू मानसिक रूपमै परिवर्तन भएकाले जति सम्झाए पनि सम्भव नभएको शिक्षकहरू बताउँछन् ।

विद्यालय सार्नुको विकल्प छैन
२०५१ सालमा स्थापना भएको जनजागृति विद्यालयमा छाउपडी प्रथाको अवस्था विकराल हँुदै गएपछि त्यहाँका स्थानीय मन्दिरभन्दा विद्यालय सार्नुको विकल्प नरहेको बताउँछन् । मन्दिर सारेको खण्डमा गाउँलाई नै अनिष्ट हुन्छ, धेरै बिग्रिसकेका छन् । महादेव देवताका मूल धामी शेरबहादुर रावतले भने, “मन्दिर कुनै हालतमा सर्दैन, विद्यालय सार्नुपर्छ ।”
जति पनि बिरामी भएका शिक्षिका तथा किशोरी उनै मूल धामी शेरबहादुर रावतले हेराएका हुन् । धामी रावतले नै सबै बिरामीलाई विद्यालयमा छुईछुतो हुँदा देवता रिसाएको भन्दै बिरामी ठीक गरेको पनि शिक्षकहरूले बताए ।
लाखौंमा निर्माण गरिएका संरचना भत्काएर अन्यत्र सार्न सम्भव छैन्, नसारौ दैनिक विद्यार्थी नआउने समस्या छ । यता तातोपानीका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरिका अनुसार अन्धविश्वासलाई आत्मसाथ गर्दै पढाइमा बाधा पु¥याउनु गलत हो । समुदायस्तरमा अझै चेतनाको अभाव रहेछ भन्ने स्पष्ट पारेको उनको भनाइ छ ।
जुम्लाका १७ बस्ती छाउगोठ मुक्त गाउँ घोषणा भइसकेका छन् । महिनावारी हुँदा गोठ बस्नु हुँदैन, स्वास्थ्य जोखिममा पर्छ भन्ने हामी सबैमा अवगत नै छ । सामाजिक अन्धविश्वास जालोलाई विद्यालयमै कायम रहेको देख्दा परिवर्तन हेर्न शताब्दी कुर्नुपर्ने आभास भएको छ ।