सागर परियार
आइतवार, आश्विन १२, २०७६
926

 
बालमैत्री पढाइको प्रभाव


जुम्लाको पूर्व पातारासी गाउँपालिका–६ विकट बस्ती बातामा अवस्थित गौरी आधारभूत विद्यालय दुर्गमका विद्यालयमध्ये नमुना विद्यालयको सूचीमा पर्छ । नमुना विद्यालयका करिब ४५ वटा सूचक छन् । तीमध्ये गौरी आधारभूत विद्यालयले ८० प्रतिशत नमुना विद्यालयका सूचक पूरा गरेको पाइएको छ ।
खासमा नमुना विद्यालय भन्नेबित्तिकै सफा चर्पि, सफा कोठा, चिटिक्क परेका विद्यार्थी, पक्की भवन हेर्छौं । यी मात्र नमुना विद्यालयका सूचक हैनन् । बालबालिको पढाइको अवस्था तथा शैक्षिक गुणस्तर पनि महत्वपूर्ण हुन् । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बालबालिकाको सिकाइ वृद्धि र शैक्षिक गुणस्तर हो । अनिवार्य र निःशुल्क शिक्षा, दक्ष जनशक्ति जन्माउने लक्ष्यका साथ सरकारी तथा गैरसरकारी निकायको अर्बौं बजेट शिक्षामा लगानी भएको छ ।
तर, विद्यालयको बनावटमात्रै आकर्षक तर बालबालिकाको शैक्षिक गुणस्तरको अवस्था खस्किँदो छ भने त्यसलाई नमुना विद्यालय भन्न मिल्दैन । जिसस उपप्रमुख कार्मा बुढा गौरी आधारभूत विद्यालयमा पुग्दा बालबालिकाको सक्रियता, सिकाइ वृद्धि, शिक्षकको क्रियाशलिता देख्दा जोश र जाँगर भएको खण्डमा शैक्षिक क्षेत्रमा केही गर्न खोज्नेलाई भौगोलिक विकटताले बाधा नपु¥याउने स्पष्ट पारेको छ ।
जसका कारण सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको अवस्थामा जिल्लाकै नमुनाका रुपमा गौरी आधारभूत विद्यालय आफ्नो गुणस्तर देखाउँदै निजी विद्यालबाट विद्यार्थी तान्न सफल भएको छ ।
करिब २ सय घरधुरी बाता गाउँमा छन् । एक वर्ष पहिले मात्रै गौरी आधारभूत विद्यालयमा विद्यार्थी शून्य थिए । तर एक वर्षमै गरिएको मेहनतले निजी विद्यालयलाई सुकाउँदै सामुदायिक विद्यालयमा भरिभराउ विद्यार्थी छन् । हाल करिब साढे २ सय विद्यार्थी छन् । निजी विद्यालय छोडेर मात्रै यस वर्ष ६० जना बालबालिका आएको तथ्यांक छ । नर्सरीदेखि कक्षा ६ सम्म पढाइने गौरी आधारभूत विद्यालय दुर्गममा भए पनि शिक्षा सुगमका विद्यालयस्तरकै दिएको छ । शतप्रतिशत बालबालिकामा आधारित सिकाइका क्रियाकलापलाई प्राथमिकता दिइएको प्रधानाध्यापक तुलसिंह बोहोराले बताए । उनले भने, “निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न सामुदायिक विद्यालयलाई सहज छैन ।”
पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदो भएकै कारण अभिभावकको विश्वास गुम्दै गएको अवस्थामा निजी विद्यालयलाई सुकाउनु हाम्रो नभई सरकारको सफलता भएको पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताइन् । गाउँपालिका स्तरीय नमुना विद्यालय छनौटमा गौरी आधारभूत विद्यालय प्राथामिकतामा रहेको उनले उल्लेख गरिन् ।
न्यून दरबन्दीका बीच पनि ४ जना निजी र ४ दरबन्दी शिक्षकहरुले नमुना विद्यालय बनाउन सफल भएकोले गाउँपालिकाले सम्मान गर्ने पनि उनले बताइन् । जिसस उपप्रमुखसहित दुई दिन गरिएको अनुगमनमा जुम्लाको तातोपानी गाउँपालिका २ स्थित सुन्दरमणि विद्यालय, भवानी विद्यालय, कालिका आधारभूत विद्यालयमध्ये पातारासीको गौरी आधार विद्यालयको शैक्षिक, भौतिक अवस्था निकै मजबुद पाइएको हो ।
भौतिक हिसाबमा पुराना जीर्ण भवन भए पनि सजावट, व्यवस्थापन पनि नमुना छ गौरी । विद्यालय गएपछि फर्किन मन नलाग्ने वातावरण छ । सक्रिय अभिभावक, जिम्मेवार शिक्षक र अनुशासित तथा मेहनती विद्यार्थीको नमुना उदाहरण पनि दुर्गमको बाता स्कुलले दिएको जिसस उपप्रमुख कार्मा बुढाले बताए । उनका अनुसार अन्य विद्यालयको भम्रण केन्द्रका रुपमा गौरी आधारभूत विद्यालयलाई लिन सकिन्छ ।

६० जनाले छोडे निजी स्कुल
गौरी आधारभूत विद्यालय छोडेरै गाउँ नजिकैको निजी विद्यालय जाने करिब ६० जना बालबालिका अहिले सामुदायिक विद्यालयमा आएका छन् । विद्यालयको शैक्षिक गुणस्तरदेखि हरेक कुुराममा अभिभावक तथा बालबालिकाको मन जितेपछि विभिन्न निजी विद्यालय छोडेर ६० जना बालबालिका सामुदायिक स्कुलमा आएको गौरी आधारभूत विद्यालयका प्रअ तुलसिंह बोहोराले बताए । निजी विद्यालय छोडेर सरकारीमा आउने वातावरण बनाउन किर्डाक नामक संस्थाको आर्थिक, भौतिक सहयोग ठूलो छ ।
पहिला अभिभावकहरु पनि निजीमै पठाउँथे, तर अहिले भर्ना भएका छोराछोरी पनि निजीबाट सामुदायिकमा ल्याउने तयारी थालेका छन् । स्थानीय हर्ष बोहोराका अनुसार किर्डाकको कार्यक्रम संचालन भएपछि बालमैत्री पठन सुरु भयो, जसले गर्दा बालबालिकाको सिकाई वृद्धि निजीभन्दा सामुदायिक विद्यालयमा राम्रो देखियो । त्यसैले आफूले दुई बच्चालाई निजीबाट सामुदायिक विद्यालयमा भर्ना गराएको बताए । हर्षजस्तै बाता गाउँका सयौंले स्थानीय विद्यालयको सबै पक्षलाई नियालेर निजीबाट धमाधम सामुदायिक विद्यालयमा बालबालिका भर्ना गरेका छन् ।

आफैँ हाजिर लगाउँछन् विद्यार्थी
शिक्षकले विद्यार्थीको हाजिर लगाउनु कुनै नौलो कुरा होइन । शिक्षकको दैनिक कार्य नै हो यो । अझ हप्ता दिन नआएर एकदिनमै सबै दिनको हाजिर गर्ने प्रवृत्ति शिक्षकहरुमा छ । पछिल्लो समय डिजिटल हाजिरीले महिना दिनको एकमुष्ट हाजिरी गरी तलब खाने शिक्षकलाई निरुत्साहित गरेको छ । तर जुम्लाकै एक नमुना विद्यालय जहाँ विद्यार्थी आफ्नो हाजिर आफंै लगाउँछन् । शिक्षकलाई झन्झटै छैन । कक्षामा कति विद्यार्थी आए भन्ने शिक्षकलाई भन्दा विद्यार्थीलाई थाहा हुन्छ ।
गौरी आधारभूत विद्यालयमा नामसहितका बाकसवाला हाजिर बनाइएको छ । त्यसलाई भित्तामा टाँसिन्छ । आएका विद्यार्थीको नाम हरियो कार्डमा टाँस्ने र नआएका विद्यार्थीको रातो कार्डमा नाम टाँसिन्छ । जसले गर्दा सजिलै थाहा हुन्छ नआएको विद्यार्थी । बक्सवाला हाजिरीको प्रक्रिया बुझेपछि बालबालिका निकै रमाइलोका साथ हाजिर गर्छन् ।
खेल, कथा, गीतका माध्यमबाट बालबालिकालाई पढाइने भएकोले पनि बालबालिकाको आकर्षण बढ्दो छ । प्रअ तुलसिंह बोहोराले भने, “किर्डाक नेपालबाट शिक्षकको क्षमता विकास तालिम पाएपछि निकै राहत भएको छ । बालबालिकाले आफैँ हाजिर लगाउन सिक्ने खालको सृजनात्मक शिक्षण विधि किर्डाकले नै सिकाएको हो । जुन बालबालिकामा निकै लोकप्रिय छ ।”
मैत्रीपूर्ण शौचालयदेखि खानेपानी धारा, बसाइ व्यवस्थापनका लागि टेबुल, कथा किताब, बुक कर्नर, कार्पेट, पिपि फर्म सबै दिएपछि बालबालिकालाई आकर्षण गर्न र विद्यालय सुधारमा टेवा पुगेको छ ।

८० प्रतिशत सूचक पूरा
जुम्लाका १५ वटा विद्यालयले नमुना विद्यालयका लागि करिब ८० प्रतिशत सूचक पूरा गरेको पाइएको छ । किर्डाकको शिक्षा परियोजना लागू भएको तिला, तातोपानी र पातारासीका १५ विद्यालयमा नमुना विद्यालयका ४५ वटा सूचकमध्ये करिब ८० प्रतिशत पूरा भएका छन् ।
मैत्रीपूर्ण शौचालय, धारा, बसाइ व्यवस्थापन, सिकाइ वृद्धि, बुक कनर, लाइब्रेरी, प्रशस्त खेलमैदान, शैक्षिक सामग्रीको प्रयोग गरी पढाएको, छापामय कक्षा कोठा, नियमित अतिरिक्त क्रियाकलाप भएको, शिक्षक विद्यार्थी नियमित आउने, २ सय २० दिन अनिवार्य विद्यालयको खुलेको हुनुपर्ने लगायतका ४५ वटा नमुना विद्यालयका सूचक छन् । जुम्लाका १५ विद्यालयले ८० प्रतिशत सूचक पूरा गरेको परियोजना संयोजक दिपराज रावतले बताए ।