कृञ्जला पुलामी
मंगलबार, भदौ २४, २०७६
649

सिन्धुली प्राविधिक प्रशिक्षण केन्द्रका विद्यार्थीसँग नियमविपरीत पैसा लिएको खुलासा भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त केन्द्रले विद्यार्थीसँग तोकिएको भन्दा धेरै पैसा लिएको खुलेको हो ।
केन्द्रमा अनमी पढिराखेका प्रत्येक विद्यार्थीबाट ४० हजार रुपैयाँका दरले बढी पैसा लिएको विद्यार्थीले गुनासो गरेका छन् । त्यस्तै सीएमए पढ्ने विद्यार्थीबाट ३२ हजार रुपैयाँ बढी रकम लिएको उनीहरूले बताएका छन् । “भर्ना गर्ने बेलै हामीलाई एक लाख ६० हजार रुपैयाँ लाग्छ भनिएको थियो,” अनमी पढ्दै गरेकी एक छात्राले भनिन्, “हामीलाई बढी पैसा लिएको भन्ने नै थाहा थिएन । एकदिन सीटीईभीटीको सरहरू स्कुलमा आउनु भएको थियो । उहाँहरूले पो एक लाख २० हजार रुपैयाँ शुल्क हो भनेपछि थाहा भयो बढी पैसा लिएको ।” तोकिएको शुल्कभन्दा ४० हजार रुपैयाँ बढी पैसा तिरिसकेका विद्यार्थीहरूले किन हामीसँग बढी पैसा लिइएको हो भनेर सोधखोज गर्दा केन्द्रले केही जवाफ नदिएको उनले बताइन् ।

विद्यार्थीहरूले बढी पैसा लिनुको कारण देखाउन माग गर्दै बुझाइएको पैसा फिर्ता गरिदिन क्याम्पस प्रशासनमा निवेदन दिएका छन् । “बढी पैसा माग्नुको कारण के हो भनेर निवेदनमा सोधेका छौं,” ती छात्राले भनिन, “हामीले बुझाएको पैसा फिर्ता गर्न अनुरोध गरेका छौँ ।” सीटीईभीटीले देशभरि आफूले सम्बन्धन दिएका शिक्षण संस्थामा अनमी पढ्न एक लाख २० हजार र सीएमएका लागि एक लाख आठ हजार रुपैयाँ शुल्क लिन पाउने नियम बनाएको भए पनि त्यसको अवज्ञा गर्दै अतिरिक्त पैसा लिएको हो । केन्द्रमा अनमी र सीएमएमा गरी ८० जना विद्यार्थी अध्ययनरत छन् ।
नयाँ भर्ना भएका विद्यार्थीलाई भने केन्द्रले नियमअनुसार नै शुल्क लिएको ति छात्राले बताइन् । उनले भनिन्, “हाम्रो ब्याचसँग मात्र बढी पैसा लिइएको हो । अहिले भर्ना भएकासँग त तोकिएअनुसार नै शुल्क लिएका रहेछन् । हामीलाई चाँहि किन बढी पैसा लिइएको हो अझैसम्म थाहा भएन ।”
अतिरिक्त पैसा लिएको कुरा नभन्न पनि केन्द्रले दबाब दिएको ति छात्राको भनाइ छ । “यो विषयमा अरुसँग कुरा नगर्न र गरेको थाहा पाएमा सर्टिफिकेट दिन्न भन्नुभएको छ,” उनले भनिन् ।
केन्द्र सञ्चालक समिति सदस्य अञ्जनी शर्माले भने अतिरिक्त पैसा विद्यार्थीबाट नमागेको दाबी गरे । “तोकिएभन्दा बढी पैसा मागेको छैन,” शर्माले भनिन्, “यो हामीमाथि लगाइएको आरोप हो, कसैको जालमात्रै हो ।” सञ्चालक समिति सदस्य शर्माले पैसा लिएको अस्वीकार गरे पनि केन्द्रका भ्वाइस प्रिन्सिपल मन्दिरा श्रेष्ठले भने विद्यार्थीसँग बढी पैसा लिएको स्वीकार गरिन् । तर बढी पैसा लिनुका कारण भने आफूलाई पनि जानकारी नभएको भन्दै पन्छिइन् ।
केन्द्रले लिएको अतिरिक्त पैसा फिर्ता गराइदिन माग गर्दै विद्यार्थीहरू भने जिल्ला प्रशासन कार्यालय पनि पुगेका थिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार केन्द्रले अतिरिक्त पैसा मागेको भन्दै केही दिनअघि विद्यार्थीले गुनासो गरेका थिए । “मौखिक जानकारी गराएर उहाँहरू जानुभयो । लिखित निवेदन दिनुपर्छ भनेको छु,” गौतमले भने, “लिखित निवेदन आएपछि अध्ययन गरेर कारबाहीको प्रक्रिया अघि बढाउन सजिलो हुन्छ । तर अहिलेसम्म निवेदन दिएको जानकारी आएको छैन ।”