कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
549

म्याग्दी-पढ्ने धोकोलाई उमेरले छेक्दैन भन्ने कुरालाई कक्षा ७ पढ्ने बेनी नगरपालिका–६ अर्थुङ्गेकी देवी आचार्यले प्रमाणित गरेकी छन् । २०७२ सालमा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय पढ्ने धोको भएका आमालाई प्रभावकारी बन्दै गएको छ । दैनिक १ घण्टा हिँड्दै सदरमुकाम बेनी ओर्लेर लिएको शिक्षाले सामाजिक काममा सहज भएको अनुभव सुनाउँछिन् उनी ।
दैनिक जीवन घाँसदाउरा र भान्सामा बिताएर शिक्षा के हो, भनेर थाहा नपाएका आमाहरू ५५, ५६ वर्षको उमेरमा दैनिक जीवनमा उच्चारण गर्दै आएका शब्दहरू नेपाली, अंग्रेजीमा लेख्दै पढ्दै र कम्प्युटर सिक्दै आएका छन् । ६० वर्षीय राधिका आचार्य कक्षा ५ मा अध्ययनरत छन् भने ५४ वर्षीय दिलमया पुन कक्षा ३ मा पढिरहेकी छन् । सानो हुँदा विद्यालय कस्तो हुन्छ र शिक्षा के हो बुझिएन । घाँसदाउरा गर्दागर्दै विवाह भयो, आफूले नपढे पनि उनीहरूलाई पढ भनेर गालि गरियो । तर अहिले पढ्न लागेपछि दैनिक लेख्ने र पढ्ने शब्दहरू लेख्न पढ्न सजिलो भएको उनीहरूको भनाइ छ । उनीहरूले शिक्षा लिनलाई उमेरले छेक्दैन । इच्छाशक्ति ठूलो भएपछि शिक्षाले परिवार र समाजमा सहजता सिर्जना गरेको अनुभव सुनाउँछन् ।

त्यस्तै रघुगंगगा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हुर्किएकी ५६ वर्षीय भुलु तिलिचा अहिले कक्षा ९ मा अध्ययनरत छन् । सानो हँुदा विद्यालय नगइकन बाआमालाई घासँदाउरा र भान्सामा काम गरेर खुसी बनाइयो । तर २०५३ सालमा सदरमुकाम बेनी आएपछि उनी विभिन्न संघसंस्थामा आबद्ध भुलु तिलिचालाई सदस्यमा शिक्षाले नेतृत्वमा पुग्न दिएन । शिक्षाको महत्व बुझ्दै पढाइलाई निरन्तरता बिहान घरको काम भ्याएर बच्चालाई स्कुल पठाएर ११ बजे स्कुलमा उपस्थित हुन्छिन् । कोही बच्चासँगै उपस्थित हुन्छन् । अनुशासनपूर्वक कक्षामा बस्छन् र आफ्ना छोराछोरीलाई जस्तै शिक्षक आएर पढाउँछन् । जे पढायो त्यही पढ्ने । दिएको गृहकार्य गरेर आउने गर्दछन् । पढ्न लेख्न बुढेसकालको दिमागले ढिलो हुँदोरहेछ त्यही पनि परिवार र शिक्षकको पे्ररणाले पढ्न मन लागेको अनुभव आमाहरूले सुनाउँछन् ।
दैनिक जीवन घासदाउँरा र भान्सामा बिताएर शिक्षा के हो भनेर थाहा नपाएका ५५, ५६ वर्षको उमेरका आमालाई प्रभावकारी बन्दै गएको छ । दैनिक जीवनमा उच्चारण गर्दै आएका शब्दहरू अंगे्रजी, नेपालीमा लेख्दै पढ्दै र कम्प्युटर सिक्दै आएका छन् । विभिन्न कारणले भविष्यलाई सहज बनाउने शिक्षा लिनबाट वञ्चित भएका १४ वर्षदेखि ६० वर्षसम्म उमेरलाई लक्षित गरेर २०७२ साल उज्यालो वैकल्पिक विद्यालय सञ्चालन गरिएको थियो । १ देखि ९ कक्षा सञ्चालन भएको स्कुलमा हाल ६० जना भर्ना भएका छन् । कक्षा १, ३, ५, ७, ८ र ९ कक्षा सञ्चालन भएका छन् । कक्षा ५ देखि माथि पढ्दै गरेका आमाहरूका लागि कम्प्युटर शिक्षा थप गरिएको छ । उनीहरूका लागि ६ वटा कम्प्युटर छन् । शिक्षकहरूले जीवनमा पढेरभन्दा परेर सिकेका अनुभवी आमालाई पढाउँदा समाजसेवा गरेको अनुभव हुने विद्यालयकी सहजकर्ता रिता गर्बुजाले बताइन् । पुरानो ठाउँबाट सरकारी भवनमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १७ लाख सहयोग कक्षा ब्यवस्थापन, कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालय लगायतका पूर्वाधार थप गरिएको सहजकर्ताले बताइन् ।
यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाउन ८ जना शिक्षक छन् । शिक्षकको तलबका लागि बेनी नगरपालिका, शिक्षा समन्वय इकाई र विभिन्न संघसंस्था सहयोगले चलाइराखेको विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए । उनीहरूलाई पूर्णरूपमा भौतिक ब्यवस्थापन गरेर गुणस्तर शिक्षा दिन लागेको बताए । संघीय संरचनाअनुसार स्थानीयस्तरमा विभिन्न संघसंस्था तथा संगठन पुगिरहेका छन् । स्थानीयस्तरमा महिलालाई सामाजिक उत्तरदायित्व सहज बनाउनका लागि यस्तो विद्यालय खोल्न आवश्यक देखिन्छ ।

धिरन खत्री