कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
225

वीरगन्ज राउन्ड टेबल ३ नेपालको सहयोगमा निर्माण गरिएको विद्यालय भवनको उदघाटन पछि व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
वीरगन्ज महानगरपालिका परिवानीपुरस्थित पशुपति शिक्षा मन्दिर विद्यालयाको नवनिर्मित भवनको आइतबार प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले विद्यालयको उदघाटनपछि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । फ्रिडम थ्रु एजुकेसन (शिक्षामार्फत स्वतन्त्रता) वीरगन्ज राउन्ड टेबल ३ नेपालको दीर्घकालीन परियोजनाअन्तर्गत विद्यालयको भवन निर्माण गरिएको हो । भवन उदघाटनपछि वीरगन्ज राउन्ड टेबल ३ का अध्यक्ष निखिल चाचानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश महतोलाई हस्तान्तरण गरिएको हो । ९५ लाख रुपैयाँको लागतमा ६ कोठे विद्यालय भवन ७ महिनामा निर्माण गरिएको वीरगन्ज राउन्ड टेबल ३ का अध्यक्ष निखिल चाचनले बताए ।
वीरगन्ज राउन्ड टेबल ३ ले यसअघि वीरगन्जमा आदर्शनगरस्थित बाल मन्दिर, वीरगन्ज राउन्ड टेबल स्कुल, गीता गजेन्द्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुखचैना, सुन्दरीयामाई प्रावि लक्ष्मणुवालगायतका विद्यालय भवन निर्माण गरेको छ । राउन्ड टेबल नेपालले शिक्षाबाट वञ्चित बालबालिकाका लागि फ्रिडम थ्रु एजुकेसन परियोजनामार्फत शिक्षाको पहुँच बढाउने अभियान चलाएको राष्ट्रिय अध्यक्ष सौरभ केडियाले जानकारी दिए । परियोजनामार्फत देशभर ४७ वटा विद्यालयका लागि ३ सय २२ वटा कक्षा कोठा निर्माण गरिएको उनले बताए । यसबाट २० हजारभन्दा बढी विद्यार्थीले शिक्षाको लाभ लिइरहेको दाबी राउन्ड टेबल नेपालको छ ।