अमरराज आचार्य
आइतवार, भदौ २२, २०७६
535

दाङ - जिल्लाका सामुदायिक क्याम्पसहरू विद्यार्थीको शुल्कको भरमा सञ्चालन हुने गरेका छन् । सामुदायिक क्याम्पसको अन्य आम्दानीको स्रोत नहुँदा विद्यार्थीबाट उठाउने शुल्कमा निर्भर रहनुपर्ने बाध्यता रहेको क्याम्पसहरूले बताएका छन् । यसकारण पनि जिल्लामा सामुदायिक क्याम्पसहरू खुल्ने तथा बन्द हुने गरेका छन् ।
देखुरीमा रहेको देउखुरी बहुमुखी क्याम्पसले विद्यार्थीले तिर्ने शुल्कले क्याम्पस सञ्चालन भएको जनाएको छ । क्याम्पसको अन्य आम्दानीको स्रोत नहुँदा शुल्कमा नै निर्भर हुनुपर्ने बाध्यता रहेको क्याम्पसका प्रमुख शेरबहादुर गिरीले जानकारी दिए ।

विद्यार्थीको आफ्नो जग्गा समेत छैन । साविक नगरविकास समितिको स्वामित्वमा रहेको जग्गामा क्याम्पस सञ्चालन गरिएको छ । क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरी २०६२ सालमा स्थापना गरिएको थियो । क्याम्पसमा अहिले ८ सय ९८ जना विद्यार्थीहरूले अध्ययन गर्ने गरेको प्रमुख गिरीले बताए । क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायको डिग्रीसम्म पढाइ हुने गरेको छ । क्याम्पसमा पूर्णकालिन, पार्ट टाइम, करार गरी २८ जना शिक्षक छन् । क्याम्पसमा तलबमा मात्र मासिक साढे ११ लाख खर्च हुने गरेको छ । वार्षिक तलब वृद्धि हुँदै जानु तर शुल्क वृद्धि नहँुदा समस्या हुने गरेको विद्यायलये जनाएको छ । क्याम्पसको भवन निर्माणका लागि समुदायले महायज्ञ लगाएरको थियो । महायज्ञबाट उठेको रकमले क्याम्पसको भवन निर्माण गरिएको क्याम्पस प्रमुख गिरी बताउँछन् । अहिले क्याम्पसको ३ तले भवन रहेको छ । तर क्याम्पसको लागि आवश्यक मात्रमा भवन पुग्न नसकेको क्याम्पसले जनाएको छ । कोठाको अभावको कारण क्याम्पसमा व्यवस्र्थी पुस्तकालय, व्यवस्थित अन्य प्रयोगशाला निर्माण गर्न नसकिएको क्याम्पसले जनाएको छ । क्याम्पसको भौतिक पुर्वाधारका लागि प्रदेश सरकार, अनुदान आयोगबाट रकम दिने गरेको प्रमुख गिरीले बताए ।
पछिल्लो समय प्राविधिक शिक्षाले पनि सामुदायिक क्याम्पसहरूमा विद्यार्थीहरूको संख्या घट्दै गएको क्याम्पसहरूले जनाएका छन् । निजी विद्यालयहरूले पनि सामुदायिक विद्यालयहरूलाई समस्या बढाउँदै गएको बताइएको छ ।
उता तुलसीपरमा रहेको राप्ती बबई क्याम्पसले पनि विद्यार्थीको शुल्कमा नै क्याम्पस सञ्चालन भएको जनाएको छ । क्याम्पसका प्रमुख युवराज रावतले विद्यार्थीबाट लिइने शुल्कबाट नै क्याम्पस सञ्चालन भएको जानकारी दिए । “स्थानिय सरकारबाट झिनो मात्रामा सहयोग हुने गरेको छ,” प्रमुख रावतले भने । विद्यालयको अन्य आम्दानीको स्रोत पनि रहेको छैन । प्रदेश सरकार तथा अनुदान आयोगवाट केही सहयोग आउने गरेको उनको भनाइ रहेको छ । क्याम्पस सरकारी जग्गामा निर्माण गरिएको छ । क्याम्पसमा अहिले २ हजार ५ सय विद्यार्थीहरू रहेका छन् । क्याम्पसमा बिहानी, दिउँसो र सन्ध्याकालिन कक्षा सञ्चालन हुने गरेको छ । क्याम्पस २०४७ सालमा स्थापना भएको हो ।
जिल्लामा सञ्चालन भएका सामुदायिक क्याम्पसहरूको समस्या अवस्था उस्तै रहेको छ । यसका लागि राज्यको तर्फबाट सहयोग आवश्यक रहेको छ । जिल्लामा सञ्चालनमा आएका कतिपय सामुदायिक क्याम्पसहरू विभिन्न कारणले बन्दसमेत भएका छन् ।