सागर परियार
आइतवार, भदौ २२, २०७६
1312

जुम्ला- त्रिभुवन विश्वविद्यालयबाट २०६७ सालमा सम्बन्धन प्राप्त गरी दुर्गममा उच्च शिक्षा प्रदान गर्न सामुदायिक सिंजा बहुमुखी क्याम्पसले योगदान दिँदै आएको छ । सामुदायिक क्याम्पसका रुपमा एक दशकदेखि अध्ययन अध्यापनको काम गर्दै आएको यस क्याम्पसमा स्रोत अभावकै कारण शैक्षिक गुणस्तर कायम गर्न निकै मुस्किल भएको देखिन्छ ।
त्यतिबेला उच्च शिक्षाका लागि दुर्गममै क्याम्पस संचालन हुँदा सिंजावासीलाई खुशी मात्र बनाएको थिएन, उच्च शिक्षा प्राप्तिका लागि महँगोमा काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्ति पनि दिलाएको थियो । तर, २०६७ सालदेखि शिक्षाशास्त्र शंकाय र व्यवस्थापन संकायमा स्नातकोत्तर पढाइ संचालन गरिरहेको सिंजा सामुदायिक क्याम्पसले स्रोत अभावले दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन ।

क्याम्पस प्रमुख तिर्थ नेपाल भन्छन्, “२०६९ सालबाट तीन वर्षे बिएड संचालन ग-यौं । समुदायबाट संचालन भएको शुरुका वर्षमा वार्षिक २ हजार शिक्षण शुल्क उठाएर पढाइ शुरु गर्दा आर्थिक संकट आइलाग्यो । जुन अहिले पनि यथावतै छ । स्रोत अभावले बाहिरबाट आउने दक्ष शिक्षक टिकाउन गाह्रो छ । भएका शिक्षकलाई नियमित तलब खुवाउन मुस्किल, पुस्तकालय व्यवस्थापनमा समस्या, विद्यार्थीको अत्तिरिक्त क्रियाकलापमा बाधा लगायतका समस्याले गर्दा यहाँको शैक्षिक गुणस्तर निकैै खस्किँदो अवस्थामा छ ।”
नेपाल थप्छन्, “हामी सुतेका भने पटक्कै छैनौं । केहि वर्ष क्याम्पस व्यवस्थापनै बिते । तर अबको लक्ष्य शैक्षिक गुणस्तर, टिकाउ, बिकाउ र सिकाउ जनशक्ति उत्पादनको छ । शुरुका वर्षमा राम्रो भएपनि समय बित्दै जाँदा विद्यार्थी संख्या बढ्यो, शिक्षक बढे । तर समुदायको खर्चले धान्न सकेन । स्थानीय सरकार आएपछि पनि केहि आशा पलाएको थियो । तर माग र आवश्यकता अनुसार लगानी हुन नसक्दा शैक्षिक गुणस्तर भन्दा क्याम्पसलाई कसरी जिउँदो राख्ने भन्ने नै मुख्य चुनौती छ ।”
मुख्य आयस्रोतकै रुपमा रहेको समुदाय र स्थानीय सरकार नै क्याम्पसको शैक्षिक गुणस्तर ल्याउने व्यवस्थापनमा बेखबर भएपछि निकै समस्या भइरहेको बताए । अहिले शिक्षा शास्त्र संकायमा १ सय ५० र व्यवस्थापन संकायमा ५० जना गरी २ सय जना विद्यार्थी अध्ययनरत छन् । बजेटका नाममा गत वर्ष र चालू आवमा गरी क्षेत्र नं. २ का सांसद पदम रोकायाले ३० लाख दिएका छन् भने सिंजा गाउँपालिकाले गत वर्ष ३९ लाख भौतिक संरचना निर्माणका लागि दिएको थियो । सिंजा बहुमुखी क्याम्पस विगतदेखि आफ्नै जगामा छ ।
“हाल भौतिक संरचना पर्याप्त छ । तर शैक्षिक गुणस्तरका सवालमा भने स्वभाविक रुपमा पछि छौं,” क्याम्पस प्रमुख नेपालले भने । अहिले सिंजा क्याम्पसमा १५ जना शिक्षक छन् । तीमध्ये १२ जना आशिंक र ३ जनामात्रै पूर्णकालिन रहेका छन् ।
पहिला उच्च शिक्षा पढ्न कालापहाड जानुपर्ने बाध्यता सिंजा क्याम्पसले हटाएको छ । शिक्षा समन्वय ईकाई प्रमुख मक्कर बुढाले भौतिक संरचनाको भव्यताले मात्रै शैक्षिक गुणस्तर कायम नहुने चेतना सरोकारवालाहरूमा नभएको बताए ।