कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
423

नेपालमा तीन किसिमका क्याम्पसहरू छन्– आंगिक, सामुदायिक र निजी । सम्बन्धित विश्वविद्यालयका आंगिक क्याम्पस, विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नाफा–घाटा समुदायले नै व्यहोर्ने सामुदायिक क्याम्पस र विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नाफा–घाटा सम्बन्धित सञ्चालकले व्यहोर्ने निजी क्याम्पस ।
कारोबारले यसपटक सामुदायिक क्याम्पसको चर्चा गर्ने प्रयत्न गरेको छ । नेपालमा सहर, नगरदेखि ग्रामीण क्षेत्रमा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । चार दशकभन्दा धेरै समयदेखि सञ्चालनमा रहेका पुराना सामुदायिक क्याम्पस पनि सञ्चालनमा छन् । अधिकांश सामुदायिक क्याम्पसहरू त्रिविविबाट सम्बन्धन प्राप्त गरेको पाइन्छ । एक तथ्यांकअनुसार विश्वविद्यालयहरूबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूको संख्या ५३२ (विश्वविद्यालय अनुदान आयोग, २०१५-०१६) रहेको छ । जसमा त्रिविविअन्तर्गत ५२४, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ६ र नेपाल संस्कृत विश्वविद्यालयअन्र्तगत २ वटा छन् । यो संख्या बढोत्तरी भएको आयोगले बताएको छ ।

उसले नक्सांकन विना सामुदायिक क्याम्पसलाई सम्बन्धन दिएको आरोप पनि लाग्ने गरेको छ । ती क्याम्पसहरू नेपाल सरकारले लगानी गरेका सामुदायिक विद्यालयको जगमा समेत सञ्चालनमा छन् । ती क्याम्पसहरूमा सरकारले विद्यालय तहका विद्यार्थीको लागि उपलब्ध गराएको भौतिक पक्षहरूको प्रयोग गरिन्छ । खासगरी सामुदायिक विद्यालयहरूमा दश जोड दुई कक्षा सञ्चालनमा आएपछि र प्रधानाध्यपक र शिक्षकहरू स्नातकोत्तर तह उत्तीर्ण गर्नुपर्ने भएपछि सामुदायिक क्याम्पसहरूको विद्यालय तहबाट विस्तारित भई महाविद्यालयको पठनपाठन समेत गराउने अवस्थामा पुगेको देखिन्छ । कस्तो देखिएको छ भने विद्यालय नै महाविद्यालय भन्ने भ्रमपूर्ण अवस्था भैसकेको छ । ती विद्यालयको प्रधानाध्यापक र अध्यक्ष नै क्याम्पसका प्रमुख र अध्यक्ष पनि एकै व्यक्तिहरू समेत छन् । एउटै व्यवस्थापन र प्रशासनले विद्यालय तहदेखि उच्च शिक्षाको समेत प्रशासन र व्यवस्थापनको जिम्मा लिँदा न विद्यालय राम्रो, न क्याम्पस देखिएको छ । विद्यालयको स्थायी शिक्षक सामुदायिक क्याम्पसको प्रमुख हुन आचारसंहिताले पनि दिँदैन भने यसमा अख्तियार पनि आकर्षित हुन्छ । केही वर्ष विद्यालयमै कक्षा चलेपछि भने सामुदायिक क्याम्पसहरू अलगै भवन, व्यवस्थापन र प्रशासनसहित सञ्चालन पनि भएका छन् । कतिले सामुदायिक विद्यालयकै जग्गा चर्चेका पनि छन् ।
सामुदायिक विद्यालयको जगमा ग्रामीण तथा दूरदराजका वस्तीहरूमा सामुदायिक क्याम्पस खुल्दा खासगरी महिला (छोरी-बुहारी), गरिब, विपन्न, विभिन्न समस्याले उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट बञ्चित भएकाहरूको उच्च शिक्षाको मार्गप्रशस्त भएको छ । घरमै बसेर, कम शुल्कमा अध्ययन गर्ने फाइदा पुगे पनि स्थापनाताका रहेको विद्यार्थी संख्या पछिल्लो समय न्यून हुँदै जाँदा ती क्याम्पसहरू संकटग्रस्त बन्दै गएका पनि छन् । कतिपय त विद्यार्थी संख्याको अभाव र आर्थिक स्रोतको अभावका कारण बन्द भएका पनि छन् । शैक्षिक गुणस्तर र प्राज्ञिक उन्नयनको दृष्टिले पनि ती क्याम्पसहरू कमजोर छन् । तथापि, कतिपय चाहिँ अब्बल रहेका र साँच्चै नै ज्ञानको केन्द्र पनि बनेका छन् ।