कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६
425

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले शनिबार कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्यलगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता रहेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कोटेश्वरमा रहेको कोटेश्वर बहुुमुखी क्याम्पस सन् १९९० मा स्थापना भएको छ । गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक यस क्याम्पसले स्नातकतहमा व्यवस्थापन, शिक्षा तथा मानविकि संकाय र स्नातकोत्तर तहमा व्यवस्थापन संकायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त क्याम्पसले उच्च माध्यमिक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकी संकायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस क्याम्पसमा करिब ३,७०० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६०% छात्रा रहेका छन् ।
भारत सरकारको ४.५१ करोड रुपैंया अनुदान सहयोगमा निर्मित यस तीन तले नयाँ संरचनामा १८ वटा कक्षाकोठालगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्षरहेका छन् । साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विकासमा सहयोग गर्न पाएकोमा राजदुत सिंहले खुशी व्यक्त गरे ।