सागर परियार
बुधवार, भदौ १८, २०७६
667

जुम्ला-तातोपानी गाउँपालिका–२ की संगीता परियार पहिला स्कुल जानु त के किताब कापी पनि राम्रोसँग सम्हाल्थिनन् । उनका बुबा हर्केश दमाईं भन्छन्, “छोराछोरीलाई गाली गरेर धम्क्याएर लाग्ने रहेन छ । पढाइमा चनाखो बनाउन उनीहरूको इच्छा, चाहना रुचिअनुसारको वातावरण भए आफै पढ्ने लेख्ने गर्दा रहेछन्,” उनले भने ।
हर्केश दमाईंको भनाईको अर्थ पहिला स्कुल जाउभन्दा अटेरी गर्ने, किताब कापी जतन नगर्ने संगीता आजभोलि स्कुल भनेपछि हुरुक्कै हुन्छिन् । आमा खुम्मेनी दमाईका अनुसार शनिबारको पढाइ शिविरले आफ्नी छोरीको आनीबानीमा सुधार आएको बताइन् । उनले भनिन्, “छोरी पहिला स्कुल जान मान्थिनन्, गए पनि घर आउँदा कहिल्यै पनि किताब कापी समात्थिनन्, कति चोटी धम्क्यायौं, फकायौं  उपाय लागेन । अहिले आफ्नी छोरीको दैनिकी देखेर निकै खुसी लाग्छ,” उनले भनिन् । किर्डाकले गाउँगाउँमा पढाइ शिविर सञ्चालन गरेको दुई वर्ष भयो ।

अहिले संगीता गाउँकै भवानी आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्छिन् । शिक्षक अर्जुन बुढाका अनुसार संगीताको आनीबानी पढाइको स्तर पहिलाको भन्दा निकै राम्रो भएको बताउँछन् । संगीता परियार उनका बाबु आमा एक प्रतिनिधि पात्रमात्रै हुन् । जुम्लाका झण्डै एक हजार तीन सय बढी बालबालिकाको आनीबानीमा यस्तै सुधार आएको छ । जुम्लामा किर्डाकले झण्डै ६१ वटा पढाइ शिविर सञ्चालन गरेको छ ।
शिक्षा परियोजना संयोजक दिपराज रावतले भने डेढ वर्षमै पढाई शिविर बालबालिकाका लागि प्रभावकारी देखिएपछि पातारासी गाउँपालिकाको दुई ठाउँमा दुईवटा शिविर वडापालिकाले सञ्चालन गरेको उनले बताए । अघिपछि स्कुल जाने शनिबार त्यत्तिकै समय बिताउने बालबालिकाको दैनिकी आजभोलि पढेरै बित्छ ।

बालबालिकामा पढाइ शिविरको प्रभाव
किर्डाकको शिक्षा परियोजनाले काम गर्ने जुम्लाका तिला, तातोपानी र पातारासीका विभिन्न गाउँमा ६४ वटा पढाइ शिविर छन् । पढाइ शिविरमा बालबालिकाको सिकाइ वृद्धिका लागि उनीहरूको रुचि र चाहानाअनुसार पठन पाठन हुन्छ भने बढीभन्दा बढी बालबालिकालाई क्रियाशील बनाइन्छ ।
राम्रो गर्नेलाई मुकुट लगाइदिने बिग्रानेलाई नाच्न लगाउने, विभिन्न खाले चित्र बनाउन लगाउने, आफंै टास्न लगाउने कस्तो लाग्यो भनी भन्न लगाउने, सधै घरका अभिभावकलाई घरबाट एक चित्र बनाएर पठाउने निमय लगाउने गर्दा बालबालिका पनि खुसी र अभिभावक पनि ऊर्जाशील बन्दै गएका छन् ।
शिक्षा परियोजनाका तालिम संयोजक भरत बोहोराले भने बालबालिको सिकाइ वृद्धि कसरी गर्न सकिएला, पठन सामग्री निर्माण तथा सिर्जनात्मक हिसाबले पढाउन पटकपटक तालिम दिइरहेको उनको भनाइ छ । छापामय कक्षा कोठा, पढाइ शिविर कसरी बनाउने, चित्रमार्फत बालबालिकाको सिकाइ वृद्धि उपलब्धि हासिल गर्ने भन्ने विषयमा तालिम दिइएको छ । चित्र, कथामार्फत नै बालबालिकाले कुनै पनि कुरा छिटो बुझ्ने  भएकाले पढाइ शिविरले बालबालिकाको आनीबानीमा परिवर्तन ल्याएको हो ।
गाउँमा सञ्चालित पढाइ शिविरलाई दिगो तथा बालबालिकाई सिकाइ वृद्धिसँगै पठन क्रियाकलापलाई प्रभावकारी बनाउन स्थानीय सरकारले प्राथमिकताका साथ काम गर्नुपर्नेमा सरोकारवालाको जोड छ । वल्डभिजनका शिक्षा विशेषज्ञ विश्व घिमिरेले पढाइ शिविरले बालबालिकाको सिकाइ वृद्धि हासिल गर्नुमा शिक्षकको सिर्जनात्मक कलाको महत्वपूर्ण भूमिका रहेको बताए ।
“विभिन्न शैक्षिक सामग्रीका माध्यमबाट पढाएर, उनीहरूको चाहनाअनुसार वातावरण सिर्जना गरी मामा माईजुको व्यवहारमा बालबालिकालाई स्कुल आइराख्ने, बनाउनु शिक्षकको कला हो,” उनले भने । शनिबार फुर्सदमा समय बिताउने बालबालिका, चासो नदिने अभिभावकलाई ऊर्जाशील बनाउन पढाइ शिविरले निकै महत्वपूर्ण भूमिका खेलेको भवानी आधारभूतका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर चनाराले बताए । सातामा अनुगमन गर्दा बालबालिकाको सिकाइ, चासो, सहभागिता हेर्दा निकै परिवर्तन आएको उनको भनाइ छ ।