कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६
402

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल तथा नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले सोमबार झापाको गौरादह नगरपालिका–५ मा अवस्थित स्कुलचौन उच्च माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेललगायतको सहभागिता थियो ।
भारत सरकारको ३.५७ करोड रुपैयाँ अनुदान सहयोगमा निर्मित दुई तल्ले नयाँ संरचनामा २५ वटा कक्षाकोठा रहेका छन् । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धनप्राप्त यो स्कुल सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति भएकोे हो । विद्यालयमा करिब ११५० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत छात्रा रहेका छन् ।