कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
315

युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा निजी क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लीक पोलीसी एण्ड म्यानेजमेन्ट) कोर्षको अध्यापन शुरु गर्ने भएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र महत्वबारे गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो । सरकारी तथा गैर सरकारी संस्था (बैंक तथा वित्तिय संस्था, बीमा लगायतका कमर्सियल हाउसहरू) मा नीति निर्माण गर्न र कार्यान्वयन गर्ने सीप सीकाउने दुई वर्षे उक्त कोर्ष अध्यापन गर्न लागेको हो ।

कलेजका डिन विजय केसीले नेपालमा सार्वजनिक प्रशासन कमजोर हुन थालेकाले सार्वजनिक नीति र व्यवस्थापन कोर्ष जारी भएको औंल्याए ।
यसैगरी अन्तरक्रियामा आईआईडिएसका कार्यकारी निर्देशक डा. विष्णुदेव पन्तले नेपालमा भ्रष्टाचार फैलिँदै गएकाले यो कार्ष पढ्न जरुरी भएको ठानेर यसलाई अध्यापन गर्न लागिएको बताए । कुसोमले अनुसन्धान गर्ने संस्था इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडिएस)को सहकार्यमा सञ्चालन गर्ने यो कोर्षमा यसै महिनादेखि भर्ना लिइरहेको छ ।