कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
418

त्रिभुवन विश्वविद्यालयले त्रिविअन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागू गराउने भएको छ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसँग भएको वार्तापश्चात् त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रुपमा दिँदै आएको निःशुल्क छात्रवृत्ति अब डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्याक्रम सञ्चालन गर्ने कलेजहरुमा पनि लागू हुने निश्चित भएको हो ।
साउन १३ गते काफ्ले नेतृत्वको समूहले त्रिवि उपकुलपति डा.तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाई छात्रवृत्ति प्रभावकारी बनाउन दबाब दिएको थियो । नेविसंघले अघि सारेका माग पूरा गर्न त्रिविले गठन गरेको वार्ता समितिले वार्ता गरेको थियो । वार्तामा दुवै पक्षबीच ५ बुँदे सहमति भएको छ । जसअनुसार अब डिन कार्यालयबाट सम्बन्धन लिने कलेजले सञ्चालन गरेका महँगा कोर्समा पनि १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिइनेछ ।