सागर परियार
मंगलबार, असार ३१, २०७६
433

दिवा खाजा अर्गानिक खुवाउने नीतिले बालबालिकाको पोषणमा वृद्धि र रैथाने अन्नको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य छ ।
जुम्लामा जम्मा १७० वटा विद्यालय छन् । जसमा आधारभूत तहका ९२, निमावि तहका ३१ र माध्यमिक तहका ४७ वटा गरी १७० विद्यालय छन् । आधारभूत, निमावि र मावि गरी विद्यार्थी संख्या ३१ हजार १५४ जना छन् । जसमा ईसीडीलगायत आधारभूत तहमा मात्रै छात्रछात्रा गरी, १९ हजार २८४ जना बालबालिका छन् ।
यी सबै विद्यार्थी विद्यालयमा संघीय सरकारले दिँदै आएको दिवा खाजा कार्यक्रमबाट लाभान्वित बालबालिका हुुन् । जुम्लाका जम्मा विद्यार्थी संख्याको ८० प्रतिशत दिवाखाजा कार्यक्रमबाट लाभान्वित भएको पाइएको छ । प्रतिविद्यार्थी १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म खाजा खुवाउन सरकारले प्रत्येक विद्यालयमा बजेट दिएको छ । तर जुम्लाका सबै विद्यालयमा दिवा खाजाका नाममा बजारमा पाइने मिति सकिएका खाद्य वस्तु खुवाउने गरिएको पाइएको छ ।
बिस्कुट, चाउचाउ, नपाकेका चना, काचो फलफूल लगायतका वस्तु खुवाउँदा कतिपय अवस्थामा बालबालिका बिरामीसमेत परेको अवस्था छ । ईसीडी र कक्षा १ देखि ५ सम्मका बालबालिका सानै हुन्छन् । विशेषगरी दलित र विपन्न छात्राको विद्यालयमा पहुँच वृद्धि होस् भन्ने लक्ष्यका साथ सरकारले दिवाखाजाको नीति ल्याएको हो । तर विद्यालयले दिवाखाजालाई मनपरि सञ्चालन गरे पनि बालबालिकाको पोषण तथा स्वास्थ्यमा समेत असर पर्ने देखिएपछि जुम्लाको तातोपानी गाउँपालिकाले भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दिवा खाजालाई अर्गानिक खुवाउने नीतिलाई प्राथमिकता दिइएको छ ।

२८ विद्यालयमा अर्गानिक खाजा
तातोपानी गाउँपालिकाभरि रहेका २८ वटा विद्यालयमा साउनबाटै दिवा खाजालाई अर्गानिक खुवाउने नीति अवलम्बन गरेको अध्यक्ष नवराज न्यौपानले बताए । बजारको अखाद्य वस्तुले बालबालिकाको स्वास्थ्यमा निकै असर पार्छ । उनले भने, “संघीय सरकारले दिँदै आएको दिवा खाजालाई स्थानीय रैथाने उत्पादन बालीसँग जोडेर खुवाइन्छ ।” सिमी, चिनो कागुनो, मैकै, भटमास, आलु, मटर, साग, मुला, गाजर कोदो जौ गौसमेत रोप्ने विद्यालयलाई अनुदान दिन रैथाने बाली कृषि अनुदान कार्यक्रमसमेत ल्याएको उनले जानकारी दिए ।
‘हाम्रो अन्न हाम्रो स्वास्थ्य’ भन्ने मूलनाराका साथ प्रत्येक विद्यालयमा खुवाइने दिवा खाजा अर्गानिक हुने उनको दाबी छ । गाउँमा उत्पादन गरिएका रैथाने अन्न खरिद गर्ने, कृषि उत्पादन बढाउने, कृषिमा युवा आकर्षण गर्ने लक्ष्यका साथ कृषिका लागि मात्रै एक करोड ३० लाख बजेट छुट्याएको गाउँपालिका उपाध्यक्ष गंगादेवीले बताइन् । उनका अनुसार शिक्षाबिना समृद्धि सम्भव छैन । भोलि देश चलाउने जनशक्ति भनेकै अहिलेका बालबालिका हुन् । उनीहरूलाई स्वस्थ, पोषिलो खाना खुवाएर हट्टाकट्टा बनाए शिक्षा दिन अर्गाानिक दिवा खाजा नीति ल्याएको बताइन् । महत्वाकाँक्षी नीति तथा कार्यक्रम ल्याउने होडबाजी चलिरहेको बेला तातोपानी गाउँपालिकाले थोरै गर्नसक्ने नतिजामुुखी बजेट नीति तथा कार्यक्रममा जोड दिएको उनको दाबी छ ।

दिवा खाजा अर्गानिक बनाउन अनुसन्धान
तातोपानी गाउँपालिकाले दिवा खाजा अर्गानिक बनाउने नीति लिएसँगै व्यापक छलफल गरिरहेको छ । यसबीचमै नेपाल सरकार, विश्व खाद्य कार्यक्रम र (पीसीडी) इन्प्रेरियम कलेज लण्डनले जुम्लामा दिवा खाजालाई स्थानीय रैथानी बालीसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमन अनुसन्धान गर्न एक टोली जुम्ला पुगेको छ । नेपाल सरकार र विश्व खाद्य कार्यक्रमले दिवा खाजालाई रैथाने बालीसँग कसरी जोड्न सकिन्छ, यसको प्रभावकारी, चुनौती र असरका बारेमा (पीसीडी) इन्प्रेरियम कलेज लण्डनका एक विदेशीसहित विज्ञटोली अनुसन्धान गर्न जुम्ला आएको अनुसन्धान संयोजक लक्ष्मण आचार्यले बताए । उनका अनुसार तातोपानीले दिवा खाजालाई अर्गानिक खुवाउने नीति लिएकाले पहिलो पटक तातोपानीमै शिक्षक, विव्यसलाई दुई दिने अन्तरक्रियासमेत गरिएको छ । बालबालिकाको पोषण सचेतना तथा विद्यालय दिवा खाजा कार्यक्रम मेनु तयारीसम्बन्धी गोष्ठी गरिएको उनले बताए ।
जुम्लामा पाइने ( गौ, जौ, कोदो, फापर, चिनो कागुनो, मकै भट्मास, आलु, मटर, कला, सिमि, गाँजर मुला स्याउ) लगायत अन्य रैथाने बालीलाई दिवाखाजाबाट प्रयोगमा ल्याई बालबालिको पोषणमा सुधार गर्ने सरकारको लक्ष्य हो भने सबै रैथाने बालिका परिकार बनाएर विद्यालयमा खुवाउने नीति ल्याउनुको अर्थ लक्ष्य भनेको अर्गानिक उत्पादकत्व बढाउने रहेको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले बताए ।