कारोबार संवाददाता
सोमवार, असार ३०, २०७६
464

दाङ- घोराही उप महानगरपालिकाले उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । उप महानगरपालिकाले नगर क्षेत्रमा शिक्षाको गुणस्तर बढाउन सहयोग पु-याएको भन्दै शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको हो । नगरपालिकाले पहिलोपटक यसरी शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको हो ।
सम्मानले उनीहरूलाई थप प्रोत्साहन मिल्ने नगरपालिकाले आशा गरेको छ । शिक्षा युवा तथा खेलकुद महाशाखाले एक कार्यक्रमको आयोजना गरी शिक्षक तथा विद्यालयका २४ जना कर्मचारीलाई सम्मान गरेको हो । नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यहरू गर्दै आएको छ । सम्मानका लागि नगरपालिकाले मापदण्ड निर्माण गरेर छनोट गरेको थियो । त्यसैका आधारमा उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयबाट छनोट गरिएको शिक्षा महाशाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले शिक्षाको गुणस्तर वृद्धि गर्न सबै लाग्नुपर्ने बताए । यसका लागि सबैले आआफनो स्थानबाट भूमिका खेल्नुपर्ने उनको भनाइ छ । “समयअनुसार शिक्षा प्रदान गरिनु पर्दछ,” नगरप्रमुख चौधरीले भने ।
त्यसैअनुसार शिक्षकहरू अगाडि बढनु पर्ने उनको भनाइ छ । राम्रा कुरामा प्रतिस्पर्धा हुन आवश्यक रहेको उनले बताए । “सामुदायिक तथा संस्थागत विद्यालयबीच राम्रा कुरामा प्रतिस्पर्धा हुन जरुरी छ,” प्रमुख चौधरीले भने । उप महानगरपालिकाले शिक्षाको गुणस्तर बढाउनका लागि सम्मान र दण्ड दुवै अगाडि बढाउने बताए ।