गोपाल संग्रौला
आइतवार, असार २९, २०७६
420

जनकपुर - धनुषाका ग्रामीण क्षेत्रका विद्यालयमा गठन गरिएका छात्रा सञ्जाल र बाल क्लबले बाल विवाहविरुद्ध जनचेतना अभियान सञ्चालन गरेपछि बाल विवाह गर्ने चलन हराएर छोरीलाई पनि विद्यालय पठाउने सोच विकास भएको छ । धनुषाका ग्रामीण क्षेत्रमा कुरीतिका रुपमा रहेको छोरीलाई शिक्षा दिनु हुँदैन भन्ने मान्यताविरुद्ध छात्रा सञ्जालले जनचेतना अभियान सञ्चालन गर्न थालेपछि सबै अभिभावकले छोरीलाई समेत विद्यालय पठाउन थालेका छन् ।
बालिका नै अभियानमा लाग्न थालेपछि २० वर्षसम्म पढाएर मात्र छोरीको विवाह गर्ने चलन सुरु भएको छ । छात्रा समूह र बाल क्लबको सक्रियताले धनुषाका अधिकांश ग्रामीण क्षेत्रमा ‘छोरीलाई पढाऊ र २० वर्ष पछि मात्र विवाह गर’ भन्ने सोच अभिभावकमा विकास हुन थालेको छ ।
धनुषाको नगराईन नगरपालिका–७ देवडीहास्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालयले गठन गरेको छात्रा समूहको प्रयासमा छोरीलाई विद्यालय पठाउने अभियानले सफलता पाएको छ । यसबाहेक धनुषाका ५० भन्दा बढी सामुदायिक विद्यालयमा गठन भएको बाल क्लब र छात्रा सञ्जालले छोरीलाई पनि छोरासरह शिक्षा अभियान चलाएपछि बाल विवाहमा समेत कमी आएको निक शिक्षा दिओका सामाजिक परिचालक श्याम सुन्दर महतोले बताए । पहिला विद्यालयमा बाल क्लब सञ्चालनमा थिएन ।
सामाजिक कुरितीमा हैन, बाल क्लबले विद्यालयको सरसफाई र विद्यालयका अन्य काम समेत गर्ने गरेका कारण सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षाको समेत विकास भएको छ । छात्रा सञ्जालको गठनपछि र छोरीमा बोल्ने र सामाजिक क्षेत्रमा सक्रियतासमेत बढेको छ । छोरीलाई घर भित्र मात्र राख्नुपर्छ भन्ने मान्यतामा क्रमशः परिवर्तन आएर बालिकासमेत विभिन्न क्रियाकलापमा सक्रिय हुन थालेका छन् ।
यसैगरी बाल क्लबका कारण बीचमा विद्यालयबाट भाग्ने क्रमको रोकथाम आएर विद्यार्थी पूरा समय विद्यालय बस्न थालेपछि शैक्षिक गुणस्तरमा समेत सुधार आएको अखिलेश्वरनाथ आधारभूत विद्यालयका शिक्षक मिथुप्रसाद यादवले बताए । बाल क्लबको सक्रियताले बाल विवाह रोकिएको छ । धनुषाको ४२६ सामुदायिक विद्यालयमा १० प्रतिशत विद्यालयमा बाल क्लब रहेका छन् ।

अधिकारका लागि विद्यालयमा बाल क्लब
युनिसेफले बाल क्लब सम्बन्धमा प्रकाशन गरेको पुस्तकमा सन् १९९० मा बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्ने २० वटा देशहरूमध्ये नेपाल एक रहेको उल्लेख गरेको छ । नेपाल अधिराज्यको संविधान, २०४७ देखि नै बाल कल्याण र बाल संरक्षणलाई उल्लेख्य रूपमा महत्त्व दिइएको छ । सन् १९९२ मा पहिलो पटक आठौँ पञ्चवर्षीय योजनामा बाल विकासको अवधारणालाई समावेश गरियो, जसमा बाल कल्याण, बाल विकास र बालबालिकाका लागि संस्थागत कार्यक्रमहरू समावेश गरियो । नवौं तथा दशौं पञ्चवर्षीय योजनाले बाल विकास सम्बन्धी एक छुट्टै अवधारणाको विकास गरेको छ ।
सो योजनाका नीतिहरूमा बाल जीवनयापन, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयहरूलाई समावेश गरिएका छन् । बालबालिकाको क्षमता विकास गरी उनीहरूलाई सक्षम र सबल बनाएमात्र समुदाय र देशको चौतर्फी विकास हुन्छ । नेपालको कुल जनसंख्याको ४१ प्रतिशत १६ वर्षमुनिका बालबालिकाको रहेको छ । त्यसैले जनसंख्याको यति ठूलो हिस्साका लागि लगानी गर्नु आवश्यक छ ।
बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार पनि हुन् । राज्यले तय गरेका नीति नियम र विकासका कार्यक्रम प्रति बालबालिकाको अपनत्व हुनु पर्दछ । सो अपनत्वको भावना जगाउन पनि बालबालिकालाई अहिले भइरहेका कार्यहरू तथा सवालहरूमा उनीहरूको इच्छाअनुसार समावेश गराउनु पर्दछ । बालबालिकामा अहिले गरेको लगानीको प्रतिफल विकसित जनशक्ति र योग्य नागरिकको रुपमा राष्ट्रले भविष्यमा पाउनेछ ।

के हो बाल क्लब ?
बाल क्लब विद्यालयमा आधारित विद्यार्थीहरूको समूह हो । बाल क्लबले बालबालिकाको व्यक्तिगत विकास तथा उनीहरूको समुदायका लागि गरिने विभिन्न प्रकारका क्रियाकलापहरूको अभिभारा लिन्छ । सामान्यतयाः १० वर्षदेखि १८ वर्षसम्मका बालबालिका एकआपसमा सङ्गठित भई आफ्नो र आफ्ना दौंतरीहरूको सर्वाङ्गीण विकास गर्ने उद्देश्यका साथ स्थापना भएको समूहलाई बाल क्लबको रूपमा चिनिन्छ ।
सबै बाल क्लबहरू आ–आफ्नो विधानका आधारमा सञ्चालित हुन्छन् । बाल क्लबहरू साविकको गाविस तथा जिल्ला बाल कल्याण समितिमा दर्ता भएका हुन्छन् । बालबालिकाको सहभागी हुन पाउने तथा व्यक्तित्व विकास गर्ने अधिकारको व्यावहारिक कार्यान्वयन गर्नका लागि बालबालिकालाई सङ्गठित गरेर राखिएको एउटा समूह नै बाल क्लब हो ।

चुनौतीमा विद्यालयका बाल क्लब
विद्यालयमा पठनपाठन गराउने दर्शन, नीति, उद्देश्य र बाल क्लबले पठनपाठन गराउने दर्शन, नीति र उद्देश्यमा एकदम फरक रहेको पाइन्छ । नयाँनयाँ विचारसँग विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई स्वीकार गर्न र छिटो घुलमिल नसक्नु यसका चुनौतीका रुपमा रहेका छन् । त्यसैगरी मतभेद र अस्वीकृतिहरू पनि मुख्य कुराहरू रहेको पाइन्छ । बाल क्लबका लागि सहयोगी शिक्षक-क्लब सहजकर्ताहरूले यस किसिमका समस्याहरूलाई सुधार गर्ने क्रममा सम्बन्धित निकायहरूबीच सञ्चार र विश्वासको वातावरण निर्माण गर्ने भूमिका खेल्न सकेको देखिँदैन । बाल क्लबलाई तालिम, जानकारी र सीपको अभाव रहेको देखिन्छ । विद्यालयबाट प्राप्त हुनुपर्ने सहयोगको अभाव भएका कारण सोचे अनुसार विद्यार्थीले क्षमता देखाउन सकेका छैनन् । यसैगरी विद्यालयमा मौलिक तथा मानवीय स्रोतहरूको अभाव बाल क्लबको मर्म अनुसार काम हुन सकेको छैन ।

चेतना जगाउँदैछौं


भिभाकुमारी महरा
सृजना छात्रा समूह, राष्ट्रिय निम्न माध्यमिक विद्यालय
म कक्षाा ७ मा अध्ययनरत छु । हामी छात्राको आफ्नै प्रयासमा छात्रा समूह गठन गरी बाल विवाह र छोरीलाई विद्यालय नपठाउने चलनविरुद्ध जनचेतना जगाउँदै आएका छौं । अब विस्तारै यो कुरिती हराउँदै गएको छ । महिला भेदभाव, घरेलु हिंसा, बालविवाह र महिला अधिकारका बारेमा छलफल र अभिभावक तथा गाउँमा जनचेतनाको काम गर्ने गरेका छौं । कानुनअनुसार विवाह २० वर्ष भन्दा बढी उमेरमा गर्नुपर्छ भनेर अभिभावकलाई सम्झाउने काम गर्दै आएका छौं । विद्यालय सरसफाई, बगैचा निर्माण र फूल बिरुवा रोप्ने काम पनि गर्दै आएका छौं ।
बाल क्लब प्रभावकारी भएका छन्

श्याम सुन्दर महतो
सामाजिक परिचालक
बाल क्लबको गठन बालबालिका र शिक्षक राखेर एक कक्षाबाट ३ जनाको दरले दलित, महिला र पुरुष रहने गरी बालबालिको छनोट गरिन्छ । यसैगरी छात्रा सञ्जालमा ७ वर्षदेखि १७ वर्ष उमेर समूहका छात्रा मिलेर बनाएको छात्रा सञ्जाल हो । बाल क्लबमा ५ देखि १४ वर्ष उमेर समूहका बालबालिका हुन्छन् । छात्रा सञ्जालले समुदायमा जनसरोकारका विषयमा जनचेतना जगाउने काम गर्दछ । बाल विवाह, महिला हिंसा, बालिका शिक्षा लगायतका विषयमा समाजमा जनचेतना जगाउने काम गर्ने गरेको छ ।
धनुषामा छात्रा सञ्जाल १७ वटा रहेका छन् । बाल क्लबले अभिभावकलाई बालबालिका समाजमा बाहिर आएर आफ्नो क्षमता देखाउने वातावरण सृजना गर्न सहयोग गरेको छ । बाल क्लबले अभिभावकलाई शिक्षाको महत्वबारे सही चेतना जगाउने काम गरेको छ । बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना लगायत कार्यक्रम सञ्चालन हुने गर्दछन् । विद्यालयमा सरसफाइ, अतिरिक्त क्रियाकलाप, शौचालय व्यवस्थापनका साथै विद्यालय जानबाट वञ्चित भएका बालबालिकालाई सल्लाह र परामर्श दिँदै आएको छ ।