सागर परियार
बुधवार, असार २५, २०७६
296

एउटै वडामा ९ विद्यालय

जुम्ला-सरकारले अनिवार्य र निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ । दलित विपन्न समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने लक्ष्यका साथ सरकारले अनिवार्य र निःशुल्क शिक्षाको अवधारणा ल्याएको छ भने दलित छात्र तथा छात्राका लागि छात्रवृत्तिको समेत व्यवस्था गरेको छ । तर जुम्लामा भने सामुदायिक विद्यालय सुकाउदै महँगो शुल्क तिर्नुपर्ने निजी विद्यालयमा बालबालिका आकर्षित भएका छन् ।
निजी विद्यालयप्रतिको मोह बढ्दै गएपछि सामुदायिक विद्यालयका शिक्षक घाम तापिरहेका छन् । विभिन्न लोभ देखाएर विद्यार्थी लैजाँदा सामुदायिक विद्यालय निजी विद्यालयका शिकार बनेका छन् । स्थानीय सरकारले निजी विद्यालय खोल्नका लागि अनुमति दिँदा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका हुन् ।

शिक्षक आउँछन्, विद्यार्थी आउँदैनन्
जुम्लाको सदरमुकाम खलंगास्थित अशोक नमुना आधारभूत विद्यालयमा कक्षा पाँचसम्म सञ्चालन छन् । त्यो विद्यालय २०२९ मा स्थापना भएको हो । पहिले निकै विद्यार्थीको चाप हुने अशोक नमुना विद्यालयमा हिजोआज विद्यार्थीको चाप घटेको छ । कक्षा १ देखि ५ सम्म पढाइ हुने अशोक नमुना विद्यालयमा बिहीबार गरिएको स्थलगत रिपोर्टिङ्कै क्रममा कक्षा १ देखि ५ सम्मका जम्मा ८ जना उपस्थित थिए ।
चालू आवमा भर्ना भएका जम्मा विद्यार्थी ७१ जना । तर विव्यस, शिक्षक तथा अभिभावको लापारबाहीका कारण सबै विद्यार्थी निजीमा गइसकेका छन् । अशोक नमुना विद्यालयमा चालू शैक्षिक सत्रमा ईसिडीमा १७, कक्षा १ मा १९, २ मा १२, ३ मा १६, ४ मा १७ जना र ५ मा १३ विद्यार्थी भर्ना भएका सबै बालबालिका कता गए विद्यालयलाई थाहा छैन ।
साथै जुम्लाको अर्को सदरमुकाम खलंगा बजारस्थित बालमन्दिर प्राथमिक विद्यालयमा कक्षा तीनमा तीनजना मात्र विद्यार्थी छन् । कक्षा तीनमा पाँचजना भर्ना भए पनि बिहीबार विद्यालयमा तीनजना छात्रामात्र उपस्थित थिए । कक्षा १ मा १६ जना र कक्षा २ मा सातजना भर्ना भएका छन् । तर त्यहाँ विद्यार्थी पनि कहाँ गए भन्ने थाहा छैन । जसले गर्दा अशोक नुमना, बालमन्दिर प्रावि, भण्डारीबाडाको स्कुल, नव प्रभात दानसाँघु लगायतका विद्यालय हाल बन्द हुने अवस्थामा छन् ।

एकैवडामा ९ विद्यालय
निःशुल्क तथा अनिवार्य शिक्षा सबैका लागि भन्ने सरकारले नीति लिएको छ । तर चन्दननाथ नगरपालिकाले मनपरि रूपमा निजी विद्यालय खोल्न अनुमति दिएपछि एकै वडामा नौवटा विद्यालय खोलिएका छन् । जसले सामुदायिक विद्यालय रित्तै भएको अशोक नमुना प्राविकी प्रधानाध्यापक भगवती श्रेष्ठले बताइन् । उनका अनुसार कुनैबेला थेगिनसक्ने विद्यार्थी हुन्थे, तर धमाधम निजी विद्यालय खोल्ने अनुमति दिएपछि अहिले विद्यार्थी खोज्दा पनि नपाइने उनको भनाइ छ । चन्दननाथ नगरपालिका–४ भित्रमात्रै नौ वटा विद्यालय खुलेको छ । जसमा ८ वटा निजी विद्यालय छन् ।
कनिका निशा, कर्णाली बोर्डिङ, मालाभिड विद्यालय, चन्दननाथ मावि, विलिबर्डस बोर्डिङ, जिएमडी बोर्डिङ, ब्राइट फ्युचर बोर्डिङ, सिद्धि विनायक प्रावि र अशोक नमुना प्रावि गरी ९ वटा निजी तथा सामुदायिक विद्यालय छन् । जसमा तीन विद्यालय सामुदायिक हुन् । चन्दननाथ मावि भएकोले त्यहा विद्यार्थी ठिकै छन् भने अशोक नमुना प्रावि, सिद्धि विनायकमा त दैनिक बढिमा १० जनाभन्दा बढी विद्यार्थी आउँदैनन् । सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधार गर्नुको सट्टा नगपालिकाले निजी विद्यालय खोल्ने अनुमति दिएपछि शिक्षा क्षेत्र आफै धराशायी हुने प्रअ श्रेष्ठको भनाइ छ ।
विद्यार्थी संख्या बढाउन पहल जति गरे पनि सम्भव छैन, विव्यस कानमा तेल हालेर बस्छन । यता बालमन्दिर प्राविधिककी प्रधानाध्यापक पार्वती पौडेलले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि अभिभावकको फरक मानसिकताका कारण उपलब्धि हुन नसकेको बताइन् । पूर्वराज्यमन्त्री डिल्ली महतदेखि २०२९ मा रत्नराज्यलक्ष्मी शाहले अशोक र बालमन्दिर विद्यालयमा अध्यायन तथा स्थापन गरे पनि विद्यालय अहिल दयनीय अवस्थामा छ । सदरमुकामका केही विद्यालय उदाहरण मात्र हुन् जुम्लाका अधिंकाश सामुदायिक विद्यालयको हालत त्यस्तै छ । यसै वर्षमात्रै नगरपालिकाले मालाभीड विद्यालय र समता विद्यालयलाई अनुमति दिएको छ ।

विद्यालय मर्जका लागि कार्यदल
चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरपालिकाभित्रका सबै विद्यालयमा अनुगमन गरी समायोजनका लागि कार्यदल गठन गरेको बताइन् । १५ विद्यालयमध्ये पाँच विद्यालयबाहेक अन्य विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको उनले जानकारी दिइन् । “विद्यालय समायोजनका विषयमा कार्यदल बनेको छ । अब केही समयमा समायोजन हुन्छन्,” उनले भनिन्, “नगरपालिकामा शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारी अभावका कारण पनि केही समस्या भएको छ ।”