मनिषा चम्लागाईँ
आइतवार, असार २२, २०७६
367

झापा कनकाई नगरपालिका–८ का ढुण्डीराज कोइरालालाई झट्ट हेर्दा उनमा शारीरिक दुर्वलता देखिन्न । खाइलाग्दो शरीर, चार दशक उमेरको हाराहारीका जस्तो देखिन्छन् उनी ।
कोइराला पेसाले शिक्षक हुन् । तर, अरु शिक्षकले जस्तो कक्षामा गएर प्रत्येक विषय पढाउने अवसर छैन उनलाई । अरुले जस्तै सेवा सुविधा पनि पाउँदैनन्, उनले । उनी फरक शारीरिक क्षमता भएका व्यक्ति हुन् । ढुण्डीराजको एउटा खुट्टा राम्रोसँग चल्दैन । १५–१६ वर्षको उमेरमा खुट्टा ‘फ्याक्चर’ भएको उनी सुनाउँछन् । अहिले एउटा खुट्टाको सहायताले दैनिक गुजारा गरिहेका छन् उनी ।

अपांग सरोकार केन्द्र अर्जुनधारा नगरपालिका–६ कप्तानबारीमा शिक्षण गर्छन्, ढुण्डीराज । एउटा खुट्टा र साइकलको सहारामा हरेक दिन २२ किलोमिटर यात्रा गर्नु उनको दिनचर्या हो । उनले भने, “म १० वर्षअघि नै झापाकैै बाल्मिकी अंग्रेजी स्कुल चैतुबारीमा शिक्षण पेसामा आबद्ध थिएँ, दिनानुदिन खुट्टाको समस्या बढेकाले बीचमा शिक्षण पेसा छोड्न पुगें ।”
तर, फरक क्षमता भएकालाई शिक्षा दिन पाउँदा भने उनलाई खुट्टाको समस्याले छेकेन । केही समयपछि अपांग सरोकार केन्द्रमा शिक्षक आवश्यकता भन्ने सुनेर केन्द्रसँग जोडिन पुगेको उनले बताए । इच्छाशक्ति जागेकै कारण हरेक दिन कनकाई –८ (घैलाडुब्वा)बाट केन्द्रसम्म साइकलमा आउने र पढाउने गरेको उनी सुनाउँछन् । उनले भने, “यहाँ अध्ययनका लागि आउने अपांग नानीहरु सक्षम हुनुपर्छ भन्ने मेरो लक्ष्य हो, मैले पढेको कारण आज उनीहरुलाई पढाउन सक्ने भएको छु, म नानीहरुलाई म जस्तै सक्षम बनाउन चाहान्छु ।” यसैले उनलाई सन्तुष्टि मिल्छ ।
सामान्य परिवारमा जन्मिएको सुनाउने ढुण्डीराज अपांग सरोकार केन्द्रले आफ्नो परिचय बनाइदिएको बताउँछन् । “बाटोमा हिँड्ने मानिसले पनि मेरो साइकल रोकेर मेहनतको प्रशंसा गर्नु हुन्छ, आज सबैको माया र सम्मान पाएको छु,” उनले भने, “जो कोहीले यी नानीहरुलाई पढाउन कहाँ सक्नुहुन्छ र !” काम जति गाह्रो छ ठाउँ त्यति नै संवेदनशील भएको उनले सुनाए । नानीबाबुहरुलाई हाँसी खुशी सिकाउन सक्नुपर्ने मत जाहेर गरेका उनले झर्कने, रिसाउने गरेमा उनीहरुमा मानसिक असर पर्ने बताए ।
मानिसलाई समयले यति सोखिन बनाएको छ । १० मिनेटको पैदल यात्रा गर्न हामी जो कोहीलाई गाह्रो हन्छ । ढुण्डीराज शारीरिक रुपमा अशक्त भए पनि मानसिक रुपमा सक्षम छन् । उनको मेहनतको सम्मान उनलाई बुझ्ने जो कोहीले गर्छन् । त्यसो त अन्य शिक्षक विद्यार्थीको सम्बन्ध भन्दा निकै गहिरो छ, अंपागता भएका विद्यार्थीसँग उनको परस्पर आत्मियता । फरक क्षमता भएका विद्यार्थीलाई ज्ञान बाँड्न पाएको खुसीले शारीरिक रुपमा फरक क्षमता हुनुको पीडा चटक्कै बिर्र्साइदिएको छ उनलाई । ढुण्डीराजका दुई छोरा छन् । उनकी श्रीमती वैदेशिक रोजगारको सिलसिलामा दुबईमा छिन् ।
अपांग सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलाल पनि उनको शिक्षणकला अद्भुत भएको सुनाउँछन् । उनले भने, “शारीरिक, मानसिक असक्त भएका नानीको ध्यान अन्त मोडिन दिनु हुन्न, रमाइलो मानेर पढ्छन् ढुण्डीराज सरसँग नानीहरु ।” २०६९ सालदेखि सञ्चालनमा आएको अपांग सरोकार केन्द्रका अध्यक्ष दुलालको पनि आफ्नै कथा छ । जन्मदा स्वस्थ जन्मेको सुनाउने उनी १९ वर्षको हुदाँदेखि कम्मरदेखि तलको भाग नचलेको बताउँछन्  । “आफू फरक क्षमता भएपछि श्रीमतीले समेत दोस्रो विवाह गरिन्,” उनले भने, “मेरो लगानी यही केन्द्र र एक छोरीको लागि हो ।” फरक क्षमता भएका व्यक्तिलाई समाजमा स्थापित गराउने उद्देश्यले केन्द्र खोलेको दुलालले बताए ।
आफू पनि फरक क्षमता भएकाले फरक क्षमता अन्य व्यक्तिको पीडा महसुस गरेर उनीहरुलाई सेवा गर्न मन लागेको उनले सुनाए । उनले भने, “केन्द्र त खोलेँ तर यसमा धेरै व्यक्तिगत लगानी गर्नुप-यो ।” धेरै मानिस केन्द्रमा सहयोग गर्न आउने गरेको उनले सुनाए । “सहयोग गर्न आउनेहरुबाट केन्द्र सञ्चालनमा अहिले पहिलाभन्दा केही सहज त भएकै छ तर, पाएको सहयोगले मात्रै यहाँ लाग्ने खर्च धान्न गाह्रो हुन्छ,” दुलालले सुनाए । खाद्यको व्यवस्थाका लागि बिर्तामोड, अर्जुनधारा लगायत स्थानीय बजारमा सहयोग माग्न जाने गरेको उनी सुनाउँछन् ।
शारीरिक रुपमा अशक्त भएपनि दुलाल स्कुटर भने कुदाउँछन् । केन्द्र खोलेसँगै छिमेकी देश भारतको पानीट्याङ्कीबाट स्कुटरमा सामान ल्याउने र बिर्तामोडका पसल–पसलमा बेच्ने गरेको उनले बताए । त्यसबाट आएको नाफा अपांग सरोकार केन्द्र सञ्चालनमा खर्च गर्ने गरेको दुलालले सुनाए । सामान ल्याउँदा भन्सारमा समस्या परे पनि आफ्नो शारीरिक अवस्था देखेपछि प्रहरी वा राजस्व केन्द्रका कर्मचारीले छोडिदिने गरेको उनले बताए ।
शारीरिक रुपमा कमजोर भएर के भयो ? मानसिक रुपमा सक्षम भए समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ढुण्डीराज र कृष्ण । केन्द्रमा अहिले रहेका १० जना फरक शारीरिक क्षमता भएकालाई शिक्षा दिइरहेका छन् ढुण्डीराज । केन्द्रमा बसेर २६ जनाले शिक्षा लिइसकेका छन् । कृष्ण भने अहिलेसम्म २६ जना फरक क्षमता भएका बालबालिकाको एकल पिता बन्न सफल भएका छन् । आफू जस्तै फरक शारीरिक क्षमता भएका अन्य व्यक्तिले समाजबाट अपहेलित हुन नपरोस् भन्ने उद्देश्य राखेका ढुण्डीराज र कृष्ण यसै कार्यबाट समाजमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् ।