सागर परियार
आइतवार, असार २२, २०७६
596

जुम्लाका पाँच स्थानीय तहमा विभिन्न विषयको प्राविधिक शिक्षा सञ्चालन छ । गाउँमै प्राविधिक शिक्षा आर्जन गर्न पाउँदा विद्यार्थी त खुसी छन् तर स्रोत नहुँदा प्राविधिक शिक्षा सञ्चालन फलामको चिउरा चपाउनुजस्तै भएको छ । स्थानीय तहले पर्याप्त बजेट दिएको छैन, पूर्वाधार नहुँदा पठनपाठनमा झनै समस्या छ ।
उपयुक्त भवन नभएकै कारण पाँचै ठाउँका ल्याबका विभिन्न सामग्री थन्किएका छन् । स्रोत नहुँदा केही विद्यालयमा ऋणको भरमा पनि प्राविधिक शिक्षा जेनतेन सञ्चालन भइरहेका छन् । हाल पाँचै प्राविधक शिक्षा सञ्चालकलाई स्रोत जुटाउनु नै मुख्य चुनौती छ ।

बाहिरबाट शिक्षक ल्याउनुपर्ने, भनेजति तलब दिनुपर्ने, पूर्वाधार निर्माण गर्नुपर्ने समस्या छन् । स्थानीय तहले दिने बजेटले तलब खुवाए, पूर्वाधार निर्माण हँुदैन, एक गरे अर्काे पुग्दैन । त्यसैले दीर्घकालीन स्रोतका खोजीमा यहाँका समुदाय लागिपरेका छन् । सामूहिक बगैंचा, कृषि, कुनै योजनाको बजेटबाट स्रोत छुट्याउने प्रयासमा जुटिरहेका बेला, तातोपानी–८ टोप्लाका झण्डै ९७ जना स्थानीयले ३० रोपनी जग्गा र ठूलो स्याउ बगैँचा दान गरेका छन् ।
कालिका मावि टोप्लामा सञ्चालित बाली विज्ञान पढाइलाई सहज बनाउन त्यहाँ स्थानीय झण्डै सात सय बिरुवा भएको बगैंचा, र विभिन्न अन्नबाली उत्पादन गर्न मिल्ने ३० रोपनी जग्गा दान गरेको कालिका माविका विव्यस अध्यक्ष सुरतबहादुर शाहीले बताए । उनका अनुसार पूर्वाधारबिना नै प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता थियो । पूर्वाधार नहँुदा ल्याब थिएन, प्रयोगात्मक फिल्डका लागि पर्याप्त जग्गा थिएन, तर सबै स्थानीयसँग समन्वय र सहकार्य गरेर नै स्रोत जुटाएको उल्लेख गरे । ३० रोपनी जग्गामा रहेका सात सय स्याउका बिरुवामध्ये झण्डै ३ सय जति यो वर्षबाट फल्नेछन् ।
भने जग्गामा आलु, काउली बन्दा साग, गाजर, प्याज, टमाटरलगायत विभिन्न तरकारी समेत लगाइएको छ । झण्डै एक सय आठ घरधुरी रहेको टोप्ला गाउँका बर्सेनि ३ जनालाई निशुल्क पढाउने सम्झौता ३० रोपनी जग्गा र स्याउ बगैँचा प्राविधिक शिक्षा सञ्चालनका लागि दान गरेको प्रधानाध्यापक मानबहादुर शाहीले बताए । उनका अनुसार जाजरकोट, जुम्ला, मुगुका गरी ३३ जना विद्यार्थी अध्ययनरत छन् भने, झण्डै ७५ लाख बराबरको जग्गा र स्याउ बगैँचा दान गरेको प्रअ शाहीले जानकारी दिए । गाउँमै प्राविधिक शिक्षा सञ्चालन हुनु खुसीको कुरा हो ।
जग्गादाता दत्तबहादुर शाहिले भने, “स्थानीय तहले पर्याप्त बजेट नदिँदा प्राविधिक शिक्षा सञ्चालनमा समस्या देखियो, सबै गाउँलेको सहमतिअनुसार निशुल्क दिएको बताए । ७५ लाख बराबरको जग्गा र बगैंचा निःशुल्क दिएका छौं, अर्का जग्गादाता कर्णबहादुर शाहीका अनुसार केही वर्षमा स्याउ बेचेरै स्रोत खोज्नु नपर्ने बताए ।
अनुमानित ३० लाख आम्दानी
सात सय स्याउका बिरुवाबाट फल्ने स्याउ, ३० रोपनी खेतीयोग्य जमिनबाट उत्पादन हुने कृषि वस्तुबाट अनुमानित वार्षिक ३० लाख आम्दानी हुने स्थानीय दीर्घबहादुर शाहीले बताए । यता विव्यस अध्यक्ष सुरतबहादुर शाहीका अनुसार स्याउ निर्यात, तरकारी बिक्रीका लागि बजारीकरणमा जोड दिइने छ भने बर्सेनि तरकारी विद्यार्थी आफै उत्पादन गरी खाने र बेच्ने गर्नेछन् । साथै प्रयोगात्मकका लागि जग्गा निकै उपयुक्त छ । बाली विज्ञानको ओजेटिका लागि अन्त जानुपर्ने छैन । आम्दानी भएको रकमबाट ल्याब, सुविधा सम्पन्न भवन, शौचालय, घेरबार गर्ने विद्यालयको लक्ष्य छ । आम्दानीलाई चुस्त दुरुस्त बनाएर, बाली विज्ञानको पढाइलाई जिल्लामै नमुना तरिकाले सञ्चालन गर्न टोप्लाबासी जुटेका छन् ।
विद्यालय कृषि सहकारी
दुर्गममा प्राविधिक शिक्षा सञ्चालनका विभिन्न उपाय ल्याउनु वैकल्पिक व्यवस्था राम्रो हो । लाखांै आम्दानी स्रोत जुटे पनि कालिका माविका शिक्षक विद्यार्थी मिलेर विद्यालय कृषि सहकारीसमेत स्थापना गरेका छन् । मासिक बचत उठाएर ऋण लगानी गर्ने समेत योजना बनाएको सहकारी संस्थाकी अध्यक्ष रेजिना शाहीले बताइन् । उनका अनुसार सहकारीको नाममा बैंकमा खाता खोलेर हाल १५ र २ ० हजार बचतसमेत गरिएको छ ।
यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले दुर्गम शिक्षा प्रणाली सुधारमा स्थानीय सरकार गम्भीर रहेको बताए । शैक्षिक अनुदानसमेत ल्याएका छौं । उनले भने, “स्याउ तरकारी निर्यात तथा पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे । अहिले कालिका मावि टोप्ला, हिमशिखर, मावि तातोपानी, त्रिभुवन मावि झारज्वलामा ल्याब सञ्चालन तथा अध्ययन गर्ने भवन निर्माण भइरहेका छन् । अन्य चार ठाउँका प्राविधिक शिक्षा सञ्चालक पनि स्रोतको खोजीमा छन् ।