कृञ्जला पुलामी
आइतवार, असार २२, २०७६
667

सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित ठाकुरदेवी प्राथमिक विद्यालय दर्लामीमा वर्षैपिच्छे विद्यार्थीको संख्या घट्दै गएको छ । अघिल्लो वर्षसम्म २० जना विद्यार्थी रहेको यस विद्यालयमा अहिले त्यो संख्या पनि घटेर १६ मा झरेको छ ।
विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठका अनुसार अहिले सबै कक्षाका गरी जम्मा १६ जना मात्रै विद्यार्थीहरु भर्ना भएका छन् । त्यसमा पनि सबै विद्यार्थीहरु नियमित आउँदैनन् । “पहिले त ३० जनासम्म हुन्थे विद्यार्थी । अहिले धेरै जसो बालबालिकाहरु बोर्डिङ जान्छन्,” उनले भने, “अभिभावकहरु बोर्डिङमा मात्र राम्रो पढाइ हुन्छ भन्ठान्छन् । स्कुलमा पनि हामीले राम्रो पढाउँछौ नि तर के गर्नु स्कुल भनेपछि विश्वास नै गर्दैनन् ।”

मरिण गाउँपालिका–७ मा रहेको जनता प्राथमिक विद्यालय अठुवा जरायोटारमा पनि जम्मा २० जना मात्रै विद्यार्थी छन् । उक्त विद्यालयमा १ देखि ५ कक्षासम्म पढाइ हुँदै आएको छ । ५ कक्षासम्म जम्मा २० जना मात्रै विद्यार्थी अध्ययनरत रहेको विद्यालयकी प्रधानाध्यापक सुजाता सुनुवार (ठाडा) ले बताइन् । “अहिले त धेरैले आफ्ना छोराछोरी सदरमुकाम सिन्धुलीमाढीमा राखेर पढाउँछन्,” उनले भनिन्, “श्रीमान् विदेशमा हुने अधिकांशले छोराछोरीलाई लिएर सदरमुकाम गएका छन् । छोराछोरीलाई बोर्डिङमा पढाएर श्रीमती पनि उतै बसेका छन् ।” वैदेशिक रोजगारीका कारण आर्थिक अवस्था बलियो हुन थालेपछि धेरैले बोर्डिङमा पढाउन थालेको प्रअ सुनवारले बताइन् ।
गोलञ्जोर गाउँपालिका–४ स्थित प्राथमिक विद्यालय वितिजोर कुपिण्डे पनि जम्मा ४० जना विद्यार्थी छन् । विद्यालयकी शिक्षिका जुनु श्रेष्ठ भन्छिन्, “यहाँका मानिसहरु व्यावसायिक रुपमा जुनार सुन्तला लगाएर राम्रो आम्दानी गर्छन् र छोराछोरीलाई सदरमुकाममा राखेर बोर्डिङ पढाउँछन् । अहिले अंग्रेजी माध्यम पढाईको महत्व बढिरहेको भन्दै उनीहरु आफ्ना छोराछोरीलाई अंग्रेजी सिकाउन भन्दै बोर्डिङ पढाएको देखिन्छ ।”
यी त प्रतिनिधि विद्यालयमात्रै हुन् । जिल्लामा ५ सय ८१ सामुदायिक विद्यालय रहेका छन् । अधिकांश विद्यालयमा विद्यार्थी रित्तिँदै गएका छन् । विशेषगरी प्राथमिक तहमा विद्यार्थी कम रहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले बताए । उनका अनुसार प्राथमिक तहमा ३ सय ५७ विद्यालय छन् । जसमा आधा भन्दा बढी विद्यालयमा ५० जना भन्दा कम विद्यार्थी रहेको उनी बताउँछन् ।
प्राथमिक तहसम्मको विद्यालयमा ५० जना भन्दा बढी विद्यार्थी भेटिन गाह्रो रहेको उनले बताए । “यथार्थ कुरा भन्नु पर्दा प्राविमा ५० जनाभन्दा बढी विद्यार्थी भेटिएमा हामी त्यो विद्यालयलाई राम्रो मान्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
विद्यालयमा विद्यार्थी संख्या बढाउन भने सबैभन्दा पहिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नतर्फ ध्यान दिनुपर्ने उनी बताउँछन् । शिक्षकहरुले अभिभावक र विद्यार्थीहरुको मन जित्ने गरी शिक्षण गर्नुपर्नेमा जोड दिँदै गजुरेलले साना तथा टुक्रे स्कुल बन्द गर्नुपर्ने धारणा व्यक्त गरे । “१५ जना विद्यार्थीका लागि विद्यालय चलाएर बस्नुभन्दा ठूला मेगा विद्यालय सञ्चालन गर्नुमै फाइदा देख्छु,” उनले भने, “थोरै विद्यार्थी रहेका विद्यालयहरुको मर्ज गरेर विषय अनुसारको शिक्षकले शिक्षण गरी गुणस्तरीय शिक्षा दिन र राज्यको सम्पत्ति पनि जोगाउन आवश्यक छ ।” अहिले सबै अधिकार स्थानिय तहमा गएकाले आफूहरुले भने समन्वयको मात्र भूमिका निर्वाह गरिरहेको उनले बताए ।