कारोबार संवाददाता
आइतवार, असार ८, २०७६
351

‘हिजोका शिक्षकबाट कसरी दिने भोलिको शिक्षा ?
दुई वर्ष शिक्षकलाई सम्झाउँदैमा बित्यो: मेयर


 स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्नै नसकिने बताएका छन् । २० वर्ष पुराना शिक्षकले नयाँ विद्यार्थीलाई सिकाउनै हम्मे परिरहेको उनीहरुको भनाइ थियो ।
आजको शिक्षा साप्ताहिक पत्रिकाले आयोजना गरेको ‘स्थानीय तहका शिक्षाका दुई वर्षः उपलब्धि र चुनौती’ विषयक अन्तक्रियामा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समाज अगाडि बढेपनि शिक्षकले उही २० वर्ष पुरानो ढाँचामा सिकाइरहेको बताए । “शिक्षकहरु २७ वर्षदेखि पढाइरहेका छन् । विद्यार्थी किन फेल भए भनेर सोध्यो, यस्तै हो भनेर भन्छन्,” नगर प्रमुख चालिसेले भने, “व्यवस्थापन समिति निरिह छ । त्यस्ता शिक्षकलाई न कारबाही गर्न सक्छ न त अवकाश दिन सक्छ ।” नगरपालिकाले पनि शिक्षकलाई कारबाही नगर्ने हो भने सामुदायिक विद्यालयको सुधार कहिल्यै गर्न नसकिने उनको भनाइ थियो । गएको दुई वर्ष शिक्षकलाई सम्झाउँदैमा बितेको भन्दै नगरप्रमुख चालिसेले अब ठाउँका ठाउँ कारबाही गरिने चेतावनी दिए ।
बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले शिक्षक र कर्मचारीका कारण दुई वर्षमा शिक्षामा चाहेर पनि कुनै सुधार गर्न नसकेको बताए । “शिक्षकहरु अल्छि भए, कर्मचारी निकम्मा,” नगरप्रमुख खरेलले भने, “केही नजान्ने अनुभव वीहिन कर्मचारी शिक्षामा आउने, हाजिर नगराउँ सरकारलाई असहयोग गरेजस्तो हाजिर गराउँ पारै लाग्दैन । पछिल्लो दिनमा बल्ल केही बिसेक कर्मचारी आएका छन् ।” स्थानीय समुदायका ५० प्रतिशत बालबालिकालाई सामुदायिकमा भर्ना गराउने गरी काम भइरहेको खरेलले जानकारी दिए ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सामुदायिक विद्यालयमा बालबालिका पठाउन आग्रह गर्दा उनीहरुले २५ वर्ष पुराना शिक्षकहरुलाई सार्न भनेपछि एकैपटक ५४ शिक्षकहरुको पालिकास्तरीय सरुवा गरिदिएको बताइन् । विव्यसमा समस्या देखेपछि सबै विद्यालयको अध्यक्ष परिवर्तन गरिदिएको उनको भनाइ थियो । । “दुई विद्यालयले अदालतमा मुद्दा दायर समेत गरे तर, हाम्रो असल उद्देश्य देखेपछि अदालतले पनि मुद्दा जिताइदियो,” बस्नेतले भनिन् ।
मेलम्ची नगरपालिकाका वडाध्यक्ष सुदर्शन लुइँटेलले नगरको सिकाइ सुधारका लागि शिक्षकमा सुधार गर्न नगरपालिका कम्मर कसेर लागेको बताए । जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नारासहित बढी रहेका विद्यालयबाट शिक्षकलाई कम भएको स्थानमा सरुवा गर्न र जागरुक बनाउन अभियान थालिएको उनले स्पष्ट पारे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले नपढाउने शिक्षकलाई कारबाही गर्ने, हटाउने अधिकार स्थानीय तहलाई भएको बताए । स्थानीय तहहरु शिक्षकको पालिकास्तरीय सरुवा गर्न डराउनु नपर्ने भन्दै उनले तर राम्रै भएपनि असजिलो पार्नका लागि मात्रै सरुवा भने नगर्न सुझाव दिए ।
एउटा तहले शिक्षामा गरेका राम्रा अभ्यास अर्काले सिक्नुपर्नेमा जोड दिँदै सचिव कोइरालाले स्थानीय तहहरुले गुणस्तर कायम गरी जनतालाई सेवा प्रवाह गर्नुपर्ने स्पष्ट पारे । राज्यले शिक्षा र स्वास्थ्यमा बढी लगानी गरेपनि प्रतिफल कम आएकाले यस क्षेत्रको बहस बढी हुने गरेको यादवले बताए ।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकलाई सरुवा गरेर शिक्षामा गुणस्तर आउँछ भन्ने धारणा त्याग्न स्थानीय तहहरुसँग आग्रह गरे । स्थानीय तहले पुराना सरुवा गरेर करारमा नयाँ शिक्षक राख्दैमा शिक्षामा गुणस्तर नआउने उनले दाबी गरे । संविधानको अनुसूची ८ मात्रै नहेरी ९ लाई पनि हेर्न सरोकारवालाहरुसँग उनको आग्रह थियो ।
शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नियति, यात्रा र गन्तव्य पहिचान भएमात्रै राम्रो नतिजा आउने भन्दै अहिलेको मूल समस्या गन्तव्य पहिचानमा रहेको बताए । शिक्षक लामो समय एकैठाउँमा बस्दा शिक्षा बिग्रियो चलाए सुधार हुन्छ भन्ने भन्दापनि शिक्षाको गन्तव्य सुनिश्चित गर्न उनको आग्रह थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले नराम्रा शिक्षक सरुवा गरेर मात्रै समस्या समाधान नहुने बरु उनीहरुलाई सुधार गर्नतिर लाग्नुपर्ने बताए । सरुवा गर्दैमा सुधार नहुने भन्दै पौडेलले नराम्रा शिक्षक कहाँ पठाउने, कसले लिन्छ ? भन्दै प्रश्न गरे ।