कारोबार संवाददाता
आइतवार, असार १, २०७६
410

लमजुङको एक विद्यालयले विद्यार्थीहरुलाई अनिवार्य राष्ट्रिय पोषाक लगाउन नियम बनाएको छ । राष्ट्रिय पोषाक संरक्षणको लागि भन्दै उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. ४ मा रहेको प्रेममिलन माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाकाटोपी र परम्परागत रातो डोरी अनिवार्य गरिएको हो ।
जिल्लामै पहिलोपटक विद्यालय पोषाकमा राष्ट्रिय पोषाक ढाका टोपी र परम्परागत डोरी लगाउनुपर्ने नियम बनाएको विद्यालयका प्रधानाध्यापक बलराम थापाले बताए । नेपाली मौलिक पहिचानलाई संरक्षण गर्न विद्यालय पोषाकमा राष्ट्रिय टोपी राखिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा हप्ताको एकदिन छात्रहरुलाई अनिवार्य ढाका टोपी र छात्राहरुलाई रातो परम्परागत डोरी प्रयोगमा ल्याइएको हो । “ढाका टोपी र रातो डोरीको प्रयोग घट्दै गएको छ,” प्रअ थापाले भने, “नेपालीको पहिचान र मौलिकता जोगाउन विद्यालयमा ढाका टोपि र परम्परागत डोरी प्रयोगमा ल्याएका हाँै ।”
विद्यालयका शिक्षक कुलप्रसाद गुरुङका अनुसार हरेक हप्ता सोमबारका दिन छात्रहरुले ढाका टोपी र छात्राहरुले रातो डोरीले कपाल बाटेर विद्यालय आउने गर्दछन् । यसरी विद्यालयमा राष्ट्रिय पोषाकको प्रयोगमा ल्याउँदा विद्यार्थीहरुलाई आफ्नो संस्कार र संस्कृतिबारे जानकारी हुनुका साथै भावी पुस्तामा समेत यसबारे जानकारी गराउन सहज हुने विद्यालयले जनाएको छ ।
“समाजमा राष्ट्रिय पोषाकको महत्व घट्दै गयो,” शिक्षक गुरुङले भने, “परम्परा र सस्कृतिबारे हामीले सोचेनौ भने कसले सोच्छ ?” २०११ सालमा स्थापना भएको प्रेम मिलन माध्यमिक विद्यालयमा हाल एकसय ८४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागी विज्ञान, गणित, अग्रेजी लगायतका मुख्य विषयहरु सैद्धान्तिकसँगै प्रयोगात्मक रुपमा अध्यापन गराउँदै आएको छ ।