कृञ्जला पुलामी
सोमवार, बैशाख ३०, २०७६
440

सिन्धुली । सिन्धुलीका स्थानीय तहहरुले शिक्षाको गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका छन् । शिक्षा क्षेत्रको विकासले मात्र समाज समृद्ध बन्न सक्ने भन्दै पालिकाहरुले स्थानीय पाठ्यक्रम निर्माणका साथै अंग्रेजी माध्यमको पढाईलाई प्राथमिकता दिएका हुन् ।
फिक्कल गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि यस वर्षदेखि अंग्रेजी माध्यमको पढाई सुरु गरेको छ । गत वर्ष सबै निजी तथा सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यामबाट मन्टेश्वरीमा पठनपाठन सुरु गरेको गाउँपालिकाले यो शैक्षिक सत्रदेखि अंग्रेजी भाषाको ऐच्छिक गणित विषयको पठनपाठन सुरु गरेको उपाध्यक्ष पार्वती सुनुवारले बताइन् ।

मोलुङ पब्लिकेशनले छापेको अंगेजी भाषाको गणित पुस्तक नै गाउँपालिकाले लागू गरेको उनले बताइन् । उनले भनिन्, “जम्मा ६ सय पूर्णाङ्कमा हामीले ३ सय पूर्णाङ्कलाई अंग्रेजी माध्यममा पढाइ सुरु गरेका छौँ । नेपाली भाषामा पनि सुधार गर्नुपर्छ भन्ने लागेर त्यसो गरेका हौँ ।” अहिले ऐच्छिक गणित विषय कक्षा १ मा मात्र लागु गरिएको छ । १ देखि ५ कक्षासम्मकै पुस्तक थियो । त्यही पनि हामीले परिक्षणका लागि यो वर्ष कक्षा १ मा मात्रै लागू गरेका छौँ ।”
अधिकांश स्थानीय तहले शिक्षा सम्बन्धि एकै खालका विषयलाई प्राथमिकता दिइरहँदा फिक्कल गाउँपालिकाले भने अन्य स्थानीय तहको तुलनामा फरक काम गर्ने प्रयास गरेको उपाध्यक्ष सुनुवारले बताइन् । कुनै पनि स्थानीय तहले आफ्नो स्थानिय तहमा शिक्षा सम्बन्धि छुट्टै नीति, नियम बनाउन सक्ने संविधानले दिएको अधिकारमा आधारित रहेर अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको उनको भनाइ छ ।
अधिकांश क्षेत्रमा अंग्रेजी भाषाको महत्व बढ्दै गएको भन्दै आफ्नो पालिकाले अंग्रेजी भाषाको पठनपाठनलाई प्राथमिकतामा राखेको उनले बताइन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा अंग्रेजी भाषाको ज्ञानवृद्धि गर्न यसले मद्दत पुग्ने उनको अपेक्षा छ ।
गाउँपालिकामा ५२ वटा विद्यालय रहेका छन् । फिक्कल गाउँपालिकाले मन्टेश्वरीमा भने शैक्षिक शत्र २०७५ बाटै अंग्रेजी माध्यममा पठनपाठन गराइरहेको छ । गाउँसभाबाट पारित गरिएको शिक्षा ऐन २०७४ अन्तर्गत गाउँपालिकाभित्रका सबै निजी तथा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट मन्टेश्वरीमा पठनपाठन भइरहेको गाउँपालिकाका उपाध्यक्ष सुनुवारले बताइन् । उनका अनुसार गाउँपालिकाका निजी र सामुदायिक विद्यालयमा अल इन वान अंग्रेजी भाषाको पुस्तक लागू भएको छ ।
मरिण गाउँपालिकाले भने नयाँ शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय विषयवस्तुलाई समेटेर गाँउपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि पाँचसम्म स्थानीय पाठ्यक्रमबाट पाठनपाठन सुरु भएको गाँउपालिका अध्यक्ष पानीराज बम्जनले बताए । गाउँ शिक्षा समितीको वैशाख २२ गते बसेको बैठकले गाउँपालिकाका सबै विद्यालयमा पाठ्यक्रम लागू गर्ने निर्णय गरेअनुसार सबै विद्यालयमा पठनपाठन सुरु भइसकेको बताए । उनले भने, “पाठ्यक्रमको कार्यान्वयनका लागि प्रध्यानाध्यापकहरुलाई २ दिने प्रबोधिकरण कार्यक्रम आयोजना गरी स्थानीय पाठ्यक्रम शिक्षण निर्देशीकासमेत विद्यालयहरुलाई वितरण गरिसकिएको छ ।” पाठ्यक्रमलाई व्यवहारीक रुपमा कार्यान्वयन गराउन सो निर्देशिकाले मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तुहरु समेटेर पाठ्यक्रम निर्माण गरिएको छ । उनका अनुसार पाठ्यक्रममा वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचानसमेतलाई समेटिएको छ । विभिन्न शिर्षकका १० वटा एकाई समावेश गरिएको उक्त पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिइएको छ ।
प्लान नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीद्वारा सञ्चालित सुरक्षित विद्यालय प्रवद्र्धन परियोजनाको ४ लाख रुपैयाँ र मरिण गाँउपालिकाको २ लाख गरी जम्मा ६ लाख रुपैयाँ लागतमा पाठ्यक्रम निर्माण हुने छ । गाउँपालिकामा आधारभूत तह र माध्यामिक तह गरी ५२ वटा विद्यालय र २ वटा क्याम्पस छन् ।
यस्तै हरिहरपुरगढी गाउँपालिकाले पनि तामाङ मातृभाषाको पाठ्यक्रम निर्माण गर्दैछ । तामाङ समुदायको बाहुल्यता रहेको यस गाँउपालिकाले मातृभाषाको संरक्षण र प्रवद्र्धनका लागि मातृभाषाको पाठ्यक्रम निर्माण गर्न लागिएको अध्यक्ष कारसाङ लामाले बताए । उनले भने, “तामाङ समुदायको बाहुल्यता छ । यहाँ मातृभाषा नै चलनचल्तीमा रहेकाले अन्य भाषाको पुस्तकभन्दा पनि आफ्नै भाषाको पठनपाठन प्रभावकारी हुने देखिएकाले पाठ्यपुस्तक निर्माण गर्न लागेका हौँ ।”
“सानैदेखि मातृभाषा बोल्ने भएकाले विद्यालयमा शिक्षकले कतिपय कुराहरु नेपाली भाषामै बोल्दा पनि बालबालिकाले बुझ्दैनन् ।” उनले थपे, “भाषाकै कारण पढाइमा असर नपरोस भनेर पाठ्यक्रम निर्माण गर्न लागेका हौँ ।”
गाउँपालिकाले पाठ्यक्रम निर्माणको काम सुरु भइसकेको जनाएको छ । त्यसका लागि विभिन्न विद्यालयका तामाङ जातिका शिक्षकहरुलाई १५ दिने तालिम सञ्चालन गरिरहेको छ । गाँउपालिकाको २ लाख ५० हजार रुपैयाँमा निर्माण हुने पाठ्यक्रम ऐच्छिक विषयका रुपमा राखिने अध्यक्ष लामाले बताए । सो पाठ्यक्रम सामुदायिक विद्यालयका आधारभुत तहमा मात्रै लागू हुने छ ।
यस गाउँपालिकामा प्राथमिक विद्यालय ३६, निम्न माध्यमिक विद्यालय ८ र माध्यमिक विद्यालय ८ गरी ५२ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । जिल्लाका अन्य स्थानीय तहहरुले पनि शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । सैद्धान्तिक शिक्षा पद्धतिको अन्यका लागि आधुनिक र व्यवहारीक शिक्षालाई जोड दिएका हुन् ।