कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
372

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र ईन्डियन प्रत्यारोपण समाजको सहआयोजनामा काठमाडांैमा ब्रिजिङ द ग्याप भन्ने नाराका साथ प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गरेका थिए ।
उनले अंग प्रत्यारोपण क्षेत्रमा नेपालले प्रगति गर्दै गइरहेको बताउँदै अन्य देशको तुलनामा नेपालमा अंग प्रत्यारोपण सेवा सस्तो र भरपर्दो समेत देखिएको भन्दै खुशी व्यक्त गरे ।

त्यस्तै पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले अंग प्रत्यारोपण क्षेत्रमा राज्यले गरेको लगानी अनुरुप प्रतिफल समेत सकारात्मक पाइएको बताए । उनले मिर्गौलाको प्रत्यारोपण र उपचारका लागि राज्यले अनुदान दिइरहेको भन्दै नेपालको उपचार एकदमै प्रभावकारी समेत रहेको बताए ।
सम्मेलन आयोजक समितिका संयोजकसमेत रहेका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वमा भएका नविनतम प्रविधि, ज्ञान सीपको आदानप्रदान गर्न सम्मेलन सहयोगी हुने बताए । उनले नेपालमा प्रत्यारोपणको क्षेत्रमा उल्लेख्य कामहरु भएको भन्दै सम्मेलनले अंगदान र प्रत्यारोपण क्षेत्रमा देखिएको दूरी कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रस्तुत कार्यपत्र अनुसार हालसम्म ६ वर्षको अवधिमा ९९ प्रतिशत सफलताका साथ ६०१ जनाको मिर्गौला प्रत्यारोपण र नेपालमै पहिलो पटक ४ जनाको कलेजो प्रत्यारोपण तथा ६ जनाको मस्तिष्क मृत्युबाट आएको मिर्गौला सफलताका साथ प्रत्यारोपण भएको छ ।
कार्यक्रममा इन्डियन प्रत्यारोपण समाजका अध्यक्ष डा. सन्दीप गुलेरिया, वरिष्ठ युरालोजिष्ट प्रा.डा. राकेश बर्मा, मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए । सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३०० बढी विज्ञ तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विज्ञले भाग लिएका थिए ।