कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
468

काभ्रे-काभ्रेको एक गाउँपालिकाले वडाभरका विद्यालयमा नयाँ भवन बनाएको छ । खानीखोला गाउँपालिका– ७ मिल्चेका सबै विद्यलायमा नयाँ भवन बनेको हो ।
२०७२ साल वैशाख १२ को भूकम्पले तहसनहस भएका मिल्चेका ९ वटा विद्यालयमा नयाँ भवन निर्माण भएपछि विद्यार्थी, स्थानीय, शिक्षक खुसी भएका छन् । भूकम्प पश्चात पुनर्निर्माणमा नाङशाल एसोसियसन नेपाल तथा उही वल्र्ड ओनलस्को २ करोड ५० लाख रुपैयाँमा मिल्चेका विद्यालय पुनर्निर्माणमा सहयोग गरेको नाङशाल एसोसियसन नेपालका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

छिमेकी गाउँपालिका महाभारत तथा सोही खानीखोला गाउँपालिका अन्य वडाका अधिकांश विद्यालयको निर्माण सुरु नै नभएको अवस्थामा खानीखोला गाउँपालिका–७ मिल्चेमा रहेका नौ वटै विद्यालयमा पक्की विद्यालय भवन निर्माण सम्पन्न भएको स्थानीयले बताएका छन् । नाङशालले बुद्ध माध्यमिक विद्यालयमा चार कोठा, सरस्वती आधारभूत विद्यालय, रक्त आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय, ज्वालादेवी आधारभूत विद्यालयमा २-२ कोठा तथा जनचेतना आधारभूत विद्यालयमा एक कोठा भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।
खानीखोला–७ का वडाध्यक्ष क्षेत्रमान घ्यावाले खुसी साट्दै भने, “भूगोलले ठगेको, कोही संघसंस्था नआउने, सरकारीस्तरबाट पनि खासै सहयोग नपाइने ठाउँलाई छनोट गरेर विद्यालय भवन बनेपछि साह्रै खुसी भएको बताए । “हावाहुरी, पानी, बतास, घामबाट कसरी विद्यार्थी बचाउने भन्ने चिन्तामा थियौं, तर अब गुणस्तरियता कसरी बढाउने भन्नेमा अगाडि बढ्न पाएका छौं,” वडाध्यक्ष घ्यावाले भने, “हामीलाई दुःख परेको थियो, धेरै संघसंस्थालाई गुहर्यों तर कसैले सहयोग गर्न मानेन, विकट छ, हामी सक्दैनौ भन्ने जवाफ पायौं । तर बाटो र बिजुली नभएको ठाउँमा नाङशालले सहयोग ग-यो ।”
बुद्ध माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत घिसिङले भूकम्पपछि विद्यार्थीलाई बाख्रा कोचे जसरी दुईवटा टीएलसीमा राखेर पढाएको सम्झदै विद्यालय बनेपछि मिल्चेको मुहार नै फेरिएको बताए । “हामीले भवनमात्र पाएका छैनौ, विद्यालयलाई चाहिने फर्निचर, खेलकुद सामग्री पनि पाएका छौं, यसले विद्यालयमा गुणस्तरीय शिक्षा दिन सहजता थपेको छ,” उनले भने । सरस्वती आधारभूत विद्यालयका प्रधानध्यापक रामबाबु घ्यावाले भवन पाए पनि यहाँका विद्यालयमा अझै गुणस्तरीय शिक्षा चुनौती रहेको बताए ।
नाङशाल एसोसियसन नेपालअन्र्तगत सामुदायिक विद्यालयमा बालमैत्री वातावरण तथा शौक्षिक गुणस्तर सुधार परियोजना संयोजक टिआर खतिवडाले नाङशाल एसोसिएसनले ११ वटा विद्यालय निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको बताए । मिल्चेका ६ बाहेक पाँचखालको भुवनेश्वरी आधारभूत विद्यालयका चार कोठा, जनभावना आधारभूत, गणेश मावि, जनउद्धार आधारभूत र धुलिखेलको कालिदेवी आधारभूत विद्यालयको १-१ बाल विकास कक्षा निर्माण गरिदिएको बताए । उनका अनुसार नाङशालले २ कोठे ८ वटा र १ कोठे ५ वटासहित १३ वटा कक्षा कोठा निर्माण गरेको हो ।

कपिल कोइराला