अनुपमा खनाल
मंगलबार, बैशाख ३, २०७६
466

गोरखा-गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले गोरखाको १६ विद्यालयमा कम्प्युटर तथा विज्ञान प्रयोगशाला स्थापनाका लागि अनुदान दिने भएको छ ।
सामाजिक विकास मन्त्रालय मातहतको निर्देशनालयले जिल्लाका १६ विद्यालयलाई एक करोड चार लाख ७५ हजार रुपैयाँ बराबरको अनुदान दिने भएको हो । विद्यालयले पेस गरेको प्रस्तावअनुसार गोरखाको १६ विद्यालय छनोट गरेको निर्देशनालयका निर्देशक डाक्टर बाबुराम ढुंगानाले बताए । “संघ र स्थानीय सरकारको ध्यान नपुगेको ठाउँमा हामीले अनुदान दिएका हौं,” उनले भने, “समयसापेक्ष अध्ययन अध्यापन सहज र सजिलो बनाउन तथा विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि यो कार्यक्रमले सघाउने विश्वास लिएका छौं ।”

गण्डकी गाउँपालिकाको ज्ञानमार्ग माध्यमिक विद्यालय र आरुघाट गाउँपालिकाको भवानी माध्यमिक विद्यालयले प्राविधिक विद्यालयमा ल्याब तथा शैक्षिक उपकरण ब्यवस्थापनका लागि अनुदान शीर्षकबाट रकम प्राप्त गर्नेछन् । ज्ञानमार्गले नौ लाख ७५ हजार रुपैयाँ र भवानीले ६ लाख ५० हजार रुपैयाँ अनुदान पाउने भएका हुन् ।
यस्तै, सामुदायिक विद्यालय तथा बालसुधार गृहका लागि शौचालय निर्माण, कम्प्युटर ल्याब तथा विज्ञान ल्याब स्थापनाका लागि अनुदान शीर्षकमा १४ विद्यालय छनोट भएका छन् । कम्प्युटर ल्याब स्थापनाका लागि छनोट भएका विद्यालयमध्ये सहिद लखन गाउँपालिकाको थानी आधारभूत विद्यालयले चार लाख रुपैयाँ अनुदान पाउनेछन् । विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबका लागि छनोट भएका अन्य विद्यालयले ६ लाख ५० हजार रुपैयाँ अनुदान पाउनेछन् ।
विज्ञान प्रयोगशालाका लागि अनुदान पाउनेमा गण्डकी गाउँपालिकाको सूर्योदय माध्यमिक विद्यालय, बारपाक सुलिकोट गाउँपालिकाको माझथर माध्यमिक विद्यालय र अन्तरज्योति माध्यमिक विद्यालय, गोरखा नगरपालिकाको नवज्योति माध्यमिक विद्यालय, तारा माध्यमिक विद्यालय, पालुङटार नगरपालिकाको मिरकोट माध्यमिक विद्यालय, मदनेडाँडा माध्यमिक विद्यालय र अमरज्योति जनता माध्यमिक विद्यालय छन् ।
यस्तै, कम्प्युटर ल्याबका लागि अनुदान पाउनेमा शहिद लखन गाउँपालिकाको सिद्धस्थानी माध्यमिक विद्यालय, महेन्द्रशक्ति माध्यमिक विद्यालय, जनशक्ति माध्यमिक विद्यालय र पालुङटार नगरपालिकाको अकला माध्यमिक विद्यालय र आरुघाट गाउँपालिकाको भवानी माध्यमिक विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाईमा सोमबार आयोजित कार्यक्रममा छनोट भएका विद्यालय र निर्देशनालयबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार चालू आवभित्रै स्वीकृत कार्यक्रमअनुसार विद्यालयले प्रयोगशाला निर्माण गर्नुपर्नेछ । विद्यालयले प्रयोगशाला निर्माण गरेपछि स्थानीय तहको सिफारिसका आधारमा रकम निकासा गर्ने निर्देशक ढुंगानाले जानकारी दिए ।

दूरसञ्चारले पनि सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले गोरखाका आठ सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको छ । प्राधिकरणको वार्षिक कार्ययोजना अनुसार गोरखाका ८ सहित देशभरका सात सय ९२ सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने भएको हो । पुस १ गते प्रकाशन गरिएको सूचनाबमोजिम सामुदायिक विद्यालयबाट प्राप्त प्रस्तावमध्येबाट सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७५ अनुरुप गत बिहीबार विद्यालय छनोट गरिएको दूरसञ्चार प्राधिकरणका सुनिल खतिवडाले जानकारी दिए ।
गोरखाको भीमसेन थापा गाउँपालिकाको नवजागृती मावि र दुल्लभ मावि, गोरखा नगरपालिकाको विन्ध्यवासिनी र सरस्वती मावि, गण्डकी गाउँपालिकाको भद्रकाली मावि, बारपाक सुलिकोट गाउँपालिकाको हिमालय मावि, सिरानचोक गाउँपालिकाको मण्डली मावि र अजिरकोट गाउँपालिकाको हिमालय उच्च मावि सूचना प्रविधि प्रयोगशालाका लागि छनोट भएको प्राधिकरणले जनाएको छ । छनोट भएका विद्यालयमा सुविधासम्पन्न सूचना प्रविधि प्रयोगशाला बनाउने उनले बताए । “हामीले सूचना र प्रविधिको पहुँच बढाउने उद्देश्यले यो कार्यक्रम गर्दैछौं,” उनले भने, “प्रत्येक ल्याबमा आवश्यकता अनुसार कम्प्युटर, फ्याक्स मेसिन, इन्टरनेटलगायतका सेवासुविधा दिन्छौं ।”
छनोट भएका विद्यालयले १५ दिनभित्र प्राधिकरणमा सिधै, ईमेल, फ्याक्स वा व्यवस्थापन समितिको अध्यक्ष तथा प्रधानाध्यापकको मोबाइलबाट एसएमस गरी सम्पर्क गर्नुपर्ने प्राधिकरणले जनाएको छ । तोकिएको समयभित्र सम्पर्क नगर्ने विद्यालयलाई छनोट सूचीबाट हटाइने प्राधिकरणले स्पस्ट पारेको छ ।