कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
402

छटौं युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन काठमाडौंमा बिहीबार सम्पन्न भएको छ । युनिग्लोब कलेजले हरेक वर्ष आयोजना गर्दै आएको सम्मेलन बिहीबार सकिएको हो ।
दुई दिने सम्मेलनमा अमेरिका, चीन, भारत, थाइल्याण्ड, ईटालीलगायतका दशभन्दा धेरै देशबाट ५० जना विदेशी विज्ञहरु तथा झण्डै ९ सय प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको आयोजकले जनाएको छ । कलेजका प्रबन्ध निर्देशक नर बहादुर बिष्टले सम्मेलनमा करिब ५० जना विज्ञहरुले १ सय ५० वटा अर्थशास्त्र, व्यापार, व्यवस्थापन लगायतका विषयका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेको बताए ।
उनले खोजमूलक कार्यपत्रबाट आएका सुझावलाई समावेश गरी किताब प्रकाशन गर्ने पनि बताए । सन् २००९ मा स्थापना भएको कलेजमा ब्याचलर अफ बिजनेश एडमिनिष्ट्रेशन (बीबीए), ब्याचलर अफ बिजनेश एड्मिनिष्ट्रेशन–बैङ्किङ र बीमा (बीबीए–बीआई) र माष्टर्स अफ बिजनेश एडमिनिष्ट्रेशन (एमबीए)को अध्यापन हुँदै आएको छ ।