कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
417

पद्मकन्या बहुमुखी क्याम्पस बागबजारका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका देशभरिका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो माग राखेका हुन् ।
त्यस्तै, उनीहरुले पद्मकन्या बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुखमा महिला प्राध्यापकलाई नियुक्त गर्न पनि माग गरेका छन् । क्याम्पसकी गृह विज्ञान केन्द्रीय बिभागकी प्रमुख प्रा. डा. मनसा थापा ठकुराठीले महिला क्याम्पसमा महिलालाई नै प्रमुखमा नियुक्ति गर्न सरकारसँग माग गरिन् ।

नेपालको संविधान–२०७२ ले दिएको अधिकारलाई कार्यान्वयन गर्दै महिलालाई दिइएको ३३ प्रतिशतको नियम किन त्रिभुवन विश्वविद्यालयलमा कार्यान्वयन हुन सकेन ? भन्दै उनले प्रश्न गरिन् ।
स्थापनाकालदेखि नै गर्विलो इतिहास बोकेको क्यापसमा अहिले आएर योग्य महिलालाई विभेद गरेर पुरुषलाईमात्र योग्य बनाउन खोजिएको उनको आरोप छ । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएपनि त्रिवि अन्तर्गतका ६१ वटा आंगिक क्याम्पसहरु (४ वटा नर्सिङ क्याम्पस र सहशिक्षा भएको रत्नराज्य क्याम्पसबाहेक) कुनै क्याम्पसमा पनि महिला क्याम्पस प्रमुखहरु नभएको उनले जानकारी गराइन् ।
आफ्ना मागहरुबारे सरोकारवाला पक्ष सकारात्मक नभए तत्काल आमरण अनसनमा जान बाध्य हुने पनि उनले चेतावनी दिइन् । ठकुराठीले महिला प्राध्यापकहरुलाई समान सहभागितामा जोड दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराइन् ।
पद्मकन्या क्याम्पसबाट दुई जना पुरुष र एक जना महिलामात्र सिफारिसमा परेको बताउँदै उनले वरियताको पहिलो नम्बरमा रहेकी महिलालाई पाउनुपर्ने अधिकारबाट बञ्चित पार्न खोजिएको आरोप लगाइन् ।