गोपाल संग्रौला
आइतवार, माघ ६, २०७५
748

जनकपुर - धनुषा क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा दरबन्दी अनुसार शिक्षक नहुँदा पठनपाठनमा असजिलो भएको विद्यालयले गुनासो गरेका छन् । विद्यार्थी र कक्षा अनुपातमा शिक्षक नहुँदा कतिपय विद्यालयले बालविकास सहजकर्ताको सहयोगमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता आएको जनाएका छन् ।
प्राथामिक तहसम्म सञ्चालन भएका अधिकांश विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएको पाइएको छ । कतै विद्यार्थीको संख्या अनुसार शिक्षक कम छन् भने कतै कक्षाअनुसार शिक्षक अपुग छन् । कतिपय विद्यालयले शिक्षक अभावका कारण बालबिकासका शिक्षक माथिल्लो तहमा राख्नुपर्ने बाध्यता रहेको जनाएका छन् ।

राष्ट्रिय प्राथमिक विद्यालय हाँसपट्टी धनुषाका प्रधानाध्यापक अशोक कुमार शाहले विद्यार्थीको अनुपातमा शिक्षकको संख्या ठिक भएपनि कक्षाको हिसाबले शिक्षक कम रहेको बताए । “हाम्रो विद्यालयमा २०४ जना विद्यार्थी रहेका छन् । बालविकासमा १ शिक्षकसहित दरबन्दीवाला ५ जना शिक्षक रहेका छन्,” उनले भने, “बालविकाससहित ६ वटा कक्षा रहेको भएपनि एक जना शिक्षक भए हाम्रो विद्यालयको शैक्षिक गुणस्तर अझ बढ्ने थियो ।”
सो विद्यालयमा केही छुट्टी बस्नुपर्ने अवस्थामा शिक्षक अभाव हुने गरेको छ । विद्यालयमा शिक्षक बिदा भएको बेला ४ र ५ कक्षा एकै स्थानमा राखेर अध्ययन गराउनुपर्ने बाध्यता रहेको छ । सो विद्यालयले यसअघि शिक्षक नभएको अवस्थामा बालविकासका शिक्षकलाई माथिल्लो कक्षाका विद्यार्थीका लागि खेलकुद तथा अतिरिक्त कियाकलाप गराउने गरिएको थियो ।
धनुषाका अधिकांश विद्यालयले बालविकास सहजकर्ताको सहयोगमा माथिल्लो कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेपनि सो कुरा लुकाउने गरेका छन् । सोनामई आधारभूत विद्यालयका प्रधानाध्यापक शोभा घिमिरे न्यौपानेले विद्यालयमा भर्खर ६ कक्षा सञ्चालन शुरु गरेका कारण शिक्षक नभएको बताइन् । “यो वर्षदेखि कक्षा ६ को पनि पढाइ सुरु भयो तर दरबन्दी अनुसार शिक्षक पाएको छैन,” उनले भनिन्, “अहिले हाम्रो स्कुलमा सरकारले दरबन्दी पठाएको छैन ।”
सो विद्यालयले शिक्षक अभाव हुँदासम्म पनि बालविकास सहजकर्तालाई माथिल्लो कक्षा चलाउन नदिएको जनाएको छ । सो विद्यालयमा माथिल्लो कक्षा थप गरेसँगै अब शिक्षक कम हुने देखिएको छ । सो विद्यालय कक्षा ५ सम्म भएपनि शिक्षक दरबन्दी ४ जनाको मात्र रहेको छ । शिक्षक अभाव खेपिरहेका विद्यालयले बेलाबेलामा शिक्षक तालिमको व्यवस्था गरेर क्षमता बढाउन अनुरोध गरेका छन् ।