कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
800

केपी ओली नेतृत्वको सरकारमाथि सत्तारुढ दल भित्रबाटै उत्पन्न चुनौतीका कारण लगानीकर्ता उत्साहित हुनु आश्चर्यजनक छ ।

लकडाउनको मोडालिटी परिवर्तन पछि पनि निकै ढिलोगरी खुलेको सेयर बजारले आम लगानीकर्ता र विश्लेषकलाई नै चकित पारिरहेको छ । पहिलो दिन न्यून अंकले घटेको सेयर बजार दोस्रो र तेस्रो दिन सर्किट ब्रेकर नै लगाउनुपर्ने गरी उकालो लागेसँगै यस क्षेत्रका काबिल विश्लेषकहरू पनि हैरान छन् । सेयर बजारमा सुधारको कारण के हो भन्ने नियामकदेखि विश्लेषकसम्मका आफ्नै दावी रहे पनि आम लगानीकर्ताको मनोविज्ञान राजनीतिक संकटतर्फ पनि केन्द्रित देखिन्छ । केपी ओली नेतृत्वको सरकारमाथि सत्तारुढ दल भित्रबाटै उत्पन्न चुनौतीका कारण लगानीकर्ता उत्साहित हुनु आश्चर्यजनक छ ।
त्यसो त लकडाउनका कारण लामो समय बन्द भएको सेयर बजार बीचको अवधिमा दुई दिन खुल्दा पहिरो जाने अवस्था आएसँगै पुनः कारोबार बन्द गरियो । सोमबारबाट बजार खुल्नुअघि धेरैको एउटै प्रक्षेपण थियो कि अब सेयर बजार परिसूचक नेप्से निकै तल झर्छ । कतिपयले १ हजारको हाराहारीमा नेप्से झर्ने र त्यो बेला सेयर खरिद गर्ने योजना समेत बनाएको पाइन्छ । तर, सबैको आकलनविपरीत बजार खुलेको पहिलो दिन सुरुमा नेगेटिभ सर्किट लागे पनि त्यसयताको बजार हेरेर सबैजनाले बजारको भविष्य बताउनसक्ने अवस्था छैन ।

संसारभर सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा हेरिन्छ । नेपालमा भने सधैँजसो यो बहसको विषय छ कि सेयर बजार वित्तीय क्षेत्रको ऐनमात्र हो र समग्र आर्थिक क्षेत्रको प्रतिविम्ब यसमा देखिएको छैन । लकडाउनपछिको सेयर बजारको लयले पनि त्यही संकेत गरेको छ । कोभिड १९ नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अर्थतन्त्रमा मन्दीको अवस्था आएको छ । अधिकांश साना ठूला व्यवसायी यतिबेला बैंकको ब्याजदेखि कर्मचारी तथा मजदुरको तलब र घरभाडा तथा सरकारलाई करसमेत बुझाउन नसक्ने अवस्थामा छन् । वित्तीय क्षेत्रमा पनि यसको प्रभाव देखिएकै छ । बैंकमा निक्षेप थुप्रिए पनि कर्जाको माग छैन । यतिबेला नेपालको मात्रै नभएर विश्व अर्थतन्त्रमै मन्दी आएको अवस्था छ । यस्तो अवस्थामा खुलेको सेयर बजारमा भने लगातार दुई दिन पोजेटिभ सर्किट लागेर बन्द हुँदा विभिन्न टिप्पणी हुनु स्वाभाविक नै हो । यसको नियामक धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्सेले नीतिगत सुधारका कारण बजार पारदर्शी भएकाले सुधार देखिएको दाबी गरिरहे पनि त्यसमा विश्वास गर्न सकिने अवस्था छैन । किनकि नेपालमा सरकारको नीतिगत कारणले बजारमा सुधार भएका धेरै कम उदाहरण छन् ।
सरकार परिवर्तनको हल्लाले हौसिएका लगानीकर्ताको मनोबल अब कति दिन टिक्ने हो भन्ने निश्चित छैन । नेकपाको किचलोले प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउँछ कि पावर सेयररिङका माध्यमले यसको व्यवस्थापन गरिन्छ भन्नेमा धेरैको चासो पनि छ । ओली सरकारमै रहिरहे भने बहालवाला अर्थमन्त्री डा. युवराज खतिवडा रहे पनि वा नरहे पनि नीतिगत रूपमा तात्विक अन्तर हुनेछैन । अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्र र पुँजी बजारलाई हेर्ने परम्परागत सरकारी चश्मा नफेरेसम्म यो क्षेत्र माथि उठ्नै सक्दैन । सरकारमा को आयो र गयो भन्दा पनि यस क्षेत्रलाई फराकिलो बनाउँदै सरल र पारदर्शी रूपमा अगाडि बढाउन सकिए सेयर बजारले गति लिन सक्छ ।
नत्र अहिलेको वृद्धि क्षणिकमात्र हुनेछ । जुन बिहीबारको बजारले पनि संकेत गरिसकेको छ । साताको दोस्रो र तेस्रो दिन सर्किट ब्रेकर नै लगाउनुपर्ने गरी उकालो लागेको बजार राजनीतिमा संकट आउने देखेपछि साताको आन्तिम कारोबारको दिन फेरि सर्किट ब्रेकर नै लगाउनुपर्ने गरी ओरालो लागेको छ । राजनीतिक घटनाक्रमको असर तथा लगानीकर्ताको मनोबल दुबैसंग बजारको कारोबार जोडिने हुँदा आगामी सातको बजारको गति हेरेरमात्र बजारले स्थयित्व लिन्छ कि ओराले यात्रा कायम राख्छ भन्न सकिने हुन्छ । तर, जे भएपनि बजारको चरित्र नै उकालो ओराले लागीरहने भएकोले बजार बन्द गर्ने खेलकुद चाहिँ हुनुहुन्न नत्र लगानीकर्तामाथि ठूलो धोका हुन्छ ।