कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
523

विश्वमा कोरोना भाइरस भयावह रूपमा देखा परेको दुई महिनापछि मात्र संक्रमण नियन्त्रणका लागि केही तयारी सुरु गरेको नेपालमा हालसम्म तीनजनामा यस्तो संक्रमण देखिइसकेको छ । बुधबार तेस्रो व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमाथि नियन्त्रणको चुनौती थपिएको छ । विश्वभर झन्डै १९ हजारको ज्यान गइसकेको कोरोना नियन्त्रण नेपालजस्ता कमजोर तयारी र पूर्वाधारमा समेत सीमितता भएका मुलुकका लागि निश्चय पनि कठिन छ । हुन त सरकारले ढिलै भए पनि लकडाउनको नीति लिएर यसलाई फैलिन नदिन कदम चालेको छ तर यतिले मात्र पुग्ने अवस्था भने छैन ।
विश्व स्वास्थ्य संगठनले कोरोना नियन्त्रणका लागि सधैँजसो भन्दै आएको छ, ‘आइसोलेसन, आइसोलेसन र आइसोलेन’ अर्थात संक्रमित र शंकास्पद बिरामीलाई एक्ल्याउनु नै नियन्त्रणको पहिलो उपलब्धि हो । तर, नेपालमा भने यसमा समस्या देखिएको छ । आइसोलेसनका लागि सम्भावित संक्रमितको पहिचानमै चुनौती छ । नेपालमा परीक्षणको संख्या अहिलेसम्म १ हजार पुग्न सकेको छैन भने यसअघि पहिचान भएकासँग सँगै जहाजमा यात्रा गरेका तथा अन्य नजिकका व्यक्तिहरूको समेत पहिचान र परीक्षण हुन सकेको देखिँदैन । यसै पनि परीक्षणका लागि पर्याप्त उपकरण र किटहरू नेपालमा उपलब्ध छैनन् र सरकारले मंगलबारमात्र निजी क्षेत्रमार्फत आयात गर्ने निर्णय गरेको छ । यसबाट परीक्षण तथा चिकित्सा क्षेत्रलाई सुरक्षित राख्ने अन्य उपकरणहरूको अभाव भइरहेको अवस्थालाई सम्बोधन गर्ने अपेक्षा गर्न सकिन्छ ।

लकडाउनका बेला जसरी नागरिकलाई घरभित्रै बस्न भनिएको छ र अधिकांशले यो आग्रहलाई स्वीकार पनि गरेका छन् भने सरकार त्यसभन्दा पनि निकै सक्रिय रहनुपर्ने अवस्था छ । यो बेला भनेको अधिकतम परीक्षण गर्नुपर्ने बेला पनि हो । कोभिड–१९ को परीक्षण एउटामात्रै प्रयोगशालामा सीमित रहेको बेला बल्ल मंगलबारको उच्चस्तरीय समन्वय समिति बैठकले धरान, पोखरा र नेपालगन्जमा परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयन हुन अझै कति दिन पर्खनुपर्ने हो भने त्यतिले मात्र पुग्ने अवस्था पनि छैन । कोभिड–१९ को सन्त्रास बढेसँगै हवाई र स्थल नाकाबाट स्वदेश भित्रिएका लाखौं नेपाली तथा विदेशी नागरिकको परीक्षण सम्पन्न नभएसम्म ढुक्क हुने अवस्था छैन । यसैले सरकारले परीक्षणको संख्यात्मक वृद्धि तथा चाँडोभन्दा चाँडो परिणाम निकाल्नुपर्ने अवस्था छ ।
नेपालबाहिर रहेका दुई नेपालीको कोरोनाबाट ज्यान गइसक्दा पनि नेपाल अहिलेसम्म मानवीय क्षतिविहीनताको अवस्थामा रहनुलाई सकारात्मक रूपमा लिइनुपर्छ । तर, यो सकारात्मक अवस्थालाई कायम राखिरहन भने निकै चुनौती पनि छ र यसमा सरकारको प्रभावकारी तथा तीव्र गतिको निर्णयको आवश्यक छ । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले बुधबार प्रधानमन्त्री केपी ओलीलाई लेखेको पत्रमा केही गम्भीर सुझावहरू पनि दिइएका छन् । मुलुकको स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझेका तथा यस क्षेत्रको सीमितताका विषयमा समेत जानकार रहेकाले उनको सुझाव सरकारका लागि कामयावी हुनेछ । यस्तो बेला परीक्षण तथा आइसोलेसनमै उनको पनि जोड देखिन्छ भने सरकारले पनि अहिलेको सम्पूर्ण ध्यान यसमै केन्द्रित गर्नु उचित हुन्छ ।