कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
784

 
सडकमा सुरक्षाकर्मीको आँखा छलेर कुनै बहादुरी देखाइएको नभइ आफ्नो र परिवारको स्वास्थ्यमाथिको खेलवाड गरिरहेको छु भन्ने प्रत्येक नागरिकले बुझ्नु जरुरी छ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन मंगलबारदेखि ८ दिनलाई अत्यावश्यकीय कामबाहेक हिँडडुल गर्न नपाउने अर्थात चलनचल्तीको भाषामा मुलुकलाई लकडाउन गरेको छ । सबै सीमा नाका यसअघि नै बन्द गरिसकेको सरकारले आन्तरिक गतिविधिसमेत रोकेको छ । मुलुकमा संक्रमणको सन्त्रास बढिरहेको तथा विश्व स्वास्थ्य संगठनले समेत उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखिरहेका बेला वाह्य उडान र सीमा नाका खुला राखेर आत्मघाती कदम चालिरहेको सरकारले कोरोना संक्रमणको नयाँ बिरामी फेला परेसँगै यस्तो कठोर निर्णय लिएको देखिन्छ । निश्चय पनि आफ्ना नागरिकलाई घरभित्रै बस्न बाध्य बनाउने तथा आर्थिक, सामाजिक गतिविधि ठप्प पार्ने राज्यको कुनै चाहना नभइ बाध्यता नै हो भने यसलाई इमानदारितापूर्वक पालना गर्नु सबै नागरिकको दायित्व हो ।
कोरोनाको अन्तर्राष्ट्रिय अवस्था नजिकबाट नियालिरहेका विज्ञ तथा जानकारहरूले दुई साताअघि नै लकडाउन गर्न सरकारलाई सुझाव दिइसकेका थिए । तर, सरकारको अलमल तथा प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणमा ध्यान केन्द्रित हुँदा यससम्बन्धी प्रभावकारी कदम चाल्नबाट चुकेकै हो । यद्यपि, ढिलै भए पनि सरकारले उचित कदम चालेको छ र मानवीय क्षति नदेखिएको अहिलेको अवस्थामा यो संक्रमण फैलिन नदिन जस्तोसुकै कठोर कदम चाल्न पनि सरकार तयार रहनुपर्छ र यसका लागि जनताले निशर्त साथ र सहयोग गर्नुपर्छ । नागरिकलाई आधारभूत आवश्यकताका वस्तुहरू उपलब्ध गराउने जिम्मेवारी सरकारको हो र यसका लागि तयार रहेका निजी क्षेत्रलाई सरकारले सहजीकरण गर्नुपर्छ । तर, यी सबै गतिविधिको पूर्वशर्त भने हरेक सेवा प्रवाहको गुणस्तर तथा सुरक्षा मापदण्ड भने विश्व स्वास्थ्य संगठनले निर्धारण गरेअनुसार हुनुपर्छ र यसमा कुनै सम्झौता गरिनु हुँदैन ।

लकडाउन भनेको कफ्र्यु होइन र यो नागरिक अधिकारको विरुद्ध हो भन्दै विद्रोहस्वरूप सडकमा आउनुपर्ने अवस्थासमेत होइन । त्यसैले आम नागरिकले यो लकडाउन आफ्नै सुरक्षाका लागि हो भन्ने बुझ्न सक्नुपर्छ । सडकमा सुरक्षाकर्मीको आँखा छलेर कुनै बहादुरी देखाइएको नभइ आफ्नो र परिवारको स्वास्थ्यमाथिको खेलवाड गरिरहेको छु भन्ने प्रत्येक नागरिकले बुझ्नु जरुरी छ । मंगलबार पहिलो दिन नै जनताले लकडाउनको बेवास्ता गरेर स्थिति झन् जटिल बनाएको देखिएको छ । देशैभर आम जनताले यसलाई जति गम्भीरतापूर्वक पालना गर्नुपर्ने गरेको देखिएको छैन । भाइरसको संक्रमण सानो त्रुटि वा लापरबाहीबाटै व्यापक रूपमा फैलनसक्ने हुनाले प्रत्येक नागरिकले लकडाउनको पूर्ण पालना गर्नुपर्छ ।
त्यसो त विश्व स्वास्थ्य संगठनले लकडाउनले मात्र कोरोना नियन्त्रण हुननसक्ने भन्दै थप कठोर कदम चाल्न संसारलाई आग्रह गरिसकेको अवस्था छ । विश्वव्यापी महामारीको यो अवस्थालाई नेपाल र नेपालीले पनि गम्भीरतापूर्वक लिनैपर्छ । चीनलगायत इटाली, इरान, स्पेन, अमेरिका, भारतलगायतका देशहरूको अनुभवबाट नै नेपालमा लकडाउनले यो भाइरसको संक्रमण रोक्न सकिने अवस्था देखिएको हो र नेपाली जनताले यसैगरी उपेक्षा गर्दै ग एभने योभन्दा कठोर कदम चाल्न पनि सरकार पछि पर्नु हुँदैन । आम नागरिकको स्वास्थ्य रक्षाका लागि सरकार कठोर बन्नैपर्छ र यसलाई हेलचेक्र्यांइ गर्नेमाथि पनि उत्तिकै कठोर बन्नु आवश्यक छ ।