कारोबार संवाददाता
मंगलबार, चैत्र ११, २०७६
648

 
एकभन्दा बढीले प्रयोग गर्ने कम्प्युटर, बाथरुमको ढोका, नोट, घरको भ-याङ, रेलिङजस्ता वस्तुको प्रयोगबाट पनि यो भाइरस सर्ने भएकाले घरमै बस्नु उचित हुन्छ । निस्कनै परे मास्क, सेनिटाइजरजस्ता सुरक्षाका वस्तुहरूको प्रयोग अनिवार्य छ ।

अन्ततः स्वास्थ्यमन्त्री र अन्य सरकारी अधिकारीहरूले दावी गरेजस्तै नेपाल कोरोनामुक्त देश रहेन । यसअघि कोरोना संक्रमित व्यक्ति भेटिए पनि उपचारपछि घर फर्केकाले उनको पहिचान गोप्य नै राखेर सरकारले मुलुकलाई कोरोनामुक्त मुलुकको दावी गर्दै आएको थियो । यतिसम्म कि चीनमा भयावह स्थिति हुँदै गर्दा नेपालका एक मन्त्री भने नेपाल कोरोनामुक्त देश भन्दै विश्व पर्यटन बजारमा ब्रान्डिङ गर्ने र भ्रमण वर्ष सफल बनाउने तर्क गर्दै आएका थिए । तर, सोमबार सरकारले नै संक्रमित नयाँ व्यक्ति फेला पारेको जानकारी दियो । फ्रान्सबाट कतार हुँदै स्वदेश फर्केकी १९ वर्षीय युवतीबाट पछिल्लो ६ दिनमा कसैलाई कोरोना भाइरस स-यो कि सरेन भन्ने चिन्ता सर्वत्र छ । पहिलो संक्रमितजस्तै उनी पनि पूर्ण स्वस्थ होउन् भन्ने कामना गरौं र सँगसँगै उनले यस अवधिमा भेटेका व्यक्तिहरू र उनीहरूले पनि अन्यलाई सार्न सक्ने जोखिमलाई भने कम नआँकौं । यसैले सम्भावित व्यक्तिहरूको आइसोलेसन र परीक्षणमा तिब्रता जरुरी छ ।
हुन त संक्रमित व्यक्ति भेटिएको यो दोस्रो पटक हो । यसअघि चीनबाट फर्केका एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिएर पनि उनी निको भइसकेका छन् । यसैले कोरोना निको नै हुँदैन भन्ने त्रासमा मानसिक रूपमा अन्य रोग निम्त्याउनु घातक हुनसक्छ । तर, कोरोनाको संक्रमणबाट जोगिन र अरुलाई पनि जोगाउन अब भने गम्भीरतापूर्वक लाग्नैपर्छ । अति आवश्यकीय काम नपरेसम्म घरबाट बाहिर नै निस्कनु हुँदैन र सरकारले अब केही दिनलाई भए पनि मुलुकलाई पूर्ण लकडाउनमा राख्नुपर्छ । छिमेकी भारततर्फका सबै नाका बन्द गरिसकेको सरकारले अब भाइरस फैलिन नदिन केही दिन सबै कुरमा सम्झौता गरेर भए पनि लकडाउन नै गर्नुपर्छ । नागरिकले पनि यो बेला आफ्नो, परिवारको र समाजको स्वास्थ्यका लागि सरकारको साथ दिनैपर्छ ।

हुन त सरकारले अहिले पनि सेमी लकडाउन गरेको छ । अत्यावश्यकीयवाहेक अन्य कार्यालयहरू खुल्न दिएको छैन । तर, सडकको अवस्था हेर्ने हो भने सार्वजनिक सवारीमा अझै पनि चाप छ । सहरबाट लाखौंको संख्यामा नागरिक गाउँ गएका छन् र त्यहाँ झन् जोखिम बढेको छ । यसरी सरकार आफैं के गर्ने के नगर्ने भन्ने अन्योलमा हुँदा नेपाली नागरिकका गतिविधिले झनै जोखिम बढाइरहेको छ । यसैले छिमेकी भारतमा लगाइएको जनता कफ्र्युजस्तै नेपालमा पनि केही दिनको लागि एक परिवारको अर्को परिवारसँग प्रत्यक्ष भेटघाट नै नहुनेगरी यस्तै कार्यक्रम ल्याइनु आवश्यक छ ।
सूचना प्रविधिको अहिलेको युगमा भौतिक भेटघाटले नहुने कुरा वा काम टेलिफोन, भिडियो कल वा कन्फरेन्सलगायतका माध्यमले नै गर्न सकिन्छ । यसैले अत्यावश्यकीय वस्तुको उपलब्धताका लागि संयन्त्र निर्माण गरेर सहज उपलब्ध गराउने तथा विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार सुरक्षात्मक उपाय अपनाएर सेवा परिचालन समूह बनाएर सेवा प्रवाह गर्न सकिन्छ । त्यसो त कोरोना लागिहाल्यो भने पनि मृत्यु हुने होइन तर यसबाट बच्नु भने पर्छ । आवश्यक सावधानी अपनाउन सके बच्न अवश्य पनि सकिन्छ । तर, अहिलेको अवस्थामा एकभन्दा बढीले प्रयोग गर्ने कम्प्युटर, बाथरुमको ढोका, नोट, घरको भ-याङ, रेलिङजस्ता वस्तुको प्रयोगबाट पनि यो भाइरस सर्ने भएकाले घरमै बस्नु उचित हुन्छ । निस्कनै परे मास्क, सेनिटाइजरजस्ता सुरक्षाका वस्तुहरूको प्रयोग अनिवार्य छ ।